घनश्याम चापागाई नेपाली धर्म, संस्कृति एवं चाडपर्वका विषयमा विशेष जानकारी राख्छन् । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको उपमहासचिवसमेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन् । प्रस्तुत छ, सञ्चारकर्मी हुँदै ज्योतिष विज्ञानमा सक्रिय चापागाईसँग बसन्त पञ्चमी एवं सरस्वती पूजा, पूजा विधि र नेपालमा मनाइने तौर-तरिकाका विषयमा केन्द्रित रहेर प्रमिला कार्कीले गरेको कुराकानी :
वसन्त पञ्चमीको महत्व के छ ? तिथि र मितिका हिसाबले कहिले पर्छ ?
विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकैरूपमा बुझिन्छ । तिथि–मितिको हिसाबले भन्नुपर्दा २०८१ सालमा चाहिँ २१ माघको सोमबारका दिन परेको छ । नेपाली समाजमा यो पर्वको विशेष महत्व छ । शिशिर ऋतुको गमन या बिदाइ सँगसँगै बसन्त ऋतुको आगमन हुने दिन भएकाले बसन्त पञ्चमीको विशेष महत्व छ ।
६ वटा ऋतुहरूमध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त ऋतुलाई लिइन्छ । धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई बलवान मानिएको छ । बलवान भएकै कारणले आ–आफ्नो आयु र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन् भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ । यही बसन्त ऋतुबाट चाहिँ नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ ।
वसन्त पञ्चमी माता सरस्वतीको लागि किन महत्वपूर्ण र प्रिय छ ?
बसन्त ऋतुमा अर्थात् बसन्त पञ्चमीकै दिन भगवती सरस्वतीको जन्मदिनको रूप भनेर मानिन्छ । सरस्वतीलाई विद्याकी देवी भनेर पूजनसमेत गरिने नेपाली परम्परा छ । महिलाहरू जम्मा तीन चरित्रका हुन्छन् भनेर व्याख्या गरिन्छ । ती देवीहरूको भक्ति गर्ने भनेको उहाँहरूको गुण अनुशरण गर्नु हो । प्रतिनिधित्व गर्नु वा नक्कल गर्नु भनेको दैवीय अवतारहरूमा प्रवेश गर्यौं भन्ने अर्थ लाग्दछ । महिला तीन चरित्रका भन्नाले एउटी सरस्वती स्वरूपा हुन् । ती महिला भनेका महान ज्ञानी अर्थात् अत्यन्तै ज्ञानी भन्ने अर्थमा बुझिन्छ ।
अर्को लक्ष्मी स्वरूपा भनेको महान धनी महिला भनिएको हो । अर्को भनेको महान बलवानी र पराक्रमी महिला जसलाई चाहिँ हामी नवरात्रमा भगवती महाकाली महाशक्तिको रुपमा पूजा गर्दछौँ अर्थात् दुर्गा भवानीलाई पूजा गर्दछौँ । यि तीन देवीका आफ्नै महत्व छन् । तथापि महिलाले यी तीनवटा गुण आफूमा अनुकरण गर्न सक्नु भनेको सशक्त महिला हुनु हो । जो मान्छे धनी छ, त्यो मूर्ख हुन्छ । जो मान्छे विद्धान छ त्यो मान्छे गरिब हुन्छ ।
धन र विद्या एउटै मान्छेमा प्रशस्त भएको भए त्यो मान्छेले संसार हल्लाउन सक्छ । त्यस्ता नारी र पुरुषहरू संसारमा यदाकदा मात्र छन् । तसर्थ विद्याकी देवी भनेर मानिने बसन्त पञ्चमीको दिन सरस्वती मातालाई सेतो वस्त्र धारण गरेर हाँसमाथि बसेकी, वीणा बजाउने गरेकी, हातमा कलम–पुस्तक लिएकी स्परूपमा व्याख्या गर्छौँ । त्यही नै चिजको विकास हुने दिन र त्यहाँबाट अक्षर आरम्भ गर्ने गरिन्छ । साना बालबालिकाहरूलाई क, ख सिकाउने गरिन्छ । हरेक कुराको आरम्भ गर्दा शुभ दिन सरस्वती पूजालाई मानिन्छ । संगीतकी देवी पनि मानिन्छ ।
बालबालिकालाई अक्षरारम्भ साथसाथै नाक–कान छेडी दिने चलन छ । खास किन यो दिन पवित्र मानिन्छ ?
