logo-img

आईएल टी–२० मा दीपेन्द्र र कुशल कहिले पाउलान् डेब्यू ? [भिडियोसहित]

दीपेन्द्र सिंह ऐरी हाल आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा छन् । उनी वरीयतामा कयौँ विश्व चर्चित क्रिकेटरभन्दा माथि छन् । आइसिसी वरीयतामा एसोसियट क्रिकेटरले हासिल गरेको यो उपलब्धि दुर्लभ मानिन्छ । 

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेकाले दीपेन्द्रले टी–२० आई र्‍याङ्किङमा दोस्रो स्थान हासिल गरेका हुन् । यतिका बाबजुद पनि यूएईमा जारी इन्टरनेशनल लिग टी–२० अर्थात् आईएल टी–२० मा भने यिनै स्टार अलराउन्डर ऐरी लगातार बेन्चमा सीमित छन् । 

उनीसम्मिलित गल्फ जायन्ट्सले ६ म्याच खेलिसकेको छ । र, गल्फको प्रदर्शन पनि त्यति सन्तोषजनक छैन । तर, पनि दीपेन्द्र प्लेइङ–११ को हिस्सा बन्न सकिरहेका छैनन् ।   



उनी गत सिजनको आईएल टी–२० देखि नै गल्फमा आबद्ध छन् । दीपेन्द्र गत संस्करणमा अन्तिमतिरका खेलका लागि गल्फमा जोडिएका थिए । नेपालमा आइसिसी विश्वकप लिग–२ को महत्वपूर्ण खेल गुमाएर आईएल टी–२० मा जोडिए पनि उनले डेब्यूको मौका भने पाएनन् । र, यसपालि पनि उनले यस लिगमा एउटा खेल पनि खेल्न नपाउने हुन् कि भन्ने आशंका उब्जिएको छ । किनकी गल्फले ६ म्याच खेल्दासम्म चार खेलमा हार बेहोरिसकेको छ । तर, दीपेन्द्रलाई डेब्यू गराउने संकेत देखिएको छैन ।  



उनलाई गल्फले ‘वाटर ब्वाइ’ मात्र बनाएपछि नेपाली क्रिकेट समर्थकले गल्फ जायन्ट्सका टिम प्रशिक्षक र व्यवस्थापनको आलोचना गरिरहेका छन् । र, उनीहरूले सामाजिक सञ्जालमा दीपेन्द्र प्लेइङ–११ मा नपर्नुको कारण माग गरिरहेका छन् । 

‘दीपेन्द्र प्लेइङ–११ डिजर्भ गर्छन्’ 



विश्व अलराउन्डर वरीयताको दोस्रो नम्बरमा रहेका ऐरी आखिर किन आईएल टी–२० मा टिमको रोजाइमा पर्न सकिरहेका छैनन् होला त ? पूर्वक्रिकेटर दीपेन्द्र चौधरी गल्फ जायन्ट्सको टिममा स्टार खेलाडीको संख्या बढी हुनु, प्रशिक्षकको रणनीति, एसोसियट खेलाडीका लागि छुट्याएको कोटा कम हुनुलगायत कारणले दीपेन्द्रले हालसम्म आईएल टी–२० मा डेब्यूको मौका नपाएको हुन सक्ने बताउँछन् ।    

‘गल्फको प्रदर्शन हेर्ने हो भने दीपेन्द्र प्लेइङ–११ मा पर्नुपर्ने हो । किनभने गल्फले राम्रो नतिजा निकालिरहेको छैन । दीपेन्द्र प्लेइङ–११ मा डिजर्भ गर्छन् । तर, प्रशिक्षकको आफ्नो रणनीति हुन्छ । कुनै पनि प्रशिक्षक टिममा धेरै परिवर्तन गर्न चाहँदैनन् । गल्फमा एन्डी फ्लावरजस्ता अनुभवी प्रशिक्षक छन्, उनले पक्कै पनि केही फरक रणनीति बनाएका हुन सक्छन्,’ चौधरीले फरकधारसँग भने, ‘आईएल टी–२० मा कयौँ चर्चित खेलाडी छन् । उनीहरू अनुभवी पनि छन् । सोही कारण पनि दीपेन्द्रलाई टिमले डेब्यूका लागि पर्खाएको हुनसक्छ ।’ 

क्यानको खेलाडी छनोट समितिको संयोजक भइसकेका चौधरीका अनुसार छिटो डेब्यूको मौका नपाए पनि नेपाली खेलाडीले विदेशी लिगबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् ।

‘आईएल टी–२० मा दीपेन्द्र र कुशलआबद्ध टिममा विश्व चर्चित क्रिकेटर छन् । सुरुवातदेखि नै खेल्न नपाए पनि हाम्रा खेलाडीले उनीहरूबाट धेरै कुरा सिक्न सक्छन् । स्टार खेलाडीसँगको घुलमिलले दीपेन्द्र र कुशलले टिमलाई कसरी अगाडि लैजाने, खेल जिताउन कस्तो प्रकारको रणनीति बनाउनेलगायत कुराहरूको ज्ञान बढ्छ,’ चौधरीले भने ।  

आईएल टी–२० मा कुनै पनि टिमले ९ जनासम्म विदेशी खेलाडीलाई प्लेइङ–११ मा राख्न पाउने नियम छ । यस्तै, टिमले घरेलुसहित दुई जनासम्म एसोसियट प्लेयरलाई राख्न पाउँछन् ।

अहिले गल्फले एसोसियट प्लेयरको रूपमा प्लेइङ–११ मा राखेका खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले पनि दीपेन्द्रले आईएल टी–२० मा डेब्यू गर्न पाइरहेका छैनन् । यस्तै, अर्का अलराउन्डर कुशल मल्ल पनि यस लिगमा डेब्यूको पर्खाइमा छन् । उनी डेजर्ट भाइपर्समा आबद्ध छन् । 

कुशलसम्मिलित टिम तीन खेलअगावै प्लेअफमा प्रवेश गरिसकेको छ । र, अब बाँकी खेलमा डेजर्टले प्लेइङ–११ मा नयाँ खेलाडीलाई मौका दिन सक्छ । त्यसो भएमा कुशलले यही सिजनमा आईएल टी–२० मा डेब्यू गर्न सक्छन् ।

उता दीपेन्द्रआबद्ध गल्फ भने प्लेअफमा पुग्न हरेक खेल जित्नैपर्ने दबाबमा छ । उसले ६ म्याच खेल्दासम्म चार अंक मात्र जोडेको छ ।

गल्फले अब लिग चरणमा चारवटा म्याच खेल्न बाँकी छ । उसले आफ्नो सातौं खेलमा शारजाह वारियर्सको सामना गर्दैछ । यस्तै, डेजर्टले आफ्नो आठौँ खेलमा सोमबार एमआई इमिरेट्ससँग खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : माघ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया