धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगे, रित्तो गाग्री बोकेर । मंगलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् ।
त्यसो त उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेट्न चाहन्थे । तर प्रधानमन्त्री ओलीले उनलाई भाउ दिएनन् ।
उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोस्यो । मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै सिंहदरबार छिरेका हुन् ।
बर्खा याममा पानीको खासै समस्या नभए पनि हिउँद याममा भने धरान काकाकुल बन्न पुग्छ । यस पटकको हिउँदमा पनि त्यही समस्या भोग्न अभिसप्त छन्, धरानका बासिन्दा ।
मेयर साम्पाङ कोशीबाट पानी ल्याएर हिउँदमा धरानले भोग्नुपरेको पानीको समस्या समाधान गर्न चाहन्छन् । मंगलबार खानेपानी मन्त्रीलाई भेटेर बजेट दिन आग्रह पनि गरे । मन्त्रीले पनि आश्वासन दिए ।
बाह्रै महिना पानी दिने वचन दिएर मेयर बनेका साम्पाङले धरानलाई सप्तकोशीको पानीले छ्यालब्याल बनाउन खोजेको बुझ्न कठिन छैन । तर यो समस्या समाधानका लागि सिंहदरबारको साथ पनि चाहिन्छ । यसैले उनले रित्तो गाग्री बोकेर संघीय सरकारलाई झकझक्याउन काठमाडौं आइपुगे ।
केन्द्र सरकारको साथ खोजिरहेका साम्पाङले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ‘फेस गर्न नसकेको’ प्रतिक्रिया दिएका हुन् ।
मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
रित्तो गाग्री प्रकरणले उनले एकातिर धराने जनताले हिउँदमा भोग्नु परेको पानीको समस्याबारे आफू चिन्तित रहेको सङ्केत गरे भने अर्कोतिर यसलाई स्टन्टको रूप दिएर जनताको ध्यान आफूतिर आकर्षित गर्न पनि सफल भए ।
आम जनताको समस्यामा केन्द्रको कानमा बतास नलागेपछि सायद साम्पाङसँग पनि अर्को उपाय थिएन होला । तर, उनको यो शैलीलाई प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूले पनि पछ्याउन थाले भने के होला ? विचारणीय प्रश्न हो, यो ।
अराजक शैलीबाट लोकरिझ्याइँका राजनीति गर्न सकिन्छ भन्ने भाष्य तयार भइरहेको पछिल्लो समयमा संघीय सरकार र सरोकारवालाहरूको ठालु प्रवृत्तिले नै यस किसिमको वातावरण निर्माण गरिरहेको छ ।
केन्द्रले कानमा तेल हालेर बस्ने र आफ्नो सत्ता स्वार्थमा मात्र केन्द्रित हुने हो भने साम्पाङ शैलीको राजनीतिले कहाँ पुग्ला नेपाली समाज ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।