एक हप्तादेखि तराई मधेस क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन् बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिँदैन । सडक, बजार सुनसान बनेको छ ।
हुस्सुले सबैभन्दा बढी समस्या विमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ । जनकपुरधाम विमानस्थलमा भिजिबिलिटी कम हुनाले न त विमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ । त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन ।
विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमाडौं जान विमानस्थलमा पर्खिरहेका हरिप्रसाद बक्तेलले बताए ।
विमान उड्न १ हजार मिटर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन् । दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसबखत उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिशत उडान कम भएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।