सुरुवात त्यहाँबाट गरौं जहाँबाट अरुणा लामाको सांगीतिक जीवन सुरुवात हुन्छ । ती दिन ती पात्रमा आज अरुणा लामा जसलाई कसैले विषादपूर्ण गीतको प्रतीक माने त कसैले शोक, व्यथा र उदासी भावमा गीत गाउने गायिका भने ।
दार्जिलिङको रेल गुड्ने घुम पहाडकी अरुणाले आफ्नो यौवनकालदेखि नै गज्जबको सांगितिक माहोल पाइन् । यो २०१५ साल आसपासको कुरा हो । यो त्यही बेलाको कुरा हो जतिबेला अम्बर गुरुङको सान्निध्यमा उनले संगीतको कखरा सिकिन् । गोपाल योन्जन,रन्जित गजमेर, शरण प्रधान, जितेन्द्र बर्देवालगायतका उम्दा गायक, संगीतकारहरूको साथ पाइन । भूपी शेरचनदेखि भैरवनाथ रिमाल कदमसम्मका शब्दमा उनले आवाज दिइन् । आफूले गाएका धेरै गीतहरू कालजयी बनाइन् ।
यो दार्जिलिङको कथा हो । यो अरुणा लामाको कहानी हो । सांगितिक जीवनको सुरुवातमै एउटा प्रतियोगिताका लागि शरण प्रधानको संगीत र जितेन्द्र बर्देवाले रचेको गीत गाएर उनी पुरस्कृत मात्र भइनन्,आफू सांगितिक क्षेत्रमा लामो रेसको घोडा हो भन्ने छनक पनि दिइन् ।
त्यो गीत थियो–
यहाँ फूल न खिलेछ
बहार आउन नै भुलेछ
यहाँ चोट दुखेकै छ
तर सहन परेकै छ
विरहका गीत गाउने भनेर चिनिए पनि अरुणा लामाका सुरुवाती दिनमा धेरैजसो गीतहरू खुसीका थिए । त्यसको एउटा उदाहरण हो, अम्बर गुरुङको शब्द र संगीतमा रुद्र गुरुङसँग मिलेर गाएको युगल गीत ।
ए कान्छा मलाई सुनको तारा खसाइदेउ न
शरण प्रधान, रन्जित गजमेर र जितेन्द्र बर्देवाको साथ पाएर अरुणा लामाले गाएको अर्को रोमान्टिक गीत थियो– हेर न हेर कान्छा
यही क्रममा अरुणा लामाको संगीत क्षेत्रकै युवा प्रतिभा शरण प्रधानसँग प्रेम बस्यो । शरणले शब्द र संगीत दिने अरुणाले गीत गाउने क्रम पनि चल्यो । श्रीमान–श्रीमतीको युगल जोडी बन्यो । तर बाहिरका कसैको शब्द र संगीतमा गीत नगाउने हठले भने अरुणा लामाको प्रतिभाले यसबीचमा खासै झांङ्गिने मौका पाएन । अरुणा लामासँग लामो संगत गरेका लेखक तथा पत्रकार स्वर्गीय पिटर जे कार्थकले हिमाल किताबले प्रकाशन गरेको आफ्नो पुस्तक नेपाली संङ्गीतस्रष्टा मा यसबारे उल्लेख गरेका छन् ।
पिटर जे कार्थकले पुस्तकमा लेखेका छन्–
अरुणा र शरणको जोडीको सहकार्य दश वर्षसम्म चल्यो । शरण गीत लेख्थ्यो, धुन भर्थ्यो जसलाई अरुणा गाउँथिन् र रेकर्ड गर्थिन् । फर्केर हेर्दा उनीहरूको व्यावसायिक र गार्हस्थ जीवन दुवै औसत किसिमको थियो । उनीहरू एकअर्कामा मात्र सीमित रहन गएकाले उनीहरूको साङ्गीतिक प्रगति रोकियो । शरणले पत्नीका लागि मात्र गीत बनाउँथ्यो अनि अरुणा आफ्ना पतिको सिर्जना मात्र गाउँथिन् । शरणले अन्य गायकहरूको शैली आफ्नो गीतमा भित्रिन दिँदैनथ्यो अनि अरुणाले अरू सङ्गीतकारले अनुरोध गरे पनि उनीहरूले रचेका गीत गाइनन् । सन् १९७४ मा अत्यधिक मदिरा सेवनका कारण शरणको मृत्यु भएपछि मात्र अरुणाको साङ्गीतिक पुनर्जागरण भयो । अन्तत्तोगत्वा उनी फेरि आफ्नो पूर्ण क्षमताका साथ गीत गाउन समर्थ भइन् ।
