राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् । मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानुन, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो समय आम नागरिकहरूमाथि जसले प्रश्न गर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’
उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भीर उलङ्घन भएको बताइन्।
यसै गरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्य शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन समेत बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।