नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पुँजीगत खर्चमाथि प्रश्न उठाएका छन् । आइतबार संयुक्त समितिमा बोल्दै उनले पुँजीगत खर्च कहाँ कति प्रतिशत हुनुपर्छ भन्ने कुरा के हो, किन भएन, के कारणले रोकियो, को को हो जबाफदेही ? भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘हामी के भयौँ भने कागजमा विकास गरेछौँ । विकास गरेको किताब पनि बनाउने तर जनताको हृदयमा, फिल्डमा लेखेका कुरा केही नहुने । नेपालको पुँजीगत खर्च कहाँ कति प्रतिशत हुनुपर्छ भन्ने कुरा के हो, किन भएन, के कारणले रोकियो, को को हो जबाफदेही, संसद्, सरकार कति हो, सरकारसँग सम्बन्धित मन्त्रालय कति हो ? विषयवस्तु चाहियो । कुरा लामो सुनियो तर पुँजीगत खर्च भएको छैन । कतिसम्म लैजाने हो कतिसम्म गर्न सकिन्छ, मलाई ठोस जवाफ चाहियो ।’
यसै गरी उनले संविधानमा लेखेको विधिको शासन कसरी कायम गर्ने त्यो स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘संविधानमा लेखेको छ सुशासन भनेर । संविधानको धारा ५१ मा राज्यको नीतिहरू अन्तर्गत ‘ख’ मा राज्यको शासन व्यवस्थामा र विधिको शासन कायम राख्ने भनेको छ । यसले कानुन कार्यान्वयन नै गर्ने भनेको होला । मेरो जिज्ञासा एउटा कानुन छ विवाह, भोज, ब्रतबन्धहरूमा ५१ जना भन्दा बढी हुनुहुँदैन । कोही ५१ जना मात्र भएको ठाउँमा जानुभएको छ ? यसको कार्यान्वयन कसले गर्ने, नसकिने भए चार हजार लेखौँ न ।’
यसै गरी उक्त बैठकमा प्रधानमन्त्री वा मन्त्रीहरू समितिमा उपस्थित नभएको भन्दैसरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठकमा प्रधानमन्त्री वा कुनै पनि मन्त्री सहभागी नभएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
समिति सभापति ठाकुरप्रसाद गैरेले भने, ‘हरेक संसदीय समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास छ । तर, आजको यो समितिको बैठकमा प्रधानमन्त्री तथा सरकारको कुनै पनि मन्त्रीज्यू आउनुभएन । समिति सरकारको ध्यानाकर्षण गराउँदछ ।’
समितिले आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल आयोजना गरेको थियो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली वा सरकारको कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने थियो । प्रायजसो संसदीय समितिमा अनिवार्य प्रधानमन्त्री वा कुनै न कुनै मन्त्री अनिवार्य सहभागी हुनुपर्ने अभ्यास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।