logo-img

जिसस प्रमुख-उपप्रमुखलाई राष्ट्रपतिको आग्रह : जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नू

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर्नुपर्ने बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटघाट कार्यक्रममा त्यस्तो बताएका हुन् ।

‘विभिन्न कठिनाईका बावजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ’, उनले भनेका छन् । 

राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेश अनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गरे । 
‘गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए नभएको बारेमा अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेट दुरुपयोग पनि रोकिन्छ र राज्यको पनि ध्यान आकर्षित हुन्छ, यसबाट राष्ट्रको विकासमा योगदान दिन्छ’, राष्ट्रपति पौडेलले भने । 



आफ्नो भूमिकालाई आफैँ क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गरे । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको बताउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गरे । 

उनले आफ्नो जिम्मेवारी अझ सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको र यसका लागि आवश्यक पर्ने स्रोत साधन, नीति/कानुनको स्पष्टताका लागि सम्बन्धित निकायको ध्यान जाने विश्वास व्यक्त गरे । साथै राष्ट्रपति पौडेलले महासंघको ३० औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।



  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया