भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ ।
त्रिदेशीय सडकका रूपमा रहेको करिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । १४ वर्ष अगाडि सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजनाअन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङ खोलादेखि मालढुंगसम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।
उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ, २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उनको भनाइ छ ।
पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का–कृष्ण–बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् ।
उनले भने, ‘बागलुङको दुईवटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।’
कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्याउने उनको भनाइ छ ।
नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुंगा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइदिएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।