मलेसियामा जारी दोस्रो संस्करणको आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत सोमबार नेपाललाई पहिलो जित निकाल्ने सुनौलो मौका थियो । तर, नेपालको सपना पूरा भएन । नेपालको सपनामा बाधक बन्यो, स्कटल्याण्ड ।
यस खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमै अलआउट भयो । ब्याटिङमा पूरा २० ओभर टिक्न नसके पनि नेपालले बलिङ र फिल्डिङमा पनि ठीकठाक प्रदर्शन गर्यो ।
७४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल हाबी देखिन्थ्यो । १७ ओभरसम्म नेपाल खेलमा अगाडि थियो । त्यो अवस्थामा स्कटल्याण्डले ९ विकेट गुमाएर ५८ रन जोडेको थियो । विश्वकपमा जित निकाल्न स्कटल्याण्डलाई १६ रन र नेपाललाई एक विकेट आवश्यक थियो ।
१८औँ ओभरमा नेपालले दुई चौकासहित ११ रन दिँदा स्कटल्याण्डले खेलमा फर्किने मौका पायो । र, नेपालले फेरि एकपटक विश्वकपमा झन्डै जितिसकेको खेल एक विकेटले गुमायो ।
विश्वकपमा पहिलो सहभागिता भएर पनि होला नेपाली खेलाडीले अन्तिममा दबाब झेल्न सकेनन् । सोही कारण नेपाल विश्वकपमा जितको खाता खोल्न चुक्यो ।
दक्षिण अफ्रिकाविरुद्धको त्यो पीडादायिक हार
नेपालले यस्तो प्रकारको पीडा यसपटक मात्र होइन विगत विश्वकपमा पनि अनुभूति गरिसकेको छ । नेपाली पुरुष टिमले गत जुनमा सम्पन्न आइसिसी विश्वकप टी–२० क्रिकेटमा पनि एक रनको नमीठो हार बेहोर्यो । टेस्ट टिम दक्षिण अफ्रिकाविरुद्धको उक्त खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो थियो ।
त्यस खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनायो । खेलमा नेपाललाई अन्तिम १८ बलमा जितका लागि १८ रन आवश्यक थियो । र, नेपालको हातमा ८ विकेट बाँकी नै थियो । तर, अन्तिममा दबाबको सामना गर्न नसक्दा नेपालले एक रनको साँघुरो हार बेहोर्यो ।
अहिले पनि त्यो क्षण सम्झँदा नेपाली खेलाडी र समर्थकलाई पीडा हुन्छ । यदि त्यो खेल जितेको भए नेपालले पहिलोपटक कुनै पनि टेस्ट टिमलाई हराएको हुन्थ्यो । तर, त्यस हारले नेपाल दक्षिण अफ्रिकाविरुद्ध इतिहास रच्न चुक्यो ।
यदि यस खेलमा जित निकालेको भए नेपालले सुपर सिक्स खेल्न पाउने लगभग पक्काजस्तै थियो । तर, एक विकेटको साँघुरो हारका कारण नेपालले त्यो मौका गुमायो ।
दक्षिण अफ्रिकासँगको हारले सुपर आठमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको थियो । यदि नेपालले उक्त खेलमा जित निकाल्न सकेको भए दोस्रो चरणमा स्थान बनाउने सम्भावना बलियो थियो ।
किनकी बंगलादेशविरुद्ध पनि नेपालले राम्रो बलिङ गरेको थियो । र, दक्षिण अफ्रिकाविरुद्ध जित निकालेको भए नेपाली टिममा आत्मविश्वास पनि बढेको हुन्थ्यो । तर, जित नजिक पुगेको खेलमा हार बेहोरेको नेपालले बंगलादेशविरुद्ध पनि खराब ब्याटिङलाई निरन्तरता दियो ।
त्यस खेलमा बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।
त्यो एक रनको जित
विश्वकपमा नेपाल एक रन वा एक विकेटले हारेको विगत मात्र छैन, जितको कथा पनि छ । गत वर्षको जनवरीमा दक्षिण अफ्रिकामा आयोजित १९ वर्षमुनिको पुरुष विश्वकपमा नेपालको पनि सहभागिता थियो ।
समूह चरणमा नेपालको पनि अफगानिस्तानसँग पनि भयो । २६ जनवरी भएको त्यस खेलमा टस हारेको नेपालले अफगानिस्तानलाई १ सय ४५ रनमा अलआउट गर्यो । १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालको सुरुवात पनि राम्रो रहेन ।
लो स्कोरिङ यस खेलको नतिजा हेर्न ४४.४ ओभरसम्म कुर्नु पर्यो । निकै रोमाञ्चक उक्त खेलमा नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । र, खेल जित्न नेपाललाई २ रन आवश्यक थियो ।
म्याच अफगानिस्तानले पनि जित्न सक्थ्यो । तर, सुवास भण्डारीले परिपक्वता देखाउँदै नेपाललाई एक विकेटको रोमाञ्चक जित दिलाए । यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालको यो पहिलो जित हो ।
सोही जितका कारण नेपालले विश्वकपको सुपर सिक्समा स्थान बनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।