डा. रविन्द्र बाँस्कोटा सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखामा कार्यरत छन् । छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेका उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी पनि सम्हालिसकेका छन् । प्रस्तुत छ, डा. बाँस्कोटासँग नेपालमा कुष्ठरोगको पछिल्लो अवस्था, रोकथामको उपाय र भावी योजनाबारे गरिएको कुराकानी :
नेपालमा कुष्ठरोग र रोगबाट प्रभावितको अवस्था के छ ?
नेपालको हालको अवस्था हेर्ने हो भने विगतको तुलनामा कुष्ठरोगका नयाँ विरामीको संख्या बढेको छ । २४ सय ७२ जना नयाँ कुष्ठरोगका विरामीलाई पत्ता लगाएर उपचारको दायरामा ल्याएको छौँ । २४ सय ७२ जनामध्ये पनि करिब ४० प्रतिशत चाहिँ महिला हुनुहुन्छ । १ सय ३६ जना चाहिँ बालबच्चा हुनुहुन्थ्यो । १४ वर्षभन्दा मुनिका बच्चाको सङ्ख्या १ सय ३६ जना थियो । त्यस्तै, सुरुको अवस्थामा अङ्गभङ्ग भएको व्यक्तिको सङ्ख्या चाहिँ १ सय ५७ जना थियो, जसमा दुईजना बालबालिका सुरुको अवस्थामा नै अङ्गभङ्ग भएर आउनुभएको छ । तीन/चार वर्षको तथ्याङ्कलाई हेरेर हालको अवस्थालाई मूल्याङ्कन गर्दा गत आर्थिक वर्ष नम्बर बढेको देखिन्छ । नियन्त्रण गर्न अझै चुनौतीपूर्ण नै छ ।
के कारणले विरामी बढिरहेका छन् ?
नेपालमा सन् २०१० मा कुष्ठरोग उन्मूलन भयो भनेर घोषणा गरियो । तर, उन्मूलनलाई कसरी परिभाषित गरियो भने प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोग भएका विरामीको सङ्ख्यालाई निवारणको अवस्था भनेर व्याख्या गरियो । त्यसो भएपछि पोलेसी मेकर अथवा नीति निर्माण तहमा त्यसको के बुझाई गयो भने निवारणको अर्थ अब देशमा कुष्ठरोगका विरामी नै छैनन् भन्ने भयो । देशले यसलाई प्राथमिकतामा पार्न नपर्ने हो कि भन्ने सोचको विकास भयो । यसका लागि आवश्यक कार्यक्रमहरू र बजेट अब नचाहिने हो कि भनेर कम प्राथमिकतामा राखियो । त्यस सक्रियरूपमा गर्नुपर्ने कार्यविधिहरू र क्रियाकलाप थिए, त्यो गर्न सकिएन । बजेट कम भयो । अनुसन्धान कम हुँदै गयो । संघ–संस्थाको क्रियाकलापमा कमी आयो । जसकारण हामीले प्रभावकारी नियन्त्रण गर्न सकेनौँ । फलस्वरूप यो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कुष्ठरोग खासमा के कारणले लाग्ने गर्दछ ?
कुष्ठरोग माइक्रोब्याक्टेरिया लेप्रे नामक सूक्ष्म किटाणुले गर्दा लाग्ने रोग हो । मानव सभ्यताको सबैभन्दा पुरानो विराम कुष्ठरोग नै हो । विभिन्न पुराण वा धर्मग्रन्थमा पनि कुष्ठरोगका बारेमा व्याख्या गरेको पाइन्छ । यस हिसाबले यो रोग वा विराम प्राचीन हो । यो प्राचीन रोग अहिलेसम्म आइपुग्दा उन्मूलन भइसक्नुपर्ने हो । तर, पनि विविध कारणले उन्मूलन भइसकेको छैन । किटाणुले गर्दा लाग्ने र कम सर्ने रोग हो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर, छोइ हाल्दैमा सँगै बस्दैमा सरिहाल्ने रोग होइन । लामो समयसम्म सँगै बस्दा स्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ ।
यसको रोकथामका उपाय के–के हुन सक्छन् ?
यसबाट जोगिने एउटै उपाय भनेको नै कसैलाई कुष्ठरोग लागेको छ भने समयमा नै उपचारको दायरामा ल्याउने नै हो । उपचार गरेपछि अरूलाई सर्न पाउँदैन । यसको प्रभावकारी उपचार पनि छ र उपचार भइसकेपछि पूर्णरूपमा ठिक हुन्छ । त्यसको मुख्य भनेकै समाजमा लुकेर रहेका कोही पनि कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउनैपर्छ । उपचार गरिसकेपछि न्यूनीकरण हुँदै जान्छ । सरिहाल्ने रोग होइन । त्यसैले घर–परिवारमा टाढै बस्नुपर्ने, छुट्टै बस्नुपर्ने अथवा यसका लागि अलग्गै औषधि या आहार गर्नुपर्ने भन्ने चाहिँ केही पनि छैन । सामान्य मानिसले गर्ने सामान्य क्रियाकलाप सबैजनाले गर्न सकिन्छ । र आफ्नो घरमा कसैलाई कुष्ठरोग लागेको शंका छ भने नजिकको अस्पतालमा गएर डाक्टरलाई देखाएर उपचार गर्नु नै रोकथामको उपाय हो ।
कुष्ठरोगका सुरुका लक्षण कस्ता हुन्छन् ? के यो रोग उमेर विशेष हुन्छ ?
कुष्ठरोगको किटाणुले कुनै उमेर हेर्दैन । रोग जसलाई पनि लाग्नसक्छ । यसका लक्षणहरू हुन्छन् । जुन सुरुमा नै थाहा पाउन सक्छौं । ति लक्षणहरू भनेको कुष्ठ रोगले छाला र स्नायुमा असर गर्छ । यसको किटाणुले सुरुमा गएर छाला र स्नायुमा आफ्नो प्रभाव देखाउँछ, छालामा मागहरू देखा पर्छन् । दाग कस्तो हुन्छ भने नचिलाउने, नदुख्ने, स्पर्श कम हुने, तातो–चिसो थाहा नपाउने खालको दाग शरीरमा छन् भने कुष्ठरोग हो की भनेर शंका गर्नुपर्ने हुन्छ । दोस्रो कुरा भनेको कुष्ठरोगको किटाणुले गर्दा कानको लोतीहरू बाक्लो हुने, नाकको हड्डी सानो हुँदै जाने हुन्छ भने धेरै ढिला भयो भने अंगभंग नै हुने हुन्छ । यस्ता स्नायुले गर्दा हात, खुट्टाको मांसपेशी कमजोर हुन्छ र अन्तिममा औँला पनि झर्न सक्छ । स्नायु, छाला बाहेक आँखामा पनि असर गर्नसक्छ । दृष्टिविहीन हुनेसम्मको अवस्थामा पनि पुर्याउनसक्छ । त्यसकारण सुरुमै लक्षण देखाउने भनेको छाला र स्नायुमा हो । त्यस्तो शङ्कास्पद लक्षणहरू देखिनेबित्तिकै स्वास्थ्य उपचारमा जानुपर्छ ।
सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रूपमा घोषणा गरेर सुरु गरेको कार्यक्रमअनुसार बिरामीको सङ्ख्या घट्नुपर्ने हो । २०३० सम्ममा शून्यमा पुर्याउने सरकारी लक्ष्य पनि छ । तर, त्यसअनुसारको परिणाम आउन सकिरहेको छैन । त्यसैले अलिक सक्रियरूपमा कार्यक्रम अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ ।
सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । तर, अझै पनि पुराना पुस्ताका केही मानिस कुष्ठरोगलाई श्रापका रूपमा नै हेर्ने गरेको पाइन्छ नि ? यसलाई कसरी हेरिरहनु भएको छ ?
