logo-img

यू-१९ विश्वकप : पहिलो जितको खोजीमा नेपाल, 'सुपर सिक्स' पुग्न के छ समीकरण ?
दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्ने

दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले दोस्रो म्याचमा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

समूह ‘डी’ अन्तर्गतको यी दुई टिमबीचको खेल सोमबार दिउँसो १२ः१५ देखि मलेसियाको बांगीमा सुरु हुनेछ ।

उत्कृष्ट कमब्याकको पर्खाइमा दुवै टिम

जारी विश्वकपमा नेपाल र स्कटल्याण्ड दुवै पहिलो जितको खोजीमा छन् । स्कटल्याण्डले पहिलो खेलमा उपाधि दाबेदार अस्ट्रेलियाविरुद्ध ९ विकेटको फराकिलो पराजय बेहोर्‍यो । उक्त खेलमा ऊ पहिला ब्याटिङ गर्दै ४८ रनमै अलआउट भयो ।



स्कटल्याण्ड सोमबार नेपाललाई हराउँदै उत्कृष्ट कमब्याक गर्ने लक्ष्यमा छ । यता नेपाल पनि पहिलो खेलको नतिजा बिर्सिँदै सानदार पुनरागमन गर्ने सोचमा छ । पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ५ विकेटको पराजय बेहोरेको थियो ।



उक्त खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भो । त्यस खेलमा नेपाली ब्याटर हतारिएको मानसिकताबाट प्रस्तुत भए । र, बंगलादेशविरुद्ध ५ नेपाली ब्याटर रनआउटको सिकार हुन पुगे ।



डेब्यू विश्वकप भएर पनि होला खेलाडी केही आत्तिएका देखिन्थे । नेपालले अब स्कटल्याण्डविरुद्ध त्यो गल्ती दोहोर्याउनु हुँदैन ।

खेल जित्नेको सुपर सिक्स यात्रा बलियो 

यदि स्कटल्याण्डविरुद्ध जित निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो हुनेछ । 

यदि सोमबार हार बेहोरेमा नेपालको सुपर सिक्स यात्रा निकै कठिन बन्नेछ । त्यसो भएमा नेपालले अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने समीकरण बन्न सक्छ । त्यसकारण नेपाली टिमले स्कटल्याण्डलाई हराउन कुनै कसर बाँकी राख्ने छैन । 

हालसम्म यी दुई टिमले महिला क्रिकेटमा एकअर्काको सामना गरेका छैनन् । सोमबार नेपाल र स्कटल्याण्ड पहिलो भेटमै जित निकालेर इतिहास रच्ने योजनामा पनि हुने छन् ।

जारी विश्वकपमा नेपाली टिममा अलराउन्डर पूजा महतो तथा स्कटल्याण्ड टोलीको टोलीमा नियाम मुइर कप्तान रहेकी छन् ।  

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर–६ मा पुग्नेछन् । सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

दुवै समूहका शीर्ष दुई/दुई टोलीले सेमिफाइनलको यात्रा गर्ने छन् । 

नेपाली टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ । 

  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया