झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक÷एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच÷पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई÷दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउँछन् ।
जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले बताए । प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा.सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।
‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख उपलब्ध गराउने गरेको छ’, उनले भने, ‘ बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।