प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।
बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । समिति बैठक बस्न १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्र सांसद उपस्थित भएको समिति सभापति दीपक सिंहले जानकारी दिए ।
उनले दुईजना नपुगेर १ घण्टासम्म कुरे पनि सांसद उपस्थित नभएकाले बैठक स्थगित भएको बताए । शहीद दिवस र सार्वजनिक बिदा भएकाले सांसदहरू बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली काँग्रेसका सांसदहरूले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाइसकेकाले स्थगित गर्न नसकिएको सभापति सिंहले जानकारी दिए ।
उनका अनुसार बैठकमा कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई, जसपाबाट एक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना नै बैठकमा अनुपस्थित रहे ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजना मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयविरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्न मन्त्रीलाई बोलाएको बताए ।
उनले समितिमा कोरम पुर्याउँदा पुग्ने अवस्था भए पनि कांग्रेसका एकजना पनि सांसद बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नु परेको बताए । मन्त्रालयले समितिले कोरम पुर्याउन नसकेको देखाउन कांग्रेसका सांसदलाई उपस्थित नराएको देखिएको सापकोटाको आरोप छ ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।