स्कुलमा भर्ना गर्न बाँकी छ भने त्यो दिन अक्षर आरम्भ गरियो भने जिब्रोमा माता सरस्वतीको बास हुन्छ भन्ने विश्वास छ । घरमा लक्ष्मीको बास होस, आकाशका ३३ कोटी देवता सधैं दाहिना भइदिउन भनेर गुरुहरूले आर्शीवाद दिने गर्छन् । बसन्त पञ्चमीमा अक्षर आरम्भ गराइयो भने बच्चा अत्यन्तै नै सक्रिय हुन्छ भन्ने विश्वास छ । हरेक कुराको साइत हुन्छ । बिना साइत केही काम हुँदैन । बसन्त पञ्चमीको दिन पवित्र दिन भएकाले नाक–कान छेड्दा केही साइत हेर्नु पर्दैन भन्ने विश्वास लिइन्छ ।
हरेक व्यक्तिले बेलुका सुत्नेबेलामा दिनभरीका थकान भए पनि साँझ खुसी भएर सुत्दा बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ । यति मात्र होइन विद्यार्थीलाई विद्या आर्जन गराउनका लागि पनि पाँचवटा लक्षण हुनुपर्छ । ती पाँचवटा लक्षण माता सरस्वतीको जुन बसन्त पञ्चमीका दिन आराधना गरेर पूजाअर्चना गरेर काम गरियो भने पाँचवटा लक्षण प्राप्त हुन्छ ।
सरस्वती पूजा गर्ने प्रचलन कहिले र कसरी सुरु भयो ?
सरस्वती पूजाको थालनी कसरी र कहिले सुरु भयो भनेर भन्न सकिँदैन । तर, जतिबेला हाम्रा धर्म शास्त्रहरू उदय भए वा पुराणहर"मा आदिम कालदेखि नै सरस्वती माताको पूजा गर्न थालियो । त्यही बेलादेखि सरस्वती पूजा गर्न थालिएको हो । वसन्त पञ्चमी माता सरस्वतीको जन्म दिन भनेर उल्लेख गरिएको छ । लेखकहरूले कसैले एउटा मिति दिने र कसैले अर्को मिति दिने गरेको पाइन्छ । तर, वास्तविक यही नै मिति भन्ने छैन । यद्यपि यस ऋतुमा उहाँको आगमन हुन्छ र बसन्त ऋतुमा उहाँको जन्म हुन्छ भनिएकाले त्यहाँदेखि थालिएको हो ।
हिजोआज धर्मकर्म हराउँदै गयो, पूजाआजा मानिसहरूले गर्दैनन् । सरस्वती पूजा मानिसले गर्दैनन्, धर्म संस्कृतिमा लाग्दैनन्, आधुनिक युगमा मानिसहरू नास्तिक बने भनिन्छ । जति मान्छे नास्तिक बन्छ एकदिन त्यसलाई ठक्कर लाग्छ, मानिसले आपत परेपछि समाधानको पाटा खोज्छ । तथापि हामीले विश्वास राख्यौ भने उत्तम फल प्राप्ति हुन्छ । वसन्त पञ्चमीका दिन हामीले प्रयोग गरेका सरसामानमा पनि ख्याल गर्नुपर्छ । अहिले कम्प्युटरको जमाना छ, हात हातमा फोन छ । हाम्रा सामग्रीहरू हरेक चीजहरूको पूजन गर्नु भनेको त्यो चिजप्रति समर्पित छु भनिएको हो । पूजन, भक्ति र भावले लक्ष्य चुम्न सहयोग गरोस् भनेर नै ति चिजको पूजा गरिएको हो ।
पूजाका विधि के–के हुन् ?