हामीले जुन शिक्षा अथवा जुन चेतना समुदाय स्तरसम्म पुर्याउनुपर्ने थियो त्यसमा चुकेका छौँ । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा घरबाट बाहिर निकाल्ने, हेला गर्ने, भेदभाव गर्ने घटना विगतका वर्षहरूमा देख्न र सुन्दै आएका हौँ । यसलाई कम गर्ने भनेको शिक्षाबाट नै हो । यसका लागि जनचेतनामूलक कार्यहरू र विद्यालयस्तरमा शिक्षा दिने र कुष्ठरोग कुनै श्रापको कारणले लाग्ने रोग होइन है भन्ने चेतना फैलाउनु जरुरी छ । यो किटाणुको कारणले भएको हो, यसलाई उपचार गरेपछि निको हुन्छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्दैन, डराउनुपर्ने रोग होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ । यसको औषधि छ भन्ने सूचना जनसमुदायसम्म पुर्याउनुपर्छ ।
कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकताका साथ सञ्चालन गर्ने सरकारी नीति जुन छ, यसको कार्यान्वयन कत्तिको भइरहेको छ ?
नीति नै प्रभावकारी नभएको होइन, नीति प्रभावकारी छ र नीति अनुसार थुप्रै क्रियाकलापहरु भएको पनि छ । उदाहरणका लागि प्रत्येक वर्ष जनवरीको अन्तिम आइतबार यस वर्ष भने जनवरी २६ को दिनमा विश्व कुष्ठरोग दिवस भनेर मनाउने गर्दछौँ । त्यही अनुसार यसवर्ष पनि विश्वभर यो दिवस मनाउँदैछौ । दिवस मनाउनु भनेको पनि एउटा चेतना जगाउनु हो र यो सम्बन्धमा रहेका नकारात्मक भावनाहरूलाई हटाएर सकारात्मक कुराहरू जनस्तरसम्म पुर्याउने एउटा उद्देश्य पनि हो । यस हिसाबले कार्यक्रमहरू भएका छन् । तर पहिलाको जस्तो भने भएका छैनन् । किनभने सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने ठाउँमा, सरकारका चुनौतीहरू अरू पनि धेरै भएका कारणले गर्दा यसलाई सरकारको प्राथमिकतामा कम परेको भने महसुस भएको छ ।
यसको न्यूनीकरणको लागि सरकारले चाहिँ के कस्तो पहलकदमीहरू लिइरहेको छ?
सरकारले गरेका धेरै कार्यक्रममध्ये एउटा जनचेतना वृद्धि गर्ने कार्यक्रम हो । तर, कुष्ठरोगलाई न्यूनीकरण गर्ने सरकारका धेरै कार्यक्रम छन् । उदाहरणका लागि हामी सक्रियरूपमा घर–घरमा गएर शङ्कास्पद बिरामीहरूको खोजी गरी पत्ता लगाएर उहाँहरूलाई उपचारको दायरामा ल्याउने गरेका छौँ । यसको लागि तालिम प्राप्त स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविकाहरू परिचालन गर्ने गरेका छौँ । जोखिममा रहेका जिल्लाका पालिका, वडाहरूको घर–घरमा गएर शङ्कास्पद लक्षण छन् कि भनेर पहिचान गर्ने गरेका छौँ ।
दोस्रो भनेको कुष्ठरोग छिट्टै नसरे पनि धेरैजसो के पाइएको छ भने रोग लागेको व्यक्ति हुनुहुन्छ भने उहाँको परिवारमा, छिमेकमा अरू पनि हुन सक्नुहुन्छ, सरेको हुनसक्छ भनेर उहाँको सम्पर्कमा आउनु भएका छरछिमेक र परिवारका अन्य सदस्यको पनि छाला जाँच गर्ने, कुनै लक्षणहरू छन् कि भनेर समयमा नै जाँच गर्ने जस्ता कार्यक्रम पनि सरकारले आफ्नो नीतिमा राखेको छ । र त्यो विद्यमान छ । अर्को भनेको कुष्ठरोगीलाई खुवाइने एउटा औषधि उपलब्ध छ त्यो खुवाएपछि कुष्ठरोग प्रभावित व्यक्तिका छरछिमेक तथा आफन्त उहाँको सम्पर्कमा आउने व्यक्तिलाई खुवाइयो भने त्यो सम्पर्कमा परेका व्यक्तिहरूलाई रोग लाग्ने खतरा ६० प्रतिशतले कम हुन्छ भन्ने कुरा तथ्यांकले देखाएको छ । नेपालका केही जिल्लाहरूमा कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) भन्ने कार्यक्रम लिएर गएका छौ । सोही अनुसार समुदायका व्यक्तिहरूलाई औषधि पनि खुवाएका छौ । यि विविध कार्यक्रमहरू नेपाल सरकारले अहिले आफ्नो नीतिमा राखेर अगाडि बढाइरहेको छ ।
सरकारले नीतिमा त धेरै कार्यक्रमहरू राखेको छ तर कार्यान्वयनमा भने फितलो भइरहेको छ ,खास के कारणले हो ?
