logo-img

नेपाली फिल्म उद्योगले राम्रो मोड लिएको छ, भविष्य उज्ज्वल छ : प्रशान्त तामाङ

नृत्य निर्देशकको रूपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।  बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए  । 

उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौँ । विशेषगरी काठमाडौं सहरलाई नै फोकस गरेका छौँ । जसमा अहिलेको समसामयिक घटनाहरूमा आधारित रहेर  फिल्म बनाएका छौँ ।’

यसै गरी उनले कोरियोग्राफर भए पनि निर्देशकको रूपले काम गर्नु पहिले देखिकै इच्छा भएको बताए । उनले कोरियोग्राफरलाई  पहिला आफ्नो पेसा नै बनाए पनि भित्री रहरको विषय चाहिँ डाइरेक्सन नै भएको बताए । 

उनले भने, ‘मैले आफूलाई कोरियोग्राफर वा डान्सरको रूपमा लिएको थिएँ । डान्स टिचरको रूपमा म एकदमै राम्रो थिएँ । तर भित्रि रहरको विषय चाहिँ डाइरेक्सनमा नै थियो । कोरियोग्राफीमा पनि म किन राम्रो भए भन्दा डान्सभित्र डाइरेक्सन रोज्थें । मैले जतिपनि रियालिटी सोहरूमा सिकाएको छु, स्टेज मास्र्टसहरु सिकाएको छु, त्यसमा केही न केही नयाँ प्रस्तुति दिएको छु ।’ 



यसै गरी उनले निर्देशकको रूपमा काम गर्दा अलि धेरै तयार रहनुपर्ने बताए । उनले कोरियोग्राफी र निर्देशकको धेरैजसो काम एउटै तरिकाको भए पनि फिल्म निर्माण गर्दा पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले गाह्रो हुने बताए । 

उनले भने,‘कोरियोग्राफी र निर्देशकको रूपमा बनाइने ड्राफ्ट लगभग एकै किसिमको हुन्छ । काम गर्ने सिलसिलामा अहिलेसम्म मैले कोरियोग्राफी गरेको डान्सलाई छि भनिएको छैन । तर निर्देशकको रूपमा काम गर्दा अलि धेरै तयार गर्नुपर्ने रहेछ । फिल्म मेकिङमा ठूलो टिम हुन्छ । त्यस कारणले क्यामरादेखि मेकअपसम्मलाई समेत ध्यान दिनुपर्ने रहेछ । पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले निकै कठिन हुने रहेछ । दुई घण्टाको फिल्म बनाउँदा र दर्शकलाई होल्ड गराउन धेरै नै गाह्रो भएको थियो ।’

यसै गरी तामाङले फिल्म ‘सारंग’ बनाउँदा १२ वर्षको  मेहेनेत लागेको बताए । उनले  जुनसुकै फिल्म बनाउँदा १२ वर्षसम्म काम गरेर एक करोड लगानी गर्नु सामान्य नभएको बताए । 
‘फिल्म बनाउनका लागि जुनुन(लगनशिलता) हुनुपर्छ । त्यो जुनुन म मा छ । पहिले पनि धेरै मेहनत गरेर फिल्म बनाएँ । १२ वर्षपछि मैले धेरै मेहनत गरेको छु । एक करोड लगानी भएको छ,’ उनले भने ।

साथै उनले १२ वर्षको समय अवधिमा एक दिन पनि आफ्नो खेर नफालेको बताए । उनले १२ वर्षसम्म अध्ययन गरेर नै फिल्म बनाएकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताए । 



उनले भने, ‘१२ वर्षको समय अवधिमा एक दिन पनि आफ्नो समय खेर फालेको छैन । १२ वर्षको हरेक दिन डाइरेक्सन पढेँ, नभए पनि स्क्रिप्टका लागि अध्ययन गरेँ । सम्पादनको पार्टपनि अध्ययन गरेँ । क्यामेरा चलाउन सिकेँ । त्यति मात्र नभई एक्टिङ पनि सिकेँ । हरेक दिन अध्ययन गरेको छु । १२ वर्षको मेहेनतपछि फिल्म बनाएको छु । पक्कै पनि दर्शकहरूले साथ दिने छन् । तर हलमा चल्छ चल्दैन त्यसको गारेण्टी दिन सक्दिन । फिल्म राम्रो बनेको छ ।’ 

उनले  पछिल्लो  समय  एक्सनमा लबस्टोरी फिल्महरु मात्र चलेकाले आफूले  फरक स्वाद दर्शकलाई दिन खोजेको बताए । बजारमा बिकाऊ हुने मात्र बनाउँछु भनेर फिल्म निर्माण लाग्नु भनेको काम, कर्तव्य र इमानदार नहुनु भएको उनले बताए । 

यसै गरी उनले नेपाली फिल्म उद्योगले यतिबेला राम्रो मोड लिइरहेको बताए । उनले भने, ‘पछिल्लो समय विदेशी भन्दा नेपाली फिल्म राम्रो चलिरहेका छन् । यसले के देखाउँछ भने राम्रो पढेर वा बुझेर फिल्म बनाउँदा, त्यस्ता मेकरहरुको लागि नेपालमा सुनौलो  भविष्य छ भन्ने निश्चित छ । नेपाली फिल्म उद्योगले राम्रो मोड लिएको छ । म फिल्म क्षेत्रमा सुनौलो भविष्य देख्छु । पैसाको हिसाबले त्यति अगाडि नहौँला तर अरू कुराहरूमा हाम्रो स्किल धेरै नै राम्रो छ ।’

यसअघि फिल्म ‘ठुलो मान्छे’ निर्देशन गरेका प्रशान्तले ‘सारंग’ फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम हुने बताए । उनले श्रीमानले अधिकार जमाउन खोज्ने र सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा देख्न सकिने बताए ।

‘फिल्ममा ठुलो कुरो केही छैन तर फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम छ,’ उनले भने, ‘फिल्मको महत्त्वपूर्ण कुरो त्यही हो । श्रीमानले अधिकार जमाउन खोज्ने र आर्थिक रूपमा सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा  देख्नुहुन्छ ।’ 

  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया