logo-img

पुनर्निर्माणको प्रतीक्षामा बीपी राजमार्ग, बजेट सुनिश्चित गर्न के गर्दैछ सरकार ?
फेरि पनि जापानकै आशा
पहिरोले भत्किएको बिपी राजमार्गको खण्ड । तस्बिरः रासस

चिल्ला अनि सफा र सुन्दर नागबेली सडक । सुनकोशी र रोशीको सुसाहट, पहाडका गाउँबस्ती, सिजनअनुसारको लहलहाउँदो खेती । यी सबै बीपी राजमार्ग यात्रा गर्ने हरेक यात्रुको मानसपटलमा घुमिरहने दृश्य हुन् । तर, अहिले यो दृश्य फेरिएको छ, एउटा सिनेमाको कहानी जसरी ।

अहिले देखिँदैनन्, ती चिल्ला र नागबेली सडक । धुलोको मुस्लोले पुरिएका छन्, ती सुन्दर गाउँबस्ती र खेत । असोजको दोस्रो साता तीन दिनसम्म भएको वर्षा, पहिरो र बाढीले सबै तहसनहस पार्‍यो । 

बाढीपहिरोका कारण बीपी राजमार्गको चौकीडाँडादेखि नेपाल थोकसम्मको सडक क्षतविक्षत छ । यो खण्डको २८ किलोमिटरमध्ये १२ किलोमिटर पूर्णरूपमा क्षति भएको सडक विभागले जनाएको छ । विभागका अनुसार, अधिकांश सडक जगैदेखि बगेको छ । लामो दूरीसम्म बाटो क्षतिग्रस्त भएपछि अहिले रोशी खोलासँगै अस्थायी डाइभर्सन बनाएर सवारीसाधनलाई गुड्ने व्यवस्था मिलाइएको छ । सवारीसाधन सञ्चालनका लागि अस्थायी व्यवस्था मिलाइए पनि यात्रा निक्कै कष्टकर र जोखिमयुक्त रहेको यात्रुहरूको गुनासो छ ।  

रोशी खोलाले पूरै सडक बगाउँदा रोशीको बगरबाट सवारीसाधन वारपार गराउनुपर्ने बाध्यता छ । यात्रा गर्दा पहिरोको डर त छँदैछ । धुलोको मुस्लोले गर्दा अगाडि गुडिरहेको सवारी समेत राम्रोसँग नदेखिँदा दुर्घटनाको जोखिम उत्तिकै रहेको छ । उपत्यका भित्रिने र बाहिरिने मुख्य सडक नागढुंगा–मुग्लिङ सडक खण्डको विकल्पमा बीपी राजमार्ग प्रयोग हुँदै आएको थियो । पूर्वी नेपाललाई जोड्ने यो सडक छोटो दूरीको भएकाले अधिकांशले यो बाटो प्रयोग गर्दै आएका थिए । पूर्व जान अरू सडक भरपर्दो, विश्वासिलो र सहज नभएका कारण जोखिम मोलेरै अहिले बीपी राजमार्गको यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ । 



यस्तै, सवारी चाप उच्च भएकाले दिनहुँ ट्राफिक जामको समस्या पनि उत्तिकै छ । काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा रहेको विभागले जनाएको छ । 

कति लाग्छ खर्च ?



गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ । बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च लाग्ने प्रारम्भिक अध्ययनले देखाएको बताउँछन्, भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेश । उनका अनुसार उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको छ । 

उक्त सडकमा आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल गरी तीन किसिमका पर्खाल लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । यसका साथै निकै ठूलो संख्यामा ३० देखि ४० मिटरको पुल पनि निर्माण गर्नु पर्नेछ । अहिलेसम्म गरिएको अध्ययनले ९ अर्ब ६६ करोड लागत देखिएको सडक डिभिजन कार्यालयका प्रमुख सुमन बताउँछन् ।  



पहिले जापानी कम्पनीले भित्तो नकाटी पर्खाल उठाएर सडक   बनाएको थियो । अब सोझै पर्खाल लगाएर पुनर्निर्माण गरिहाल्ने योजनामा नरहेको उनको भनाइ छ । ‘पहिलाभन्दा केही फरक ढंगले सडक पुनर्निर्माण हुन्छ । कसरी बनाउँदा दिगो र सुरक्षित हुन्छ भन्नेबारे अध्ययन भएर खाका तयार भएको छ । बजेट सुनिश्चित हुने बित्तिकै दिगो र सुरक्षित सडक पुनर्निर्माण गर्न सुरु गर्छौँ,’ सडक डिभिजन कार्यालयका प्रमुख सुमनले भने ।

बजेट होला त सुनिश्चित ?

अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणको काम कहिलेदेखि सुरु हुने भन्ने अझैँ सुनिश्चित भएको छैन । भर्खरै मात्र डकुमेन्टको काम सकिएकाले पुनर्निर्माणको काम कहिलेदेखि सुरु हुने भन्ने अझै सुनिश्चित नभएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा बताउँछन् । ‘डकुमेन्टको काममा नै धेरै समय लाग्यो । भर्खरै मात्र डकुमेन्टको काम पूरा भएको छ,’ उनी भन्छन् । 

शर्माका अनुसार बजेटको जोहो नहुँदा पुनर्निर्माणमा ढिलाई भएको हो ।  बजेट व्यवस्थापन भएपछि दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का गर्ने योजना रहेको विभागका सूचना अधिकारी शर्मा बताउँछन् । अहिले विभाग बजेट जुटाउन व्यस्त छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गरिएको उनी बताउँछन् । साथै विभागले मन्त्रालयमार्फत ९ अर्ब ६६ करोड रुपैयाँको खाका बनाएर अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । यसमध्ये करिब २ अर्बको हाराहारीमा तत्काल बजेट उपलब्ध हुने विभागले आश राखेको छ । बजेट सुनिश्चित भएपछि काम सुरु गरिने सूचना अधिकारी शर्माको भनाइ छ । 
 
तत्काल बीपी राजमार्ग नबन्ने भएपछि वर्षायामका लागि चिन्ता सुरु भएको छ । अहिले अस्थायीरूपमा खोला तर्काएर जसोतसो सडक सञ्चालनमा ल्याइएको छ । त्योबेला अहिले बनाइएका अस्थायी संरचनाले काम गर्ने छैन  । यसपटकको वर्षा सिजनमा बीपी राजमार्ग पूर्णरुपमा ठप्प भए, त्यसको सम्पूर्ण भार नागढुंगा–मुग्लिन सडकखण्डमा थपिँदै छ । यो रुटमा दुर्घटनाको जोखिम थप बढ्ने देखिन्छ ।

नागढुंगा–मुग्लिङ सडकखण्ड पनि आफैंमा सुरक्षित छैनन् । यो रुटमा झ्याप्ले खोला, कृष्णभीर हुँदै नारायणघाटसम्मको करिब १३६ किलोमिटर सडक निकै क्षतिग्रस्त र दुर्घटना भइरहने जोखिमयुक्त क्षेत्र मानिन्छ । वर्षायाममा बीपी राजमार्गसमेत सञ्चालन नहुँदा नागढुंगा–मुग्लिङ सडक खण्डमा झन् जोखिम बढ्ने देखिन्छ । त्यसैले बर्खायाम सुरु हुनेबेला भएकाले तत्कालीन र दीर्घकालीन योजना भने बनिसकेको सूचना अधिकारी शर्मा  बताउँछन् । 

‘बजेट अभावका कारण तत्काल सडक बन्ने सम्भावना देखिँदैन,’ उनी भन्छन्, ‘यो बर्खाकै लागि आउजाउ नरोकिने गरी सडक सञ्चालनको लागि एउटा खाका तयार भएको छ । आवश्यक अस्थायी संरचनाको काम यो वर्षको प्राथमिकतामा छ । बजेट सुनिश्चित नभए पनि वर्षामा सडक सञ्चालनका लागि चाँडै काम सुरु हुन्छ ।’

दीर्घकालीन योजनाका लागि भने बजेटको स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अगाडि बढ्ने विभागका सूचना अधिकारी शर्माको भनाइ छ । अब ठेक्का खोल्दा पनि वर्षा याम सुरु हुन्छ । वैशाखपछि पानी पर्न सुरु हुने भएकाले निर्माणमा समस्या हुने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख योगेश बताउँछन् । ‘बजेटको व्यवस्था नभई काम सुरु गर्ने कुरा भएन,’ उनी भन्छन्, ‘सरकारले जति छिटो बजेट व्यवस्थापन गर्छ,  त्यति नै चाँडो निर्माण कार्य अघि बढ्छ ।’ स्थायी संरचनाको काम पूरा हुनका लागि दुईदेखि तीन वर्षसम्म लाग्ने उनको भनाइ छ । तर पूर्ण रूपमा सडक निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ । यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबर्जस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।

यो राजमार्ग तत्कालै निर्माण गर्न नीतिगतरूपमा पनि समस्या रहेको उनको भनाइ छ । एक वर्षमै नसक्ने भएकाले विभागले यो सडकलाई बहुबर्षीय ठेक्का प्रणालीअन्तर्गत राखेर निर्माण गर्नुपर्ने हुन्छ । तर, बहुवर्षीय ठेक्का प्रणालीमा जान उक्त सडकको वातावरण प्रभाव मूल्यांकन (ईआईए) अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । ईआईएसम्बन्धी सबै प्रक्रिया पूरा गर्न अझै धेरै महिना कुर्नुपर्छ ।

पुनर्निर्माणमा जाइका पछि हटेको हो ? 