ठोस एउटा मात्र पोइन्टभन्दा खेरी चाहिँ कुष्ठरोग एउटा आफैं जटिल किसिमको रोग हो । अरूजस्तो सामान्य किसिमको रोग अथवा रूघाखोकी जस्तो होइन । रूघाखोकी सात दिन औषधि खुवाए निको हुँदै जान्छ यो त्यस्तो होइन । यो रोग परापूर्वकालदेखि नै चलिआएको किन हो भने पनि त्यति सजिलै निवारण नभएरै हो । रोग आफैं जटिल किसिमको हो । यो रोग शरीरमा छिरिसकेपछि शरीरका मेकानिजमहरू परिवर्तन गर्छ । कुष्ठरोगको नेचर अलिकति कम्प्लेक्स छ । तर हाम्रो सक्रियता, घर–घरमा गएर रोग पत्ता लगाउने कार्यक्रम नीतिमै छ, त्यो कार्यक्रम ७५३ वटै स्थानीय तहमा पुग्न सकेको छैन । एक वर्ष पुग्ने अर्को बर्ष नपुग्ने समस्याहरू छन् । धेरै नै ग्यापहरू छन् । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रुपमा घोषणा गरेर सुरु गरेको जुन कार्यक्रम थियो त्यो अनुसार घट्दै जानुपर्ने हो । अहिले २०३० सम्ममा शून्यमा पुर्याउने लक्ष्य छ । तर, त्यसअनुसारको ग्राफ घटिरहेको छैन । त्यसैले अलिक सक्रिय रुपमा हामीले कार्यक्रमहरू अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ ।
सरकार अथवा राजनीतिक फेरबदलले कार्यक्रम तथा नीतिको कार्यान्वयनमा प्रभाव पारेको छ कि ?
यस्ता कार्यक्रमलाई सरकार अथवा राजनीतिक फेरबदलले त्यति प्रभाव पार्दैन । तर ति बाहेकका अरू प्राकृतिक चुनौतीहरू छन् । जसमा बाढी गयो, कोरोना आयो, अरू डिजास्टरहरू आए, त्यसो हुँदाखेरी सरकारको प्राथमिकता र सरकारका कार्यक्रमहरू कुष्ठरोगभन्दा नि प्राकृतिक विपत्तितिर फोकस हुने भए । कुष्ठरोगका रेगुलर कार्यक्रम हुन्छन् ति सरकारको प्राथमिकतामा परेनन् । प्राकृतिक विपत्ति लगायत अरू चुनौतीहरू छन् ।
विश्व कुष्ठरोग दिवस कहिलेदेखि र कसरी मनाउन सुरु गरिएको हो ?
१३ माघमा ७२ औँ कुष्ठरोग दिवस मनाइरहेका छौँ । यसको अर्थ विगत ७२ वर्षदेखि विश्वभरी कुष्ठरोग दिवस मनाइँदै आइराखिएको छ । यसले कुष्ठरोगसम्बन्धी जुन नकारात्मक भावनाहरू छन् त्यसलाई हटाउँदै जाने, जनमानसमा यसको सही सन्देश पुर्याउने उद्देश्यले विश्वभर नै दिवस मनाइँदै आएको हो । सोहीअनुसार नेपालमा पनि भव्यरूपमा दिवस मनाउँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।