logo-img

योगेश भट्टराई भन्छन्- ताप्लेजुङमा केबलकारको सञ्चालनले कुनै धर्म र आस्थालाई कमजोर पार्ने देखिँदैन
फाइल तस्बिर

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट बन्न नदिइने बताएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए । 

‘निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिँदैन । पवित्र कान्छी थानभन्दा केबलकार करिब २ सय मिटरका दूरीमा रहेको छ,’ भट्टराईले भने, ‘पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेसन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।’

त्यस्तै, उनले ताप्लेजुङबासीको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको पनि बताए । 



‘ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत् आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरू तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौँ । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु,’ सांसद भट्टराईले भने । 

केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गता भएकाका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको उनको भनाइ छ । 



  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया