logo-img

पहिलो जितको खोजीमा नेपाल, आज थाइल्याण्डसँग भिड्दै

महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको प्रतिस्पर्धा दिउँसो १२ः१५ देखि सुरु हुनेछ । जारी श्रृंखलामा नेपालले अहिलेसम्म जित हात पार्न सकेको छैन ।

हारमा ह्याट्रिक गरिसकेको नेपाली टिम मंगलबार जित्नैपर्ने दबाबमा हुनेछ । यदि सिरिज जित्ने सम्भावना कायमै राख्नु छ भने नेपालले मंगलबारको खेल आफ्नो पक्षमा पार्नैपर्ने समीकरण बनेको छ । यदि उक्त खेलमा पनि हार बेहोर्छ भने नेपाल दुई म्याचअगावै सिरिज जित्ने दौडबाट आउट हुनेछ । 

लगातार हार बेहोरेको नेपालले हालसम्म थाइल्याण्डविरुद्ध जित निकाल्न सकेको छैन । विगत प्रदर्शन हेर्दा थाइल्याण्डविरुद्ध नेपाल निरीह देखिन्छ । यद्यपि नेपालले जारी सिरिजमा भने थाइल्याण्डलाई कडा टक्कर दिएको छ । यस श्रृंखलाको भेटमा थाइल्याण्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै १ सय १ रन बनायो ।

त्यस खेलमा नेपालले फराकिलो हार बेहोर्नसक्ने धेरैको आकलन  थियो । तर, १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्डविरुद्ध नेपालले राम्रो बलिङ गर्यो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई १९ ओभरसम्म टक्कर दिएको थियो । र, नेपाली चेलीहरूले थाइल्याण्डको ६ विकेट झारेका थिए । यदि सो खेलमा क्याच ड्रप नगरेको भए नेपालले खेल जित्ने सम्भावना बलियो थियो । 



नेपाल मंगलबार उक्त ४ विकेटको हारको बदला लिँदै थाइल्याण्डविरुद्ध पहिलो जित निकाल्ने दाउमा छ । नेपालले हालसम्म थाइल्याण्डसँग खेलिएका चारवटै म्याचमा पराजय बेहोरेको विगत छ । नेपाल अब भने त्यो हारको श्रृंखला तोड्न चाहन्छ । यस्तै, नेपालले जारी सिरिजमा नेदरल्याण्ड्ससँग लगातार दुई हार बेहोरेको छ । नेपालले नेदरल्याण्ड्ससँग पहिलो भेटमा २० तथा दोस्रो खेलमा १५ रनको हार बेहोर्‍यो ।

यी दुई टिमबीचको तेस्रो भेट बुधबार हुने तालिका छ । नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले बलिङमा उत्कृष्ट कमब्याक गरे पनि ब्याटिङमा राम्रो फिनिसिङ गर्न सकेन । आइतबार भएको त्यस खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । 

नेपालले सुरुवाती दुई ओभरमा बिनाविकेट २१ रन जोडेको थियो । त्यसपछि भने नेपालले निकै कमजोर ब्याटिङ गर्‍यो । बलिङमा भने नेपालले कमजोर सुरुवात गर्दा अन्तिममा राम्रो पुनरागमन गर्‍यो । नेदरल्याण्ड्सविरुद्ध अलराउन्डर सीता राना मगरले सानदार बलिङ गरिन् । त्यस खेलमा उनले ३ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । 

टी–२० आईमा सीताको यो करियरकै उत्कृष्ट बलिङ हो । उनी नेपाली टिमकी सर्वाधिक अनुभवी खेलाडीमध्ये एक हुन् । चौथो खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । मंगलबार नेपालले रेवती धामीको स्थानमा राजमती ऐरीलाई मौका दिने सम्भावना रहेको हो । 



चौथो खेलमा नेपालको सम्भावित प्लेइङ–११ : ममता चौधरी, सम्झना खड्का, इन्दु बर्मा (कप्तान), सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, विन्दु रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव र मनीषा उपाध्याय ।  

  • प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया