इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा घरेलु टिम भारत २६ रनले पराजित भएको छ । गएराति सम्पन्न यस खेलमा १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
उसका लागि हार्दिक पाण्ड्याले ३५ बलमा दुई छक्का र एक चौकासहित सर्वाधिक ४० रन बनाए । यस्तै, अभिषेक शर्माले २४, तिलक बर्माले १८, अक्षर पटेलले १५ तथा कप्तान सूर्यकुमार यादवले १४ रन जोडे ।
इङ्ग्ल्याण्डका लागि जेमी ओभरटर्नले तीन, बायडेन कार्स र जोफ्रा आर्चरले दुई/दुई तथा मार्क वुड र आदिल राशिदले एक/एक विकेट लिए ।
त्यसअघि राजकोटस्थित सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि ओपनर बेन डकेटले अर्धशतकीय पारी खेले । उनले २८ बलमा सात चौका र दुई छक्कासहित ५१ रनको पारी खेलेका हुन् ।
यस्तै, लियाम लिभिङ्स्टोनले ४३, कप्तान जोस बटलरले २४, आदिल राशिद र मार्क वुडले अविजित १० रन बनाए । भारतका लागि वरुण चक्रवर्तीले ४ ओभरमा २४ रन खर्चिएर सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै, हार्दिक पाण्ड्याले दुई, रवि बिश्नोइ र अक्षर पटेलले एक/एक विकेट हात पारे ।
यो जितपछि पाँच खेलको सिरिज जित्ने इंग्ल्याण्डको सम्भावना जीवितै रहेको छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः सात र दुई विकेटले पराजित भएको थियो । भारत र इंग्ल्याण्डबीचको चौथो टी–२० शुक्रबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।