विपक्षी चार दलीय समाजवादी मोर्चाले सरकारविरुद्ध खरोरूपमा उत्रिने निर्णय गरेको छ । मोर्चाले यही २४ माघमा काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको हो ।
सरकारसँग चरम असन्तुष्टि व्यक्त गरिरहेका विपक्षीहरूले विचार मिल्ने अन्य पार्टीलाई पनि मोर्चामा ल्याउन अधिकतम पहल गरिरहेका छन् । अहिले मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी छन् ।
सरकारकै कारण देशमा ठूलठूला समस्या देखिएको भन्दै मोर्चाले त्यसका विरुद्ध विशाल जनप्रदर्शन गर्ने बताएको हो । मोर्चाको बुधबार बसेको बैठकले देशमा देखिएका वर्तमान समस्याहरूको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको हो ।
बुधबार समाजवादी मोर्चाको बैठकले गरेको निर्णय सुनाउँदै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘देशमा जुन देखिएका समस्याहरू छन् । यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौँ जनप्रदर्शन सहितको काठमाडौंमा सभा गरौँ भन्ने सम्म आइपुगेका छौँ । चैत्र २४ गते जुन ऐतिहासिक दिन छ । त्यो दिनमा काठमाडौंमा भव्य र शानदार रूपमा सम्पन्न गरौँ भन्नेमा पुगेको छौँ ।’
मोर्चामै रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवका अनुसार चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने निर्णय भएको छ । मधेस प्रदेशको संयोजन गर्ने जिम्मा पनि नेसपालाई दिएको उनले बताए ।
हालै सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेपछि प्रतिपक्षमा रहेकाहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप चिढिएका हुन् । यसैबीच, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरी रहेको भन्दै यो असम्भव रहेको बताए ।
उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिँदै छ कि, एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरू किन उठ्दै छ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरु पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रित भएर लागेका छन् । एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ । एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार पाउने छैनन् । यो सम्भव हुने छैन ।’
प्रचण्ड-माधव नेपाललगायतका नेताहरू र तिनका पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले सरकारका विरुद्ध खरो उत्रिने बताइरहेका बेला एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भविष्यको मार्गचित्र नै नभएका पार्टीहरूको नाटक मञ्चन भइरहेको बताउँदै त्यसको कुनै अर्थ नभएको तर्क गरेका छन् ।
सत्तापक्ष-प्रतिपक्ष यसरी आमनेसामने भइरहेको बेला आउँदो शुक्रबार संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । त्यसमा समेत पार्टीहरूले आ-आफ्नै ‘ढिपी’ गरे तनाव सृजना हुनसक्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।