दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा नेपाली टिमको लक्ष्य थियो, सुपर सिक्समा स्थान बनाउनु । समर्थकले पनि त्यहाँसम्म चाहिँ नेपालले स्थान बनाउन सक्ने अनुमान गरेका थिए । तर, खराब ब्याटिङका कारण नेपालले आफ्नो लक्ष्य पूरा गर्न सकेन ।
नेपालले बुधबारसम्म सुपर सिक्स पुग्ने झिनो आशा बाँकी नै थियो । तर, समूह ‘डी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ८३ रनको पराजयले नेपालको त्यो आशा पनि समाप्त भयो ।
कस्तो रह्यो डेब्यू विश्वकपमा प्रदर्शन ?
बंगलादेशविरुद्ध खेल्दै नेपाली युवा महिला टिमले विश्वकपमा डेब्यू गरेको थियो । उक्त खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भयो ।
खराब ब्याटिङ गरेको नेपालले बलिङमा भने राम्रो प्रदर्शन गर्यो । लो स्कोरिङ म्याचमा बंगलादेशविरुद्ध नेपालले ५ विकेट लियो ।
विश्वकपको दोस्रो खेलमा नेपालको भेट स्कटल्याण्डसँग भयो । उक्त खेलमा टस जितेको नेपाल १८.५ ओभरमा ७३ रनमा समेटियो । स्कटल्याण्डविरुद्ध पनि ब्याटिङमा चुकेको नेपालले बलिङमा गज्जबको प्रदर्शन गर्यो ।
साँघुरो हार बेहोरेको नेपालले स्कटल्याण्डको ९ विकेट झारेको थियो । यद्यपि फिनिसिङमा चुकेको नेपाल एक रनले स्तब्ध हुन पुग्यो । यदि त्यो खेल जितेको भए नेपाललाई सुपर सिक्समा देख्न पाइन्थ्यो । तर, त्यो पीडादायिक हारका कारण नेपाली टिम जितविहीन घर फर्कँदै छ ।
तेस्रो खेलमा उपाधि दाबेदार अस्ट्रेलियाविरुद्ध नेपालले बलिङमा उत्कृष्ट सुरुवात गर्यो । तीन ओभरमा नेपालले अस्ट्रेलियाका शीर्षक्रमका तीन ब्याटरलाई पवेलियनको दिशा देखाइसकेको थियो । तर, लय कायम राख्न नसक्दा नेपालले १ सय ४० रनको लक्ष्य पायो ।
उक्त लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । यस खेलमा फराकिलो हार बेहोरे पनि नेपाली ब्याटर पूरा २० ओभर भने क्रिजमा टिक्न सफल भए । अघिल्लो दुई खेलमा नेपाली टिम पूरा २० ओभर क्रिजमा टिक्न सकेको थिएन ।
व्यक्तिगत प्रदर्शन
विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन नियाल्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन् । प्रतियोगितामा उनी नेपालका लागि सर्वाधिक विकेट र रनकर्ताको सूचीको शीर्ष स्थानमा रहिन् । उनले तीन खेलमा सर्वाधिक ४७ रन बनाइन् । ठूलो पारी खेल्न नसके पनि पूजाले पछिल्लो दुई खेलमा नेपाललाई जित दिलाउन पूरा कोसिस गरिन् ।
यस्तै, ब्याटिङमा साना प्रवीनले तीन खेलमा २८, सावित्रा धामीले तीन खेलमा १८, सीमाना केसीले तीन खेलमा १६ तथा अलिशाकुमारी यादवले तीन खेलमा १६ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा पनि कप्तान पूजा नेपालका लागि सर्वाधिक विकेट लिने सूचीमा संयुक्तरूपमा पहिलो स्थानमा रहिन् । उनले तीन खेलमा ५.०६ को इकोनमीमा ५ विकेट लिइन् ।
पूजापछि यो सूचीको दोस्रो स्थानमा सीमाना केसी रहिन् । उनले तीन खेलमा ५.५४ को इकोनमीमा ५ विकेट लिइन् ।
यस्तै, रचना चौधरीले तीन खेलमा ५.२२ को इकोनमीमा तीन तथा रिया शर्माले तीन खेलमा ५.०९ को इकोनमीमा दुई विकेट लिइन् । कृष्मा गुरुङको नाममा एक विकेट रह्यो ।
अरू नेपाली बलरले भने विकेट लिन सकेनन् ।
विश्वकप २०२७ मा पनि छनोट
यू–१९ विश्वकपमा नेपाली महिला टिमको यो पहिलो सहभागिता थियो । नेपालले आफ्नो डेब्यू सहभागितामा खेल जित्न नसके पनि आगामी दिनका लागि राम्रो सम्भावना देखाएको छ ।
अब अर्को यू–१९ महिला विश्वकप सन् २०२७ मा हुनेछ । उक्त संस्करणको विश्वकपका लागि नेपाल सह–आयोजकको हैसियतमा छनोट भइसकेको छ । आउँदो विश्वकपमा बंगलादेश प्रमुख आयोजक रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।