माता सरस्वतीको पूजा गर्दा विशेषगरी दियो, कलश, गणेशको पूजा अनिवार्य गर्नैपर्छ । आफ्नो अफिसहरू वा घरमा गर्दा पनि दियो, कलश राखेर गणेशको पूजा गर्नैपर्छ । दायाँ हातपट्टि आसन अथवा पूर्व फर्केर पूजा गर्न बस्नुपर्छ । कर्ताले र आफ्नो दायाँपट्टि दियो बालिन्छ र बीचमा गणेश स्थापना गरिन्छ । त्यसभन्दा पछाडि कलशमा पानी फूल राखेर दीप, कलश र गणेशको पूजा गरिन्छ । लामा लामा मन्त्रहरू हुन्छन्, तीनको उच्चारण गरिन्छ । त्यसपछि गणेशको भन्दा अगाडि सरस्वती माताको मूर्ति वा तस्बिर राख्नुपर्छ । तर, मूर्ति र फोटामा दुईवटा प्रभाव हुन्छन् । फोटा राख्नुहुन्छ भने त्यति आपत्ति रहेन । यदि मूर्ति राख्नुहुन्छ भने प्राण प्रतिष्ठित हुनुपर्छ । बिना प्राण प्रतिष्ठा गरेका मूर्तिहरू अर्थात् बजारबाट किनेर ल्याएर त्यही दिन राखेर पूजा गर्दा त्यसमा शक्ति विस्थापित हुँदैन । त्यसलाई जगाउनुपर्छ ।
एउटा लामो मन्त्र हुन्छ त्यसले विज्ञ गुरुहरूबाट सरस्वतीको प्राण प्रतिष्ठा गर्नुपर्छ । गुरुहरूले जगाइदिनुहुन्छ र त्यो चलायमान भयो भन्ने विश्वास गरिन्छ र मूर्ति पूजा गर्दा विशेष लक्ष्मी प्राप्ति गर्ने र स्थिर सरस्वती प्राप्त गर्न उभिएका मूर्तिहरूभन्दा बसेका मूर्ति किन्दा राम्रो मानिन्छ । त्यसैले माता सरस्वतीको बसेको फोटो, मूर्तिलाई प्राण प्रतिष्ठा गरेर त्यसको विधिवतरूपमा चन्दन, अक्षता फूलपातीले मूर्तिको पूजन गरिन्छ । र पेसासँग सम्बन्धित सामग्रीको पूजा गर्नुपर्छ ।
वर्षभरी नै मेरो पेसा राम्रो होस् भन्दै कामना गर्दै आफ्नो पेसा अनुकूलको सामग्रीको पूजा गर्ने र सकिन्छ भने सरस्वतीको जुन बन्धना स्तुति गाइन्छ, त्यो गाउनु राम्रो हो । माता सरस्वतीले हातमा लिएका विभिन्न साधन छन् । तीमध्ये बुझ्नैपर्ने चाहिँ चारवटा चिजहरू छन् । एउटा हातमा वीणा, अर्को हातमा स्फटिकको माला, अर्को हातमा पुस्तक र अर्को हातमा अभय मुद्रा बोक्नुहुन्छ । त्यसैले हामी माता सरस्वतीको भक्ति गर्ने हो भने यी चिजपनि ल्याएर पूजा गर्नुपर्छ ।
विद्यार्थी नभएपनि विद्या त जन्मदादेखि नै नमरेसम्म आर्जन गर्ने चिज हो । तसर्थ ज्ञान गुण दिने र लिने काम जीवन्त रुपमा चलिराखेको हुन्छ । ती चार चीजको पूजा एवं माता सरस्वतीको पूजा गर्नु राम्रो हो । सकिन्छ भने त्रिकन्या, पञ्चकन्यालाई माल्यार्पण गर्ने, टीकाटालो गरिदिने, मीठो फूल प्रसाद ग्रहण गराइदिने गर्नुपर्छ । र त्यो दिन माछामासु नखाने बेलुका माता सरस्वतीको स्तुति गान गर्ने गर्नुपर्छ ।
पूजा गर्दा मन्त्र चाहिँ के–के उच्चारण गर्नुपर्छ ?
माता भगवतीको स्तुति गर्ने मन्त्र धेरै लामा हुन्छन् । विशेषगरी स्तुति गान गर्नुपर्छ । व्रम्हाकी स्वरूप भएकी भगवती सरस्वतीको १२ वटै स्वरूपलाई एकैपटक नमन गरेर स्तुति गान गाउनुपर्छ ।
युवा पुस्तामा धर्म संस्कृतिको संरक्षण र आस्था कसरी जगाउन सकिएला ?
हामी विदेशी तामझामहरूलाई भित्र्याइरहेका छौँ, आफ्ना पुरातन संस्कृतिहरूलाई बिर्सिँदै गइरहेका छौँ । जन्मदिन मनाउँदाको क्षणलाई नै हेरे पुग्छ । जन्मदिनको दिन त आफ्ना अष्ठ चिरन्जिवीहरूको पूजा गरेर, पाठ गराएर वर्षदिनभरीको समय शुभ रहोस् भनेर कामना गर्नुपर्ने हो । ग्रहहरूको शान्ति गराउने हिजोको जमानामा आज विभिन्न वस्तुहरू मिक्स गरिएका केक ल्याएर रमाइलो गर्छौँ । अनि त्यो केक काटेर खाने क्रममा सबैभन्दा पहिले बत्ति बाल्नुपर्ने हो । तर, जब केक काट्ने बेला भयो बत्तीलाई फुकेर निभाउँछौँ । बत्ति त ज्वलन्त हुनुपर्यो नि, निभ्नु भएन ।
बत्ति जलेर आफूलाई उज्यालो दिलाओस् भन्ने हो । हरेक व्यक्तिले आफ्नो ज्ञानको ज्योति छर्नु भनेको बत्ति बाल्नु हो । तर, हाम्रो समाजमा पाश्चात्य संस्कृति बढ्न थालेको छ । नौ वटा ग्रहहरू घुम्दै जानेक्रममा सबै मान्छेलाई सुखैसुख हुँदैन । एकदिन दुःख हुन्छ । दुःख भएपछि त्यो मान्छेलाई ठक्कर जब लाग्छ उ जति नास्तिक होस् उ कुनै पनि माध्यम अपनाएर आस्थाका देवी देवताकोमा ज्ञान लिन जान्छ । तुलनात्मकरूपमा धर्म संस्कृतिप्रति आस्था घटेकै हो । पाँच भाई छोरा जन्मिँदा एक भाई आस्तिक र अरू नास्तिक हुँदा उसले अरू भाइलाई मोटिभेट गर्नसक्छ । आगोको झिल्का ठूलो चाहिँदैन सानो थोरै शक्ति भए पनि त्यसले जलाएर त्यो उज्यालोमा अरू मान्छेलाई ल्याउन सक्छ भन्ने विश्वास गर्न सकिन्छ । तर, यसमा चाहिँ राज्यले पनि नीति ल्याउनुपर्छ ।
धर्म संस्कृतिको संरक्षणको विषयलाई राज्यले कतिको प्राथमिकतामा राखेको छ जस्तो लाग्छ ?
राज्यले कानुन निर्माणमा कमी गरेको छैन होला । संविधानमा लेखिदाखेरी धर्म संरक्षणका खाँतिर बहुपार्टीको प्रतिनिधित्व भएको देखिन्छ । तर, धर्म संस्कृतिप्रतिको संरक्षणमा व्यावहारिकरूपमा सरकारी तवरबाट केही कमजोरी भएको छ । पाश्चात्य मुलुकहरूबाट प्रतिपादित भएका धर्म गुरुहरू, पादरीसँगको साँठगाँठ भएको देखिन्छ । धर्म संस्कृतिको संरक्षणमा कागजी प्रक्रियामा जति उल्लेख गरिएको छ व्यावहारिकरूपमा केही कमजोरी देखिएकै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।