मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार ५ सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन पाँच दशमलव ०४ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार ३ सय ८६ मेट्रिक टन रहेको थियो । मधेश प्रदेशमा भएको कुल माछा उत्पादनमा बारा जिल्लाको हिस्सा सबैभन्दा धेरै अर्थात् २२ दशमलव ४३ प्रतिशत रहेको छ । पर्सामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम सात दशमलव ९९ प्रतिशत रहेको छ ।
पर्साको पकहाँमैनपुर गाउँपालिकामा व्यावसायिक ढङ्गले दीपेन्द्र माछापालन उद्योग सञ्चालन गर्दै आएका दीनानाथ साहले माछा उत्पादनमा वृद्धि भए पनि माछाको उचित बजार मूल्य नपाएको गुनासो गर्छन् ।
‘विगतमा भारतबाटै माछाको आयात धेरै हुने गर्थ्यो । अहिले कम्तीमा पनि यहाँ माछाको उत्पादन बढिरहेको छ,’ उनले भने, ‘माछाको भुरा र माछापालन सम्बन्धित प्राविधिक ज्ञानको अभाव भने खड्किरहेको छ ।’
राष्ट्र बैंकको प्रतिवेदनले माछा उत्पादन मात्रै नभएर यस प्रदेशमा दूधजन्य पदार्थको उत्पादनमा समेत वृद्धि भएको देखाएको छ । आव २०८०/८१ म मधेश प्रदेशमा दूधको उत्पादन एक दशमलव ९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार एक सय २३ लिटर पुगेको छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये दूध उत्पादनको सबैभन्दा ठूलो हिस्सा भने सिरहा जिल्ला रहेको छ । सो जिल्लाको हिस्सा २० दशमलव ४४ प्रतिशत रहेको छ । यस्तै, सप्तरीको हिस्सा सबैभन्दा कम सात दशमलव ८३ प्रतिशत रहेको छ ।
त्यस्तै, मधेश प्रदेशमा मासुको उत्पादन दुई दशमलव ९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६ सय ७० मेट्रिक टन पुगेको छ । मधेश प्रदेशमा अण्डाको उत्पादन पनि बढेको देखिन्छ ।
आव २०७९/८० को तुलनामा मधेश प्रदेशमा अण्डाको उत्पादन पनि दुई दशमलव ७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।