उपभोक्ता समितिबाट काम गराउने गरी पेस गरिएको सङ्कल्प प्रस्ताव मधेस प्रदेश सभाबाट बहुमतले पारित भएको छ । उपभोक्ता समितिबाट काम गराउने गरी चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यको १४७ बुँदा संशोधन गर्न प्रदेशसभामा पेस गरिएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।
सङ्कल्प प्रस्तावको पक्षमा ४३ र विपक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । प्रदेशसभामा १ सय ७ प्रदेशसभा मध्ये ५९ प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन सत्ता पक्षबाट लोसपाकी सांसद रुपाकुमारी यादवले सङ्कल्प प्रस्ताव आइतबार सदनमा पेस गरेकी थिइन् ।
प्रस्तावको समर्थकमा नेकपा एमालेबाट पल्टी देवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका थिए ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । चालु आर्थिक वर्षमा यो बुँदाले जनमत नेतृत्वको मधेस सरकारको कामकाज नै ठप्प भएपछि पछाडि हटेर सत्ता गठबन्धन सङ्कल्प प्रस्ताव सदनमा लगेको थियो ।
प्रस्तावको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले बचाउ र विरोधमा धारणा राखेका थिए । सत्ताको नेतृत्व गरिरहेको जनमत, एमाले, कांग्रेस, लोसपासँगै विपक्षी दल राप्रपाका प्रदेशसभा सदस्यहरूले प्रस्तावको पक्षमा मतदान गरे । प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रस्तावको विपक्षमा मत गरेका थिए ।
गत पुस २९ गते सङ्कल्प प्रस्ताव सदनमा दर्ता भएको थियो । सङ्कल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ । विगतमा हुने योजना खरिदबिक्री रोक्न वर्तमान सतिश सिंह नेतृत्वको सरकारले नै बजेट वक्तव्यमा खुल्ला प्रतिस्पर्धा मार्फत काम गराउने प्रावधान ल्याएका थिए । तर, यस प्रावधानले चालु आर्थिक वर्षको ६ महिनामा मधेस सरकारको काम नै ठप्प भएपछि प्रश्न उठ्ने गरेको छ ।
सुरुमा यो बुँदा कार्यान्वयन गराउन दृढ देखिएको जनमत नेतृत्वको सरकार पछाडि हटेर उपभोक्ता समितिबाट काम गराउन बाटो खोल्ने प्रयास गरेको हो ।गत पुस २६ गते मुख्यमन्त्रीको आवासमा बसेको सत्ता गठबन्धन दलको बैठकले बजेट वक्तव्यको बाधा फुकाउन सदनमा सङ्कल्प प्रस्ताव लग्ने सहमति गरेको थियो।
सङ्कल्प प्रस्ताव विशेष परिस्थितिमा मात्रै ल्याइने भएकाले यो सङ्कल्प प्रस्ताव पारित गराउन मत विभाजन प्रक्रिया अपनाउन जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले माग गरेका थिए । त्यसपछि यो प्रस्ताव पारित गराउन मत विभाजन प्रक्रिया अपनाउनु परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।