यूएईमा जारी इन्टरनेशनल लिग टी–२० (आईएल टी–२०) मा नेपाली अलराउन्डर कुशल मल्लसम्मिलित डेजर्ट भाइपर्सले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा डेजर्टले गएराति सम्पन्न खेलमा शारजाह वारियर्सलाई १० विकेटले हरायो ।
यस खेलमा वारियर्सले दिएको ९२ रनको सामान्य लक्ष्य डेजर्टले १० ओभरमा बिनाविकेटको क्षतिमा भेट्टायो । उसका लागि अविजित रहेका फखर जमानले ७१ र एलेक्स हेल्सले २३ रन बनाए ।
त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वारियर्स १९.१ ओभरमा ९१ रनमै अलआउट भयो । उसका लागि जेसन रोयले ३४ बलमा दुई चौकासहित सर्वाधिक ३० रन जोडे । डेजर्टका लागि मोहम्मद आमिरले चार र वानिन्दु हसरंगाले तीन विकेट लिए ।
यस खेलमा पनि कुशलले प्लेइङ–११ मा मौका पाएनन् । उनले मौका नपाएको यो लगातार पाँचौं खेल हो । कुशल पहिलोपटक यो लिगमा आबद्ध छन् । यस्तै, अर्का नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि आईएल टी–२० मा डेब्यूको मोका पाएका छैनन् ।
गल्फ जायन्ट्सले जारी सिजनमा चार म्याच खेल्दासम्म दीपेन्द्रले डेब्यूको मौका नपाएका हुन् । उनीसम्मिलित गल्फले आफ्नो पाँचौं खेलमा बिहीबार राति दुबई क्यापिटल्सको सामना गर्दैछ । गल्फ अहिले चार खेलबाट २ अंकसहित तालिकाको पुछारमा छ ।
दीपेन्द्रले आजको खेलमा डेब्यू गर्ने सम्भावना छ । पछिल्लो खेलमा टिमको प्रदर्शन खराब रहेका कारण उनले दुबई क्यापिटल्सविरुद्ध प्लेइङ–११ मा मौका पाउने सम्भावना रहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।