राष्ट्रिय महिला क्रिकेट टिमले हाल थाइल्याण्ड र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी–२० आई सिरिज खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।
श्रृंखलामा तीन म्याच खेल्दासम्म नेपालले जितको खाता भने खोल्न सकेको छैन ।
नेपाल किन कमजोर ?
जारी श्रृंखलामा नेपालले घरेलु मैदानको फाइदा उठाएर थाइल्याण्ड र नेदरल्याण्ड्सलाई चकित पार्ने समर्थकको आकलन थियो । तर, अहिलेसम्म नेपालले त्यो नतिजा दिन सकेको छैन ।
नेपालले आफूअनुकूल नतिजा हात पार्न नसक्नुमा अपर्याप्त तयारी प्रमुख कारण मान्छन्, खेल पत्रकार निरञ्जन राजवंशी ।
‘सबैभन्दा पहिला त नेपालमा महिला प्रतियोगिताका लागि पर्याप्त बजेट नै हुँदैन । बजेट अभाव हुँदा प्रतियोगिता पनि कम हुनु स्वाभाविक नै भयो । खेलाडीहरूले निरन्तर खेल्न पाए उनीहरूको क्षमता पनि निखारिँदै जाने हो । तर, नेपालमा महिला खेलाडीका लागि पर्याप्त टुर्नामेन्ट नै भएनन्,’ उनले फरकधारसँग भने, ‘नेपालमा राम्रो क्षमता भएका महिला खेलाडी छन् । जस्तो: कविता जोशीले अस्ति राम्रो प्रदर्शन गरिन् । पूजा महतोले त यू–१९ विश्वकपमा नै राम्रो छाप छोडिन् । अरू थुप्रै प्रतिभावान खेलाडी छन् । नियमित प्रतियोगिता उपलब्ध गराउने हो भने नतिजा पनि राम्रो पाउन सक्छौँ ।’
नेपालले थाइल्याण्ड र नेदरल्याण्ड्सविरुद्धको सिरिजअघि प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता मात्र खेलेको थियो । त्यस प्रतियोगितामा फाइनल पुग्ने खेलाडीले सर्वाधिक ५ म्याच खेले । ६ महिनापछि मैदान फर्किएका खेलाडीका लागि त्यो प्रतियोगिता अन्तर्राष्ट्रिय सिरिज अभ्यासको रूपमा हेरिएको थियो ।
प्रधानमन्त्री कपमा केही हदसम्म खेलाडीले अभ्यास पनि पाए । तर, त्यो पर्याप्त थिएन । त्यसैको असर जारी त्रिकोणात्मक सिरिजमा देखिरहेको छ । कम्तीमा पनि २ महिना अघिदेखि तयारी थालेको भए नेपालले आफूभन्दा बलियो थाइल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध सकारात्मक नतिजा निकाल्ने सम्भावना उच्च थियो । तर, मैदानमा हुनुपर्ने खेलाडीले बढी आराम पाउँदा नेपाली टिम जित हात पार्न चुकिरहेको छ ।
बलियो प्रतिद्वन्द्वी
नेपाल हारको अर्को कारण हो, बलियो प्रतिद्वन्द्वी । तुलनात्मकरूपमा थाइल्याण्ड र नेदरल्याण्ड्स नेपालभन्दा बलियो टोली हुन् । आइसिसी टी–२० वरीयताकै कुरा गर्दा पनि थाइल्याण्ड र नेदरल्याण्ड्स नेपालभन्दा माथि छन् । अहिले थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ तथा नेपाल २०औँ स्थानमा छ ।
साथै, थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ठूला टिमविरुद्ध खेलेको राम्रो अनुभव पनि छ । यी दुईमध्ये थाइल्याण्डले टी–२० र नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपसमेत खेलिसकेको छ । र, उनीहरूले सोही अनुभवको सदुपयोग गर्दै नेपालमा राम्रो प्रदर्शन गरिरहेका छन् ।
कमजोर फिटनेश
नेपाली टिमले जित निकाल्न नसक्नुको अर्को कारण कमजोर फिटनेश पनि हो । नेपाली खेलाडीले विगतभन्दा फिटनेशमा केही सुधार गरे पनि मैदानमा त्यो पर्याप्त देखिएन ।
जारी श्रृंखलाकै क्रममा पनि कमजोर फिटनेशका कारण खेलाडीले महत्वपूर्ण समयमा क्याच ड्रपका साथै खराब फिल्डिङ गरिरहेका छन् । फिटनेशमा बलियो नहुँदाको परिणाम नेपाली खेलाडी प्रायः रन आउटको सिकार हुन्छन् । साथै, खेलाडी सिंगल–डबलभन्दा बढी चौका प्रहार गर्ने धुनमा लाग्दा पनि नेपाललाई अप्ठ्यारो भइरहेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्षसमेत रहेका राजवंशी पनि महिला खेलाडीले फिटनेशमा धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।
‘हाम्रो महिला खेलाडीले फिटनेशलाई ध्यान दिनुपर्छ । खेलाडी फिटनेशमा कमजोर हुँदा त्यसको प्रभाव खेलमा पनि पर्छ । नेपालले त्यसमा काम गर्न बाँकी नै देखिन्छ,’ उनले भने ।
‘प्रतियोगिता हुनु नै ठूलो कुरा’
पत्रकार राजवंशी नेपालमा महिला क्रिकेटरका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताउँछन् । यस्तो प्रकारका प्रतियोगिताले निरन्तरता पाएमा नेपालले आगामी दिनमा बलियो टिमलाई पनि हराउनेमा उनी आशावादी छन् । साथै, उनी टिमले हार बेहोरे पनि राम्रो क्रिकेट खेलिरहेको विश्लेषण गर्छन् ।
‘विगतमा नेपाली महिला टिमले १ सय रन कटाउँदा ठूलो उपलब्धि लाग्थ्यो । त्यतिबेला एक/दुई जनाबाहेक अरू खेलाडीको प्रदर्शन त्यति राम्रो थिएन । तर, अहिले टिमले लगभग हरेक खेलमा १ सय प्लसको स्कोर बनाएको छ । अस्ति थाइल्याण्डलाई त झन्डै हराइसकेको थियो । यसरी हेर्दा नेपाली महिला क्रिकेट पनि माथि उठिहरेको छ,’ राजवंशी भन्छन्, ‘अहिलेको अवस्थामा टिमले रिजल्ट मात्र राम्रो नभइ प्रतियोगिता पाउनु पनि ठूलो कुरा हो । नेपालमा पहिलोपटक महिलाको अन्तर्राष्ट्रिय सिरिज भइरहेको छ । बलियो टोलीसँगको प्रतिस्पर्धाले आगामी दिनमा नेपाली महिला खेलाडीले विदेशी मैदानमा पनि राम्रो प्रदर्शन गर्ने छन् ।’
पहिलो जितको खोजीमा नेपाल
जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले चौथो खेलमा थाइल्याण्डसँग खेल्ने तालिका छ । यी दुई टिमबीचको प्रतिस्पर्धा मंगलबार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।
जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । हारमा ह्याट्रिक गरिसकेको नेपाली टिम मंगलबार जित्नपर्ने दबाबमा हुनेछ । यदि सिरिज जित्ने सम्भावना कायमै राख्नु छ भने नेपालले मंगलबारको खेल आफ्नो पक्षमा पार्नैपर्ने समीकरण बनेको छ ।
यदि उक्त खेलमा पनि हार बेहोर्छ भने नेपाल दुई म्याचअगावै सिरिज जित्ने दौडबाट आउट हुनेछ । हालसम्म थाइल्याण्डसँग नेपालले चार टी–२० आई खेलको छ । जसमा नेपालले जित निकाल्न सकेको छैन ।
नेपाली टोली : इन्दु बर्मा (कप्तान), विन्दु रावल, सीता राना मगर, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव, रेवती धामी र ईश्वरी विष्ट ।
तस्बिरहरू : क्यान
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।