भारतको एक अदालतले किशोरीको वीभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए ।
सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए । केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताएका छन् ।
छैटौँ व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको’ उनले बताए ।
भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा यो विरलै दिइने सजाय हो । एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन् ।
पूर्वी सहर कोलकाताको एक अदालतले गत वर्ष ३१ वर्षीया एक डाक्टरको बलात्कार र हत्या गरेको अभियोगमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
गत अगष्टमा सरकारी अस्पतालमा उनको रगताम्य शव फेला परेपछि राष्ट्रव्यापी आक्रोश र महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर विरोध प्रदर्शन भएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको वीभत्स प्रकृतिको तुलना गरिएको थियो।
सन् २०२० को मार्चमा बस आक्रमणमा दोषी ठहरिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।