नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्त्वपूर्ण दस्ताबेज बन्न सक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानुनहरू बनाए पनि मूल कानुन नबनेको भन्दै आउन लागेको विधेयक महत्त्वपूर्ण बन्ने बताए ।
उनले भने, ‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौँ कानुनहरू बनाए पनि यसको मूल कानुन हामीले अझैसम्म बनाएका छैनौँ । त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नुपर्ने थियो त्यो ठाउँमा अलिकति ग्यापहरू छन् । त्यस कारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्त्वपूर्ण दस्ताबेज बन्न सक्छ ।’
उनले सरकारले ल्याउन लागेको कानुन जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए ।
उनले भने, ‘सरकारले ल्याउने जुन कानुन छ त्यो कानुनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ । विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ । यो अवसरमा काम गरौँ ।’
हाम्रो दैनिक भान्सामा पाक्ने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे पनि छलफल गर्नुपर्ने उनको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।