नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्टसहित आठौँ नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते ५ दिन सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले व्यापार मेला गर्न लागेको हो । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिएका छन् ।
विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य बस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू, अटो मोबाइल, इलेकट्रोनिक्स, घरेलु उपकरण, रसद, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन, खाना र दुग्ध उत्पादनहरू आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित बस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।
चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वर्ल्ड लिङ्क तथा एजुकेसन पार्टनरका रूपमा सफ्टवेरिका कलेज, सनवे कलेज रहेका छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।