नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरूको स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन् ।
नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरू पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दै छन् । यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।’
उनले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको आवश्यकता रहेको पनि बताए । ‘गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको आवश्यकता हो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउँछ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।