logo-img

६ महिनापछि मैदान फर्कँदै महिला क्रिकेट टिम, कति बलियो छन् प्रतिद्वन्द्वी ? [भिडियोसहित]

राष्ट्रिय महिला क्रिकेट टिमले पछिल्लो ६ महिनायता प्रतियोगिता खेल्न पाएको छैन । नेपालले अन्तिमपटक २३ जुलाई २०२४ मा श्रीलंकामा आयोजित एसिया कपअन्तर्गत भारतविरुद्ध खेलेको थियो । त्यसपछि सिनियर महिला टिमले प्रतियोगिता पाएन ।  

साथै, महिला खेलाडीले पर्याप्त घरेलु प्रतियोगिता पनि खेल्न पाएनन् । डोमेस्टिक टुर्नामेन्टको रूपमा महिला खेलाडीले ६ महिनाको अवधिमा केही दिनअघि धनगढीमा प्रधानमन्त्री कप टी–२० प्रतियोगिता खेले ।

सोही प्रतियोगितामा गरेको अभ्यासकै भरमा नेपालले यही ३० माघदेखि घरेलु मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । नेपाली महिला टिम पहिलोपटक टियू मैदानमा यी दुई टिमविरुद्ध अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । 



कति बलियो छन्, प्रतिद्वन्द्वी ? 

तुलनात्मकरूपमा महिला क्रिकेटमा नेदरल्याण्ड्स र थाइल्याण्ड नेपालभन्दा बलियो टिम हुन् । आइसिसी टी–२० वरीयताकै कुरा गर्दा पनि यी दुई टोली नेपालभन्दा अगाडि छन् । ताजा वरीयतामा थाइल्याण्ड १३ औँ, नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छ । 

त्यस्तै, थाइल्याण्ड र नेदरल्याण्ड्स ओडिआई मान्यता प्राप्त टिम पनि हुन् । हाल आइसिसीको ओडिआई वरीयतामा थाइल्याण्ड नवौँ र नेदरल्याण्ड्स १३ औँ स्थानमा छ । नेदरल्याण्ड्सको महिला टिमले सन् २००७ मा टेस्ट मान्यतासमेत प्राप्त गरेको थियो ।



यद्यपि उसले त्यो उपलब्धि लामो समयसम्म जोगाउन सकेन । यस्तै, नेदरल्याण्ड्सले चारपटक एकदिवसीय महिला विश्वकप खेलेको छ । उसले सन् २००० यता भने विश्वकपमा स्थान बनाउन सकेको छैन ।  

यस्तै, नेदरल्याण्ड्स टी–२० महिला विश्वकपमा छनोट हुन बाँकी छ । थाइल्याण्डले भने एकपटक यो फर्म्याटको विश्वकप खेलिसकेको छ । उसले सन् २०२० को टी–२० विश्वकप खेलेको थियो । नेपाली महिला टिम भने हालसम्म विश्वकपमा छनोट हुन सकेको छैन । 

थाइल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध नेपालको विगत 

पुरुष क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध पटक–पटक प्रतिस्पर्धा गरिसकेको नेपालले महिला टिमविरुद्ध भने हालसम्म खेलेको छैन । यी दुई टोली यसपालि भने पहिलोपटक आमनेसामने हुने छन् । पहिलो भेटमै नेदरल्याण्ड्सविरुद्ध नेपाललाई इतिहास रच्ने मौका छ ।

थाइल्याण्डविरुद्ध भने नेपाली महिला टिमले यसअघि नै खेलिसकेको छ । हालसम्म यी दुई टोलीले तीन खेलमा एकअर्काको सामना गरेका छन्, जहाँ थाइल्याण्ड तीनवटै खेलमा विजयी भएको विगत छ ।

यी दुई टिमबीचको पहिलो भेट सन् २०१९ मा भएको थियो । उक्त विश्वकप क्वालिफायर खेलमा थाइल्याण्डविरुद्ध नेपाल ७० रनले पराजित भयो । यस्तै, सोही प्रतियोगिताको अर्को खेलमा नेपालले थाइल्याण्डसँग ५७ रनको हार बेहोर्‍यो ।  

नेपालले थाइल्याण्डविरुद्ध तेस्रो खेल सन् २०२३ मा खेलेको थियो । उक्त विश्वकप छनोट खेलमा थाइल्याण्डसँग नेपाल ४६ रनले पराजित भयो । त्यस खेलमा थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.३ ओभरमा ५९ रनमै अलआउट भयो । 

थाइल्याण्डसँग हारको ह्याट्रिक गरिसकेको नेपालले यसपटक आफ्नो पराजय यात्रामा पूर्णविराम लगाउन चाहन्छ । घरेलु मैदानमा खेल्न लागेकाले पनि नेपाललाई यसपालि थाइल्याण्डविरुद्ध पहिलो जित दर्ता गर्ने मौका छ । 

कसरी चुनिने छ विजेता ? 

आसन्न त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले एकअर्काविरुद्ध तीन/तीनवटा म्याच खेल्ने छन् । लिग चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम विजेता बन्नेछ । 

त्रिवि ग्राउन्ड, फाइल तस्बिर

सिरिजमा नेपालले माघ १७, २० र २३ गते नेदरल्याण्ड्स तथा माघ १९, २२ र २५ गते थाइल्याण्डसँग खेल्ने तालिका छ । श्रृंखलाका लागि नेपालले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ ।  

नेपाली टोली : इन्दु बर्मा (कप्तान), विन्दु रावल, सीता राना मगर, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव, रेवती धामी र ईश्वरी विष्ट ।   

थाइल्याण्डको टोली : नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, चानिदा सुत्थीरुआंग, नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाथाकन चान्थम, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, नान्नाफाट चैहान, फन्नीता माया र सुनिदा चतुरोंगरत्न ।

नेदरल्याण्ड्सको टिम : बाबेते डे लिडे (कप्तान), स्टेर कालिस, हाना लान्धीर, कार्लिन भान कूलविक, कारोलिन डे लाङ, इभा लिन्च, फेबे मोलकेनबर, फ्रेडेरिक ओभरजिक, मायर्थे मान डेन राड, रोबिन रिके, हिथर सिगर्स, सिल्भर सिगर्स, इसाबेल भान डेर वोनिङ र इरिस ज्विलिङ ।

  • प्रकाशित मिति : माघ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया