logo-img

सुदूरपश्चिम प्रदेशको सात वर्ष : दोस्रो प्रदेश सभाले दुई वर्षसम्म बनाउन सकेन एउटा कानुन
पहिलो प्रदेशसभाले बनाएको थियो ६७ कानुन
मुख्यमन्त्री कमलबहादुर शाह प्रदेशसभा दिवस २०८१ का अवसरमा मन्तव्य राख्दै । तस्बिर : सिद्धराज भट्ट/रासस

देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको सोमबार सात वर्ष पूरा भएको छ ।

पहिलो प्रदेशसभाको पाँच वर्षे कार्यकालमा ६७ वटा कानुन बनेका थिए । बनेका कानुनमध्ये झण्डै १०/१२ कानुन संशोधन भइसकेका छन् । विसं २०७९ पछि गठन भएको दोस्रो प्रदेशसभाले भने हालसम्म कानुन बनाउन सकेको छैन । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताए । ‘यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।’ 

पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘विजनेश’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।



संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था हो । यसले तोकिएका विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानुन निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पारित गर्ने काम गर्छ । 

संविधान बमोजिम व्यवस्था भएको सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय स्वरुपमध्ये प्रदेशसभा एक महत्वपूर्ण निकाय हो । बनेका कानुनमध्ये कतिपय स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र अन्य कतिपय जनताको सेवासँग सम्बन्धित छन् । बनेका कतिपय कानुनको कार्यान्वयन फितलो देखिएको गुनासो  सर्वसाधारणको छ ।



सुदूरपश्चिम प्रदेशसभाले काम थालेको सोमबार सात वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा परिसर धनगढीमा ‘प्रदेशसभा दिवस २०८१’ मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख नजिर मियाँले सङ्घीय लोकतान्त्रिक व्यवस्थाका कारण सिंहदरवारको अधिकार गाउँमा पुगेर नागरिक लाभान्वित भइरहेको बताए । उनले प्रदेशको स्थायी राजधानी निर्माणका विषयमा ध्यान जानुपर्ने बताए ।

 मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै थप सुदृढ बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । सङ्घीयताको कार्यान्वयनसँग जोडिएका कतिपय प्रावधानका कारण काम गर्न केही कठिनाइ महसुस भएकाले प्रदेश सरकार जनताका समस्या समाधान गर्न प्रयासरत रहेको मुख्यमन्त्री शाहले बताए । 



विसं २०७४ माघ ७ गते आज कै दिन सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित प्रदेशसभाका सदस्यको सपथ ग्रहण गराइएकाले यसै दिनलाई प्रदेशसभा दिवसका रुपमा मनाउने गरिएको छ ।

  • प्रकाशित मिति : ४ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया