नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिदहरूको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरी रहेको भन्दै यो असम्भव रहेको बताए ।
उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिँदै छ कि एमाले बर्बादिको कारण हो तर म भन्न चाहन्छु । एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरू किन उठ्दै छ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरु पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रित भएर लागेका छन् । एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ । एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार पाउने छैनन् । यो सम्भव हुने छैन ।’
उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरू बाहिर आएको भन्दै यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भइरहेको बताउँदै त्यसको कुनै अर्थ नभएको बताए । उनले समाज, पार्टी, आन्दोलन सबै ठाउँमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाइ गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरू र नचाहनेहरू कहिले पनि अगुवाइ गर्न नसक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।