कहिले र कसरी गर्ने भन्ने अन्योलबीच बीपी राजमार्गको पुनर्निर्माण जापान सरकारले बनाइदिने चर्चा चल्दै आएको छ । तर, जापानले नै बनाइदिने निश्चित भने अझै भइसकेको छैन ।

सरकारको आफ्नै स्रोतबाट बनाउने कि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा बनाउने भन्ने विषय अझै अन्योलमा रहेको बताउँछन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारी । पहिला जाइकाले नै बनाएको हुनाले अहिले पनि जाइकाले चासो देखाएको छ । बाढीले क्षति पुर्याएको सडकको अध्ययन समेत गरेको थियो । तर, औपचारिकरूपमा कसले बनाउने निर्णय भइनसकेको उनी बताउँछन् । 

‘नेपाल सरकार आफैंले गर्ने कि जापान सरकारले गर्ने अथवा अरू स्रोत खोज्ने भन्ने टुङ्गो लागेको छैन । यो विषयमा छलफल जारी छ,’ उनी भन्छन्, ‘सहयोग गर्ने/नगर्ने उनीहरूको विषय हो । निर्णय नभएसम्म केही भन्न सकिँदैन ।’

राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले गत कात्तिक दोस्रो साता अध्ययन पनि गरेको थियो । डीपीआर गरेर प्रतिवेदन आउन निक्कै समय लाग्छ । पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गत ३० असोजमा नेपालका लागि जापानका राजदूतसँग छलफल समेत गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको भए पनि हालसम्म जाइकाले कुनै प्रतिक्रिया दिएको छैन । 

सरकार जाइकाको जवाफको पर्खाइमा रहेको स्रोतको दाबी छ । ०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान पनि सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । त्यसबेला मर्मतका लागि जापान सरकारले एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।

कसरी सम्भव भयो बीपी राजमार्ग निर्माण ?

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइराला (बीपी) का नाममा निर्माण गरिएको यस राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकलगायत जिल्लाका पहाडी क्षेत्रको विकासको ढोका मात्रा खुला गरिदिएन त्यहाँको जनजीवनमा नै परिवर्तन ल्याइदिएको छ । यसले आर्थिक तथा सामाजिक गतिशीलतालाई बढाउनुका साथै पूर्वी नेपाल र मध्य तराईको दूरीलाई छोटो बनाइदिएको छ ।

बीपी कोइरालाले यस राजमार्गलाई तराई र राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा वि.सं २०१५ मा परिकल्पना गरेका थिए । २०१७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमा परेको राजमार्गलाई २०४६ सालको राजनीतिक परिवर्तनपछि निर्वाचित सरकारको पहलमा २०५२ सालबाट चार खण्डमा विभाजन गरेर निर्माण थालिएको थियो ।

राजमार्गको पहिलो खण्ड महोत्तरीको बर्दिबास–सिन्धुलीगढी ३७ किलोमिटर रहेको छ भने राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किलोमिटर रहेको छ । त्यस्तै, खुर्कोट–नेपालथोक यो राजमार्गको तेस्रो खण्ड हो, जसको लम्बाइ ३७ किलोमिटर रहेको छ । यस्तै, नेपालथोक–धुलिखेल भने चौथोखण्ड हो ।

करिब २० वर्ष लगाएर निर्माण सम्पन्न गरिएको यो राजमार्ग बनाउन जापान सरकारको २६ अर्ब जापानी येन अर्थात् झन्डै नेपाली २५ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । जापानले भौगोलिक विकटतालाई ध्यानमा राख्दै नेपालमै पहिलोपटक ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधिको प्रयोग गरेर राजमार्ग निर्माण गरेको थियो । 

यो पनि पढ्नुहोस् : बीपी राजमार्ग पुनःनिर्माण : जापानकै मुख ताक्ने कि आफैँ बनाउने ?

  • प्रकाशित मिति : ४ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया