logo-img

लोकतन्त्र अराजकता होइन,  लोकतन्त्रमा विकासलाई अवरोध गर्ने काम स्वीकार्य हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् । 

राष्ट्रिय शहीद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताएका हुन् । 

उनले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे । उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको पनि बताए । 

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरूपमा अघि बढिरहेको जनाए । 



उनले भने, ‘हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरूमा कुनै परिवर्तन गर्नु छ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दै छ । देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी शहीदले देखाएको मार्गमा सधैँ अविचलित रहनेछौँ ।’

सोही कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सहिदहरूको सपना पूरा गर्नु सबैको कर्तव्य भएको भन्दै सहिदहरूले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताए । 

उनले भने, ‘वीर सहिदहरू प्रति उच्च सम्मान प्रकट गर्दै भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । देशको राजनीतिक सामाजिक तथा आर्थिक रूपान्तरणमा सहिदहरूको योगदान अमूल्य छ । लोकतान्त्रिक अधिकार प्राप्त गर्ने यात्रामा हामीले धेरै कठिन मोडहरू प्राप्त गरेका छौ । निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्छैँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आई पुग्दा धेरै सहिदहरूले आफ्नो बलिदान दिनु भएको छ । उहाँहरूको सपना पूरा गर्नु हाम्रो कर्तव्य तसर्थ उहाँहरूले देखाएको बाटोमा अगाडि बढ्दै सुशासन, समृद्धि र स्थायित्वको मार्गलाई सुधार गर्दै जानु हामी सबैको कर्तव्य हो ।’ 



  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया