logo-img

सच्चा सहिदको पहिचान भएन

रितबहादुर खड्का ‘प्रताप’ २०३८ सालबाटै वामपन्थी राजनीतिमा होमिए । उनी पछि माओवादीको केन्द्रीय समिति सदस्य पनि बने । खड्का माओवादीको २०५७ सालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भए । केन्द्रीय समितिको बैठक सकेर फर्किनेक्रममा उनको २ असार २०५९ मा रौतहटमा हत्या भयो ।

खड्काको हत्यापछि परिवार विभिन्न अभावबाट गुज्रियो । परिवारका मुख्य सदस्य गुमाउँदाको पीडा त खड्का परिवारलाई छँदैछ, त्योभन्दा बढी पीडा माओवादीले लडेको युद्धले खासै परिवर्तन नल्याएकोमा छ । खड्काकी श्रीमती इन्दिरा राज्यसँग यसरी गुनासो पोख्छिन् : 

लडाइमा हिँडेको छु, कि त मुक्ति, कि मृत्यु हुनसक्छ त्यसमा तिमीले आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । भोलि तिमी सहिद परिवार पनि हुनसक्छौँ । यसो भनिरहँदा मलाई एकदमै कहालीलाग्दो हुन्थ्यो । तर, उहाँलाई ढुक्कका साथ भन्थें– कि त मुक्ति, कि त मृत्यु ।

अहिले ति दिन सम्झिँदा उदेकलाग्छ । आफूलाई सम्हाल्न धेरै नै गाह्रो हुन्छ । त्यो दिन नै मेरो लागि सबैभन्दा कालो दिन हो, जुन दिन मेरो जीवनसाथी सहिद हुनुभयो भन्ने शब्द कानमा गुन्जियो । त्यसबेला म बेहोस भएछु । ४८ घण्टासम्म बेहोस भएछु । जब होसमा आए तब पार्टीका मान्छेहरू आउनु भएको रहेछ । जब उनीहरूले मलाई सम्झाउन खोजे तर पनि म सम्हालिन सकिन । उहाँको कुराहरू कुरा दिमागमा आयो– ‘या त मुक्ति या त मृत्यु भएर सहिद हुन्छु ।’ तब मैले आफूलाई  सम्हाल्न खोजे ।  



गाउँघरमा पहिला पहिला त छिमेकीले फलानो चोर हो, ढाँट्न हिँडेको भन्ने । माओवादी यस्तै हुन्छ भन्थे । तर, अलिकति बुझ्दै गएपछि राम्रो मान्छे रहेछ भन्न थाले । राम्रो गर्न हिँडेको र देश परिवर्तनका लागि हिँडेको भनेर जनयुद्धकै बेला भन्न थालियो । कुनै सौतेलो व्यवहार गर्दै दाजुभाइलाई अंश नदिएर र कान्छीतिरकाले राम्रोराम्रो रोजेर घरजग्गा ओगटिरहेको र जेठी पट्टीकालाई अन्याय भइरहँदा न्याय दिलाउने काम गर्नुहुन्थ्यो । धेरै काम गर्दागर्दै उहाँ अन्ततः सहिद हुनुपर्‍यो । समाजमा सहिद परिवार भएर जीवनयापन गर्न धेरै गाह्रो भइरहेको छ ।  किनभने एक त आफूले अभिभावक गुमाउनुपर्यो । जसरी रथको दुई पाग्रामा एउटा पांग्रा नहुँदा रथ चल्दैन ।  त्यस्तै नै मेरो पनि उमेर कच्चा थियो । जसमा दुधे बच्चा र अर्को आठ वर्षको बच्चा हुर्काउने जिम्मेवारी थियो । त्यस्तो बेलामा एक्लै संघर्ष गरेर जिविकोपार्जन गर्न  धेरै नै गाह्रो भएको थियो ।   

उहाँले मेरो माइतीतिर पनि गएर छोरा भने पनि छोरी भने पनि इन्दिरा मात्र हो । म छोरा हुँ, ज्वाइँ नभन्नु भनेर बुझाउनुभएको थियो । सँगै लगेर राख्छु भनेर उहाँले मेरो आमालाई पनि सँगै राख्नुभएको थियो । घर परिवारको राम्रो सहयोग पाएको थिएँ । तर, समाजको कुरा गर्दा उसको श्रीमान् छैन भनेर नराम्रो दृष्टिले हेर्ने गर्थे । कोही बुझेकाले बाहेक अरूले राम्रो सोचेका थिएनन् । तर आफ्नो महान शहीदको सपना पूरा गर्छु, उहाँकै नाममा जीवनयापन गर्छु भनेर कलिला छोराछोरी लिएर अहिलेसम्म बाँचिरहेको छु ।  



राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका सहिदलाई द्वन्द्व पीडित भनेर सहिद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महसुस गर्छु । देशका लागि भनेर आफ्नो जीवन दिनुभयो । तर, उहाँलाई द्वन्द्वपीडित भनेर केही राहत मात्र दिइयो । त्यो लिनेक्रममा मलाई धेरै दुःख लाग्यो । बरु म दुःख गरेर भए पनि मेरो बच्चाहरू पढाउँछु, राज्यबाट पैसा लिन्न भनेर एकदमै रोए । पहिला अलिअलि आर्थिकरूपमा सहयोग गरेको थियो । तर, अहिले त्यस्तो केही पनि छैन । 

मेरो अपेक्षा के छ भने नगद नदिए पनि जति सहिद परिवारको बालबच्चा छन्, आमाबुबा हुनुहुन्छ भने उहाँहरूलाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने हो भने उनीहरूलाई बाँच्ने आधार हुन्थ्यो । राज्यले यतिसम्म गरेको भए हुन्थ्यो भन्ने अपेक्षा राखेको छु । जसले देश र दुनियाँ परिवर्तन गर्न आफ्नो जीवन बलिदान दिनुभयो । उहाँलाई राज्यले एउटा द्वन्द्व पीडितको रूपमा हेर्‍यो । जो आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा कुनै आन्दोलनमा जाँदा मृत्यु भयो भने उसलाई सहिद घोषणा गर्ने काम भयो । त्यसमा छानबिन भएन भन्ने लाग्छ । यसले गर्दा वास्तविक सहिदको पहिचान भएन जस्तो लाग्छ । 



उहाँको व्यक्तिगत आनीबानी पनि अलिक पृथक थियो । परिवारमा जति नै दुःख भए पनि हँसाउने, कथा, कविता सुनाएर मन भुल्याउने बानी थियो । सबैलाई खुसी पार्न चाहनुहुन्थ्यो । पहिले पहिले मैले पनि बुझिन । सधैँ छाडेर हिँड्दा दुःख लाग्थ्यो तर विस्तारै बुझ्दै गएँ । उहाँ जनयुद्धका लागि हिँड्दा धेरै दुःख भने भयो । प्रमुख कुरा राज्यका मान्छेहरूले धेरै दुख दिने गर्थे । सेनाले आएर घरमा राखेको चामल, खोरमा बाँधेका खसीबोका खाइदिन्थे । दिनहुँ यस्तो भएपछि म घरमा बस्दिन भनेर घुर्की लगाउँथे । तर, उहाँले बन्दुक बोकेर हिँड भन्नुहुन्थ्यो । तर, म सक्दिन थिए । यता र उताबाट पेल्छ अनि कहाँ गएर मार्दिन्छ भनेर डर लाग्थ्यो ।  

जति उहाँहरू बलिदान दिनुभयो, जीवन उत्सर्ग गर्नुभयो । त्यसको तुलनामा राज्यको तर्फबाट त्यस्तो खासै केही भएन । किनभने आफ्नो व्यक्तिगत स्वार्थको लागि हिँड्नुभएको थिएन नि ।  उहाँहरू श्रीमती, छोराछोरी पाल्छु, धेरै कमाउँछु भनेर हिँड्नु भएको होइन नि । देशको मुक्तिको खाँतिर केही गर्छु भनेर हिँड्नुभएको हो । तर, केही पाउनु भएन नि ।

राज्यसत्ताबाट उहाँको हत्या भयो । रौतहटमा त्यो घटना भएको ठाउँमा पनि गए हेरेँ । उहाँलाई लखेट्दै लगेर मारेको ठाउँ पुगेर आए । उहाँको सम्मानलाई राज्य सत्ताले पूरा गर्न सकेको छैन । उहाँले गर्न खोजेको कुरा पार्टीले पनि गरेन । म पार्टीलाई एउटा खबरदारी के गर्छु भने उहाँ त महान सहिद हुनुभयो । तर, जति बाँचेकाहरू छौँ, उहाँहरूको संरक्षण त पार्टीले गर्नुपर्ने होइन र ? उहाँ जीवित हुँदासम्म उहाँले गर्नुभयो । आजका दिनमा अग्नि सापकोटाले बोलेका शब्दहरू सम्झिरहेको छु । सापकोटालाई देख्दा भक्कानिन्छु  ।

माओवादीको सरकार आएपछि खास महान सहिद को हो भनेर छानबिन हुन्थ्यो भन्ने लागेको थियो । सबैलाई सहिद भनेर घोषणा गर्नुभएको तर वास्तविक सहिदको पहिचान हराएको छ । आफ्नो सरकार हुँदा पनि वास्तविक सहिद पहिचान गरिदिएको भए हुने तर त्यो आफ्नै सरकार हुँदा पनि गर्न सकेन । समग्र सहिद परिवारको पक्षबाट बोल्दा केही पनि भएको छैन ।

सबै दुःखी गरिबले जनयुद्ध सुरु गरेर आन्दोलन गरेर आज सत्तासम्म आइपुग्ने माहोल बनाएको किसानकै परिवारबाट हो । त्यसैले जहाँ हुनुहुन्छ, अहिले पनि त्यही ठाउँमा हुनुहुन्छ । कसैले श्रीमान्, कसैले छोराछोरी, कसैले श्रीमती गुमाउनु भएको छ । पढ्न पाउनु भएको छैन । स्वास्थ्य सेवा पाउनु भएको छैन । रोजगारी पाउनु भएको छैन । धेरै सहिद परिवार पीडामा हुनुहुन्छ । 

स्वास्थ्य, शिक्षा र रोजगारीको चाहिँ व्यवस्था गर्दिए हुन्थ्यो भन्ने अपेक्षा छ । वास्तविक सहिद भनेको इतिहासका अजम्मरी सहिद हुन् । उहाँहरू कहिल्यै कहिले पनि मृत हुनुहुन्न । उहाँकाहरूको इतिहासमा कहिल्यै नाम मर्दैन उहाँहरू नै वास्तविक सहिद हुन् । किनकी उहाँहरू देश र जनताको लागि आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो । उहाँहरूलाई राज्यको उचित सम्मान र माया चाहिएको छ । 

  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया