नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) को मतगणनामा विवाद आएको छ । मतगणनामा सदर र बदर मत केलाई मान्ने भन्ने विषयमा विवाद देखिएको हो ।
जसकारण केही स्थानको मतगणना प्रभावित भएको छ । खासगरी विश्वविद्यालय विशेष र उपत्यका विशेष प्रदेशको मतगणना सुरु हुनुअघि विवाद भएको हो ।
शनिबार बेलुकादेखि नै यस विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । मतदान केन्द्रमा भोट हाल्नका लागि रातो मसीको मार्कर राखिएको थियो । तर, निर्वाचन समितिले मतदानमा कालो मसी पनि प्रयोग भएको बताएपछि उम्मेदवारका प्रतिनिधिबीच कसलाई सदर मत मान्ने भन्नेमा विवाद भएको हो ।
अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा, उपदेश यादव र सुदिन पौडेलका प्रतिनिधिले रातो मसीबाहेक एउटै मसी प्रयोग भएको अवस्थामा सदर मान्नुपर्ने तर, दुईवटा मसी प्रयोग भएको अवस्थामा भने बदर मान्नुपर्ने बताएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार हेमन्त राईका प्रतिनिधिले भने रातोबाहेकको मसी प्रयोग भएको अवस्थामा मत बदर मान्नुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।