चितवनको भरतपुर महानगरपालिकाको बाइपास रोड क्षेत्रमा एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेका छन् । रातको समयमा युवकमाथि प्रहरीले कुटपिट गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियो भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालिसकेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
सार्वजनिक भिडियोमा प्रहरीले सुरुवातमा मोटरसाइकलको लाइसेन्स चेक गरिरहेका हुन्छन् । त्यहीबेला प्रहरीले सडकपेटी छेउमा सेतो शर्टमा रहेका युवकलाई बुटले पटकपटक हानेको देखिन्छ ।
प्रहरीले ‘कसलाई फोन गर्छस् गर’ भन्दै युवकमाथि बुट प्रहार गरेका छन् ।
प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुने एसपी मिश्रले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।