logo-img

घरेलु खेलकुदमा चलायमानको संकेत : व्यस्त तालिका, मक्ख खेलाडी ! [भिडियोसहित]

पछिल्लो केही समययता नेपाली खेलकुद चलायमान देखिएको छ । ताजा अवस्थामा क्रिकेट, फुटबल, कबड्डीलगायत खेलकुदका प्रतियोगिता भइरहेका छन् । अहिले नेपाली खो–खो टिमको चर्चा पनि शिखरमा छ ।

भारतमा भएको पहिलो संस्करणमै नेपाली पुरुष र महिला टिमले फाइनलमा स्थान बनाएपछि यो खेलले चर्चा बटुलेको हो । उपाधि जित्न चुके पनि डेब्यू सहभागितामै हासिल गरेको नेपाली खेलाडीको उपलब्धिको प्रशंसा स्वदेशमा मात्र होइन भारतमा पनि उत्तिकै छ ।

फुटबलतर्फ अहिले एन्फा महिला लिग र एन्फा यू–१६ युथ लिग चलिरहेको छ । यस्तै, आउँदो बिहीबारदेखि सभापति कप नकआउट फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा बागमती प्रदेशसहित मछिन्द्र क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र सङ्कटा क्लबले सहभागिता जनाउनेछन् ।



प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउनेछ । यस्तै, सिनियर महिला फुटबलले ५ फागुनदेखि घरेलु मैदानमा चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले म्यानमार, लेबनान र किर्गिस्तानको सामना गर्नेछ । 



पुरुष सिनियर फुटबल टोलीको भने तत्काल खेल तालिका छैन । पूर्वनिर्धारित तालिकाअनुसार नेपालले मार्चमा मलेसियासँग एएफसी एसियन कप क्वालिफायर खेल्नेछ । यस्तै, हाल कबड्डीतर्फ नेपाल कबड्डी लिग (एनकेएल) भइरहेको छ ।

पहिलो संस्करणको यस फ्रेन्चाइज लिगमा ६ टिमको सहभागिता छ । त्यस्तै, क्रिकेटतर्फ अहिले नेपालले आइसिसी यू–१९ महिला विश्वकप खेलिरहेको छ । समूह ‘डी’ मा रहेको नेपालले दुईवटा म्याच खेलिसकेको छ । अब नेपाली टोलीले समूह चरणमा अस्ट्रेलियाविरुद्ध खेल्ने बाँकी छ । नेपाल पहिलोपटक यू–१९ महिला विश्वकप खेलिरहेको हो । 



यस्तै, महिलातर्फको क्रिकेटको कुरा गर्दा हाल नेपालमा प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिता भइरहेको छ । ९ टिमको सहभागिता रहेको यो प्रतियोगिता कैलालीको धनगढीस्थित फाफ्ला मैदानमा भइरहेको हो ।

नेपालमा महिला क्रिकेटका लागि प्रधानमन्त्री कप प्रमुख प्रतियोगितामा मानिन्छ । यो टुर्नामेन्टपछि नेपाली सिनियर महिला टोलीले कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ । यो सिरिज यही १७ माघदेखि सुरु हुनेछ । पुरुष क्रिकेटतर्फ अहिले भैरहवामा ‘ए’ डिभिजनको रूपन्देही सुपर लिग चलिरहेको छ । 

प्रतियोगितामा एनपिएल खेलिसकेका विपिन शर्मा, ईशान पाण्डे, साहब आलम, शंकर रानालगायत खेलाडी पनि छन् । केही दिनअघि मात्र दुईदिवसीय जय ट्रफी सम्पन्न भयो । जहाँ त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्यो । 

यस्तै, सोमबारदेखि जय नेपाल कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । टियू मैदानमा जारी यस प्रतियोगितामा तीन देशका ८ वटा विश्वविद्यालयका टिम प्रतिस्पर्धा गर्दै छन् ।

जय नेपाल कपमा नेपालका चर्चित खेलाडीको पनि सहभागिता छ । यस प्रतियोगितामा भीम सार्की, विपिन आचार्य, लोकेश बम, सुवास भण्डारीलगायत खेलाडीलाई पनि देख्न पाइनेछ । प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै, यही १९ माघदेखि धनगढीमा पहिलोपटक अर्जुन ट्रफी क्रिकेट प्रतियोगितामा पनि हुँदैछ । ८ वटा टिमको सहभागिता रहने यस प्रतियोगितामा पनि केही राष्ट्रिय खेलाडी हुने छन् ।

जय ट्रफीमा एउटा टिममा ४ जनासम्म राष्ट्रिय टोलीका खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् ।   

लगातार प्रतियोगिताले सुध्रिँदै खेलाडीको आर्थिक अवस्था

निरन्तर प्रतियोगिता हुँदा खेलाडीको क्षमताका सार्थ आर्थिक स्थिति पनि बलियो बन्दै गएको छ । विशेषगरी पछिल्लो समय क्रिकेट खेलाडीको आर्थिक अवस्था बलियो बन्दै गएको हो । 

गत महिना मात्र धेरै क्रिकेटरले नेपाल प्रिमियर लिग (एनपिएल) खेले, जहाँ खेलाडीले एक लाखदेखि २० लाख रुपैयाँसम्म पारिश्रमिक पाए । साथै, अरू घरेलु प्रतियोगिताबाट पनि खेलाडीले राम्रो रकम पाइरहेका छन् । 

यस्तै, फुटबलतर्फ पनि घरेलु प्रतियोगिता निरन्तर हुँदा खेलाडीको आम्दानीमा सघाउ पुगिरहेको छ । यद्यपि फुटबल खेलाडीको विदेश पलायन भने रोकिएको छैन । त्यसको कारण हो, एन्फाले निरन्तर प्रतियोगिता गर्न नसक्नु, खेलाडीको महत्वाकांक्षी, उज्ज्वल भविष्यको खोजी आदि । 

विगतमा दुई सिजन भइसकेको नेपाल सुपर लिगको आगामी संस्करण हुने/नहुने अझै अन्योल छ ।  

नेपालमा हाल कबड्डी लिग चलिरहेको छ । पहिलोपटक भइरहेको यो लिगका कारण यस विधाका खेलाडीको पनि मनोबल बढेको छ । यस्तै, केही साताअघि महिला भलिबलको फ्रेन्चाइज लिग पनि भएको थियो, जहाँ खेलाडीले राम्रो पारिश्रमिकका साथै चर्चा पनि पाए ।  

त्यस्तै, आगामी फागुनमा  नेपाल भलिबल पुरुष लिग (एनभिएल) को आयोजना पनि हुँदैछ । भलिबल इतिहासमै पहिलोपटक हुन लागेको लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग ९ दिनसम्म चल्नेछ । यो लिगले खेलाडीको आर्थिक स्थितिमा सहयोगका साथै भलिबलप्रतिको क्रेज थप बढ्ने देखिन्छ ।  

  • प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया