अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित आइकन को २८ औँ वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरूले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहेका छौँ तर पछिल्ला कतिपय तथ्याङ्कहरूले यो कुरा देखाएको छैन । कर प्रणालीमा सुधारको कुरा गर्छौ र तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौँ । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै कामहरू गर्न बाँकी छ ।’
पुँजी बजारलाई दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चोरीहरूलाई प्रवेश हुन नदिनको लागि आइकनले आफ्नो ठाउँबाट भूमिका खेल्न सक्ने पनि उनको भनाई छ ।
उनले सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरूलाई समाधान गर्नको लागि एकसाथ २९ वटा कानुनहरू संशोधन गर्न लागेको बताए ।
उनले भने, ‘पछिल्लो समय सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरूलाई बिस्तारै समाधान गर्दै अगाडि बढ्न चाहिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षण गर्नको लागि पनि सरकारले प्रयास गरिरहेको छ । एकसाथ २९ वटा कानुन संशोधन गरेर सुशासन र सवा प्रवाहको सन्दर्भमा भएका समस्याहरू समाधान गर्न सरकार अगाडि बढेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।