नेकपा (एमाले) मा कुनै बेला वामदेव गौतमको रजगज थियो । तिनै वामदेवले अचानक १८ भदौ ०७८ मा एमाले पार्टीमा नरहने घोषणा गरे । अर्थात् उनले पूर्णरूपमा पार्टी परित्याग गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण आफू आजित भएको भन्दै उनले उपाध्यक्षलगायत सबै जिम्मेवारीबाट राजीनामा दिए । उनले एमाले छाडेको यो पहिलोपटक भने होइन । करिब २७ वर्ष पहिले आफ्नै नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन गरे । तर, चार वर्षपछि पुनः एमालेमै फर्किएका थिए ।
त्यसबेला एमाले छाड्नेक्रममा वामदेवले पार्टी नेतृत्वमाथि महाकाली सन्धिमा राष्ट्रघात गरेको आरोप लगाएका थिए । त्यो सन्धि अनुमोदनका क्रममा सुरु भएको विवाद अन्ततः नेपालगञ्ज (छैटाैँ) महाधिवेशनमा पुगेर विभाजनमा टुंगिएको थियो ।
२०५४ सालमा एमाले छाडेर माले गठन गर्दा वामदेवले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीलगायत प्रमुख सबै नेतासँग सम्बन्ध तोडेका थिए । दोस्रो पटक राजीनामा दिने क्रममा तत्कालीन उपाध्यक्ष गौतमले पार्टी अध्यक्ष ओलीलाई विभिन्न आरोप लगाएर पार्टीबाट बाहिरिएका थिए ।
०७८ सालमा नेकपाबाट एमाले र माओवादी छुट्टाछुट्टै भएपछि वामदेवले यी दुवैलाई रोजेनन् । बरु कम्युनिष्ट पार्टीलाई एक बनाउने भन्दै राष्ट्रिय एकता अभियानमा जुटे । तर, यस अभियानमार्फत उँभो लाग्ने छाँटकाँट नदेखेपछि वामदेव एमालेदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस), माओवादीदेखि अन्य साना घटकसँग संवादमा जुटे । तर, जहाँ गए पनि उनलाई स्वागत गर्ने अवस्था भने बन्न सकेन ।
वामदेवले एमालेमा फर्किन यसअघि पनि बल नगरेका होइनन् । तर, ओलीले कुनै चासो देखाएका थिएनन् । वामदेवले माफी माग्दासमेत उनलाई भित्र्याउन ओली तयार भएनन् । यसबीचमा एमाले फुटाएर ‘एकीकृत समाजवादी पार्टी’ बनाएका माधवकुमार नेपालसँग मिल्न वामदेवले निरन्तर प्रयास गरिरहेका थिए । वामदेव एकीकृत समाजवादी पार्टीमा जाने पक्कापक्की जस्तै भइसकेको थियो ।
उनलाई पार्टीमा भित्र्याउन पार्टीका अध्यक्ष माधवकुमार नेपालले हर सम्भव प्रयास पनि गरेका थिए । तर, पुस २१–२३ सम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ‘पार्टी छाडेकालाई स्वागतका लागि ढोका खोल्ने’ निर्णय गरेसँगै वामदेवलाई पुनः एमालेमै फर्किने अवसर प्राप्त भयो । सोही अवसरको सदुपयोग गर्दै वामदेव माधव नेपाललाई धोका दिएर एमालेमा फर्किन तम्तयार भएका बसेका छन् । एमालेमा फर्किन खुट्टा उचालिसकेका वामदेवलाई एमालेले कहिले स्वागत गर्छ भन्ने कुराको भने कुनै टुङ्गो लागिसकेको छैन ।
अस्थिर चरित्रका वामदेव
वामदेव एमालेमा प्रवेश गर्न आतुर देखिए पनि पार्टी भने उनलाई स्वागत गर्न हिच्किच्याएको छ । मंगलबार (८ माघ) मा बसेको एमाले सचिवालय बैठकले गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । तर, उनलाई कहिले एमालेमा भित्र्याउने भन्ने विषयमा भने एमालेले अहिले नै टुंगो लगाइसकेको भने छैन ।
‘अहिले सहकार्य गर्दै जाने भन्ने मात्र निर्णय भएको छ । छलफलकै क्रममा रहेकाले कहिले एकता हुने भन्ने टुङ्गो लाग्न सकेको छैन’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्छन् । वामदेवसँग रहेका कसलाई कुन पद दिने भन्नेमा पनि टुङ्गोमा पुग्न नसकेकाले तत्काल राष्ट्रिय एकता अभियानसँग एकता नभएको ज्ञवालीको भनाइ छ ।
एमालेमा जान खुट्टा उचालिसकेका वामदेव सचिवालयको निर्णयपछि फेरि थच्चिएका छन् । तर, हरेस भने खाएका छैनन् । उनी आफूलाई एमालेमा भित्रिसकेको जनाउने गरेका छन् ।
वामदेवको राजनीतिक जीवनलाई हेर्न हो भने उनको राजनीतिक जीवन सधैं उतारचढावमा नै बितेको देखिन्छ । कुनै बेला राजनीतिका जब्बर खेलाडी, विचार र दर्शनमा पनि अब्बल मानिने वामदेवलाई हिजोआज उनको अस्थिर स्वभावले बढी चिनिन थालेका छन् ।
वामदेवका पछिल्ला गतिविधि तथा उनको अस्थिर राजनीतिक स्वभावका कारण उनी यता न उताको भएको भान हुन्छ । उनको अस्थिर चरित्रमा विभिन्न समयमा टीकाटिप्पणी हुने गरेका छन् । वामदेवमा ‘स्थिरता’ शब्दकोषमा खोजेर बिरलै भेटिने शब्द भएको राजनीतिक वृत्तका मानिसहरूले अर्थ्याउने गरेका छन् ।
एमालेमा फर्कने यसपटकको निर्णयअघि वामदेव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर देखिएका थिए । गौतमलाई तेस्रो वरीयता दिएर भित्र्याउने पक्षमा अध्यक्ष नेपाल रहे पनि उनको समूहको सांगठनिक अस्तित्व खासै नरहेको र वामदेवको स्वभावले पनि समस्या पार्नसक्ने विश्लेषणका साथ अन्य नेताहरूले गौतमलाई पार्टीमा भित्र्याउने विषयमा निर्णयमा पुग्नुअघि धेरै विचार गर्नुपर्ने सुझाव दिएका थिए ।
नेकपा बन्नुअघि वामदेव एमालेको वरिष्ठ उपाध्यक्ष थिए । यस हिसाबले एमालेमा समाहित भएपछि गौतमलाई उपल्लो तहकै जिम्मेवारी दिने विषयमा त समस्या नहोला । तर, आफ्नो समूहका अन्य व्यक्तिहरूलाई दिइने जिम्मेवारीका लागि गौतमले के–कस्तो सौदाबाजी गर्छन्, त्यसले भने एमाले सशंकित छ ।
पार्टीमा आएपछि सधैँ बार्गेनिङ गर्ने र गुट बनाएर चर्का कुरा गर्ने प्रवृत्ति रहेकाले वामदेवका विषयमा पार्टी धेरै सकारात्मक नरहेको एमालेका एक नेता बताउँछन् । ‘केही नेताहरूले ‘वामदेव सदस्यमा मात्रै बस्नुहुन्न, फेरि भीम रावलको हालत हुन्छ’ भन्ने कुरा उठाउनु भएको छ । उहाँलाई पार्टीमा भित्र्याउन विधान नै संशोधन गर्नुपर्ने देखिन्छ, अहिले विधान संशोधन गर्न सम्भव छैन,’ ती नेताले भने ।
वामदेवको एकता अभियानको १७–१८ जिल्लामा कमिटी छ । ९१ जनाको केन्द्रीय समिति छ । वामदेवका कतिपय सहयोगी भने वामदेव एमालेमा जाने भएपछि असन्तुष्ट हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘उहाँहरूको जिल्ला कमिटी पनि छ । केन्द्रीय कमिटी पनि छ । यो संरचनागतरूपमा को–को साथीहरूलाई कहाँ–कहाँ सेट गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ एमाले उपमहासचिव ज्ञवाली भन्छन् ।
एमालेभित्र वामदेवको पुनरागमनलाई विभिन्न कोणबाट विश्लेषण गरिरहेको अवस्थामा वामदेव फेरि एमालेमा फर्किएर अब पार्टीलाई बलियो बनाउनतिर लाग्ने बताइरहेका छन् । जे भने पनि उनको राजनीतिक जीवन भने स्थिर छैन । जीवनमा हार र जितको अनेकन शृङ्खला भोगेका गौतमलाई चिन्नेहरू उनको अस्थिर राजनीतिबारे धेरै चर्चा गरिरहन्छन् ।
राजनीतिक विश्लेषक झलक सुवेदी वामदेवको पहिल्यैदेखि अस्थिर स्वभाव रहेको जनाउँछन् । उनी भन्छन्, ‘उनी पहिलेदेखि अस्थिर प्रवृत्तिका व्यक्ति हुन् । कहिल्यै स्थिर हुन सकेनन् । कहाँ गएपछि के पाइन्छ भन्दै बार्गेनिङ गर्ने र कुरा नमिले टाढा भइहाल्ने खालका हुन् ।’
अहिले वामदेव किन पुनः एमालेमै फर्किए भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा परिचर्चा भइरहँदा विश्लेषक सुवेदी भने बाहिर हुँदा केही नपाउने देखेपछि वामदेव पुनः एमालेमै फर्किएको बताउँछन् ।
‘बाहिर बसेर केही पनि प्राप्त भएन होला । रहर पनि मर्यो होला । बरु एमालेमै जानु ठीक छ भनेर फेरि फर्किएका हुन्,’ विश्लेषक सुवेदीले भने ।
तीनपटक उपप्रधानसहित गृहमन्त्री
२००६ असारमा प्यूठानमा जन्मिएका वामदेव तीनपटक उपप्रधानसहित गृहमन्त्री भएका छन् । उनी तीन पटक मन्त्रिपरिषदमा सामेल हुँदा सधैं उपप्रधानसहित गृहमन्त्री मात्रै भए । लोकेन्द्रबहादुर चन्द (२०५३), पुष्पकमल दाहाल (२०६५) र सुशील कोइराला (२०७०) नेतृत्वको सरकारमा उपप्रधानसहित उनले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
संसद्/संविधानसभाका लागि भएका ६ निर्वाचनमध्ये गौतम तीन निर्वाचनमा पराजित भए भने तीनपटक निर्वाचित भए । २०४८ र २०५१ सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै ठाउँबाट निर्वाचित भएका थिए । तर, २०५६, २०६४ र २०७४ का निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए । पछिल्लोपटक उनी मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने कोटामा राष्ट्रियसभा सदस्य छन् ।
वर्षले ७६औँ वसन्तमा हिँडिरहेका वामदेवले राजनीतिक मोह भने त्यागिसकेको अवस्था छैन । उनको राजनीतिक मोहलाई एमालेले कुन स्थान दिएर भित्र्याउँछ भन्ने कुरालाई धेरैले चासोको रूपमा हेरिरहेका छन् । अर्कोतर्फ तत्काल एमाले पार्टीमा प्रवेश नपाइसकेको अवस्थामा वामदेवले पुनः स्वभाव परिवर्तन गर्न समय नलगाउलान् भन्न पनि नसकिने धेरैको आकलन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।