logo-img

चेम्बर एक्स्पो आजदेखि, आईटी उत्पादन उच्च प्राथमिकतामा

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

एक्स्पो पाँच दिनसम्म चल्नेछ । एक्स्पोको उद्घाटन आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।  

अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवेयर एन्ड एआई प्रोजेक्ट’ सहित नेपाल चेम्बर एक्स्पो हुनेछ । नेपालको आर्थिक गतिविधि बढाउनुका साथै सूचना तथा प्रविधिका क्षेत्रमा भएको नविनतम प्रविधिलाई ‘सोकेस’ गर्नका लागि एक्स्पो महत्वपूर्ण रहने आयोजकको विश्वास छ ।



चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए ।  ‘आर्थिक क्षेत्रलाई चलायमान बनाउन र निजी क्षेत्रलाई थप उत्साही बनाउनमा एक्स्पोले सकारात्मक भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ,’ उनले भने । 

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । यो वर्ष सफ्टवेयर एण्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए । 

चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । 

‘संसारभर सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘नेपालले पनि यो क्षेत्रमा अब प्राथमिकताका साथ काम गर्नुपर्दछ ।’ सूचना तथा प्रविधिका क्षेत्रको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै चेम्बर एक्स्पोमा ‘सफ्टवयर एण्ड एआई प्रोजेक्ट’ सोकेस गर्न लागिएको सभापति श्रेष्ठले बताए ।



बिगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लाइन्सेस, लजिस्टिक, टेक्ट्टाइल, फर्निचर, गार्मेन्ट, लेदर गुड्स, ज्वेलरी, कस्मेटिक, फुड, डेरीलगायत प्रडक्ट प्रदर्शनीमा राखिनेछ । एक्स्पोमा सहभागी दर्शकलाई आकर्षण गर्ने गरी उत्पादन प्रदर्शनीमा राखिने जनाइएको छ ।

त्यस्तै, चेम्बर एक्स्पोमा नेपालसहित बंगलादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ । स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टल एक्स्पोमा राखिने आयोजकले जनाएको छ । 

  • प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया