अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिनपछि सार्न सहमत भएका छन् ।
ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधि) को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका हुन् ।
ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गरेका थिए ।
मेक्सिकोकी राष्ट्रपतिले उत्तरी सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाएका थिइन् । त्यसको बदलामा मेक्सिकोमा बन्दुकहरूको प्रवाहलाई सीमित गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए ।
उक्त कदमको विरोध गरेका तीनै देशले आफूले पनि त्यस्तै प्रकृतिको आयात शुल्क अमेरिकी उत्पादनमा लगाउने घोषणा गरेपछि विश्व नयाँ व्यापार युद्धमा प्रवेश गर्न लागेको भन्दै टिप्पणीहरू भइरहेका थिए ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले आफ्नो सीमा योजनाअन्तर्गत १.३ अर्ब डलर थप हेलिकोप्टर, प्रविधि र जनशक्ति सीमा क्षेत्रमा खटाउन लगानी गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले जनाएअनुसार उक्त रकमबाट फेन्टनिलको प्रवेश अमेरिकामा रोक्न समेत थप स्रोतहरू परिचालन गरिनेछ ।
उनले अग्रपङ्क्तिमा १० हजारभन्दा बढीले सीमा रक्षाका लागि काम गरिरहेको भन्दै क्यानडाले सङ्गठित आपराधिक गिरोहहरूलाई आतङ्कवादी घोषणा गर्ने र सातै दिन चौबीसै घण्टा सीमामा नजर राख्ने उल्लेख गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले गैरकानुनी लागुऔषधलाई अमेरिकामा प्रवेश गर्नबाट रोक्न क्यानडा सहमत भएकाले आफूले आयात शुल्क लगाउने निर्णय स्थगित गरेको ट्रम्पले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘क्यानडाले हाम्रो उत्तरी सीमा सुरक्षित रहेको सुनिश्चित गर्न सहमति जनाएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।