दक्षिण कोरियाको विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि यात्रुवाहक विमानमा आगलागी भएको छ । जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको त्यहाँको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
विमानका १६९ यात्रु, ६ जना चालक दलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घण्टापछि स्थानीय समयानुसार राति ११:३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ ।
मंगलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि भएको हो । जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबैको निधन भएको थियो । त्यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।