अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औसत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औसत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरूलाई प्रभावकारी ढङ्गबाट समाधान गर्ने बताए ।
उनले भने, ‘सरकारले कुनै औसत काम गरेर सरकारको सूची बढाउने काम गर्दैन । दिन बिताउने पक्षमा छैनौँ । समस्याको निकै लामो चाङ छ । यी समस्याहरूलाई एक एक गरेर पन्छाउँदै जान चाहन्छौँ । छोटो अवधिमा दूरगामी महत्वका उपलब्धिहरू आर्जन गर्न चाहन्छौँ । बिषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरूलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न चाहन्छौ । सरकार बनेको दिन गनेर नभई परिणाममुखी काम गरेर अगाडि बढ्न चाहन्छौँ ।’
उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविष्य खोज्नेहरूको लागि काम गरेको बताए ।
उनले भने, ‘२९ वटा ऐनहरूमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौ । ती अध्यादेशहरू सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदै छ । ती अध्यादेशहरू संसदबाट अनुमोदित हुनेछ । निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविष्य खोज्ने, समाजको भविष्य खोज्नेहरूका लागि सरकारले ऐनहरूमा संशोधन गर्ने अध्यादेशहरूमा निर्णय गरेको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।