आपसमा मन पराएर बिहे गरेको श्रीमान शरण प्रधानको केवल ३० बर्षको उमेरमा २०३१ सालमा निधन भएपछि अरुणाको जीवन चुक घोप्टिएको अन्धकारजस्तो बन्न पुग्यो । केवल दश बर्षको वैवाहिक जीवनपछि आफ्ना दुई निसानी सन्तान छाडेर पति परलोक भएपछि अरुणा लामा विरहमा बाँच्न विवश भइन् । उदासीपनले उनलाई च्याप्यो । उनलाई मुस्कुराएको देख्नै मुश्किल भो । अब उप्रान्त गीत नै नगाउने निर्णय गरेर घरको कुनामा खुम्चिन विवश भइन् । धन्यवाद सङ्गीतकार कर्म योञ्जन जसले उनलाई पुन: संगीतको दुनियाँमा आउन प्रेरित गरे । दार्जिलिङबाट काठमाडौं आएपछि अरुणा लामाको प्रतिभाले ठूलो आयाम पायो । यसपछि नै हो उनले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन् । अम्बर गुरुङको सङ्गीत र राजेन्द्र थापाको शब्दको एउटा गीतमा उनले आफ्नो व्यथा बोलिन ।
पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो
अरुणाको स्वरमा कारुणिकता थियो । पति वियोगपछि उनको जीवन अत्यास लाग्दो बन्यो । उनले भोगेका दिन–रात व्यथाले छटपटिएको हुन्थ्यो । उनको जीवन दुखात्मक कहानी पढे जस्तो थियो । तर, दुख र व्यथाका कथा मनमै दबाएर नेपाली संगीत क्षेत्रमा उनले जे योगदान दिइन, त्यो अतुलनीय रह्यो । शब्दमा शुद्धता,उच्चारणमा सुलभता, शब्द र त्यसको अर्थको गहिराइलाई बुझ्ने उनको क्षमताले उनलाई परिचय दिलायो । देव बज्राचार्यको शब्द तथा गणेश रत्नको संगीतमा रचिएको यस्तै एउटा गीत हो–
एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखबाट
आँसु त्यसै झरिदिन्छ
अरुणा औषधि उपचारका लागि दार्जिलिङबाट काठमाडौं आइन् । तर, उनलाई कुनै औषधिले पनि बचाउन सकेन । २७ वर्षअघि ५३ वर्षको उमेरमा आजकै दिन अर्थात् २२ माघमा अरुणा लामाको काठमाडौंमा निधन भयो ।
आखिर मृत्युको सत्यबाट कसले पो कुलेलम ठोक्न सक्छ र । अरुणा लामा पनि अपवाद हुने कुरै थिएन । उनले भनेजस्तै भेटिनु–छुटिनु त संसारको रित नै हो– गोपाल योन्जनको शब्द र संगीतमा रचिएको यो गीत ।
भेटिनु छुटिनु त के हो र,संसारको रित हो
नसम्झ, तिमी यो मेरो,बिदाको गीत हो
उनी आफ्ना विरह र व्यथाका कथाहरू आफूभित्रै दबाएर यो संसार त्यागिन । यसैले त माथि नै भनियो अरुणा लामा र उनले गाएको गीत उनकै जीवनको प्रतिबिम्ब जस्तै लाग्छ । जस्तो कि नारायणगोपालको संगीत र भैरवनाथ रिमाल कदमको शब्दमा उनले गाएको एउटा गीत–
उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्म भरी सहेको व्यथा त्यो पनि भनिन
हो, अरुणा लामाले आफ्नो कथा कसैलाई भनिनन्,जन्म भरी सहेको व्यथा पनि भनिनन् । उनले जे जति भनिन् आफ्ना महान गीतहरूमार्फत भनिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।