logo-img

यू-१९ विश्वकप : स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित, ‘सुपर सिक्स’ सम्भावना कठिन

आइसिसी महिला यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो हार बेहोर्नेक्रममा नेपाल सोमबार सम्पन्न खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भयो । 

नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको पराजय बेहोरेको थियो । यो जितपछि स्कटल्याण्डको सुपर सिक्स सम्भावना बढेको छ । 

आफ्नो दोस्रो खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि पिप्पा स्प्रौलले ३५ र गेब्रिएला फोन्टेन्लाले अविजित १२ रन जोडिन् । 



नेपालका लागि रचना चौधरी र सिमाना केसीले दुई/दुई तथा पूजा महतो र कृष्मा गुरुङले एक/एक विकेट लिए । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रन जोडिन् । यस्तै, सावित्रा धामीले ११ बलमा १० रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।  



स्कटल्याण्डका लागि माइसी मासिराले घातक बलिङ गरिन् । उनले ३.५ ओभरमा १५ रन दिएर सर्वाधिक ५ विकेट लिइन् ।  



लगातार दोस्रो हारपछि नेपालको सुपर सिक्स यात्रा कठिन बनेको छ । नेपालले अब सुपर सिक्समा स्थान बनाउन समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनैपर्ने हुन्छ । नेपाल र अस्ट्रेलियाबीचको खेल बुधबार हुनेछ ।

यस विश्वकपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर–६ मा पुग्नेछन् ।

सुपर–६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ । दुवै समूहका शीर्ष दुई/दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।  

  • प्रकाशित मिति : ९ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया