सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो सांसदहरूले गरेका छन् । समितिको आजको बैठकमा सांसदहरूले समितिको कार्यशैली र सभापति ऋषिकेश पोखरेलको क्षमतामाथि प्रश्न उठाएका हुन् ।
समितिको बैठक नियमित बस्न नसकेको, समितिमा परेका उजुरीहरूको छानबिन हुन नसकेको, समितिमार्फत् यसअघि विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदहरूले असन्तोष व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले भने लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने विषयसमेत उठाएका छन् । सांसद लेखनाथ दाहालले सत्तापक्ष दलकै सांसद समितिको सभापति रहेकाले समितिको काम प्रभावकारी हुन नसकेको आरोप लगाए । ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाँया जस्तो हुँदै गएको छ । यसकारण समितिको नेतृत्व प्रमुख प्रतिपक्ष दलले पाउनुपर्छ,’ दाहालले भने ।
सांसद रामकृष्ण यादवले लेखा समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे पनि समितिमा छलफल गरिनुपर्ने बताए । ‘हामीले कुन निकायलाई कति निर्देशन दिएका छौँ र त्यसको कति कार्यान्वयन भयो भनेर सबै मन्त्रालयका सचिवसँग छलफल गरिनुपर्छ,’ यादवले भने ।
त्यस्तै सांसद डा अमरेशकुमार सिंहले लेखासमितिको बैठक नियमित बस्नुपर्नेमा जोड दिए । त्यस्तै, लेखा समितिको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सरकारले ल्याएको अध्यादेश संविधान र कानुनसम्मत् छन् वा छैनन् भनेर समितिमा छलफल गरिनुपर्ने सांसद सिंहले बताए ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको निगरानी संसद्ले गर्ने भएकाले समिति प्रभावकारी रूपमा चल्न सक्नुपर्ने बताए । त्यस्तै, बेरूजु फछ्र्यौट सम्परीक्षणका कामलाई समितिले तीव्रता दिनुपर्ने उनको भनाइ छ । समितिमा परेका उजुरीको प्रकृति हेरेर कुन उजुरीमाथि तत्काल छलफल गर्ने र कुनमा नगर्ने भनेर निक्र्यौल गर्न नसक्नु पनि समितिको कमजोरी रहेको बाँस्कोटाको भनाइ छ ।
सांसद अर्जुन नरसिंह केसीले लेखा समिति सुशासनको संवाहक रहेको बताउँदै सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी व्यवस्थालाई समितिले गम्भीरताका साथ अध्ययन गर्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।