के नेपाल सरकारको यही तयारीले कोरोनाविरुद्ध लड्न सकिन्छ ?

काठमाडौं– ‘सरकार निकै आत्तिएको छ,’ पछिल्लो समय काठमाडौंमा पत्रकारहरुबीच यही कुरामा लामो छलफल हुन थालेको छ । नहोस् पनि किन नेपालमा अब कोरोना संक्रमितको संख्या ४ पुगेको छ । 

यो फरक कुरा हो, चारै जना कोरोना संक्रमित विदेशबाट आएका हुन् । तर, पछिल्ला तथ्यांकलाई हेर्ने हो भने विश्वमा कोरोना भाइरसले आफ्नो प्रभुत्व जमाइसक्दा नेपालमा विदेशबाट र त्यो पनि प्रभावित मुलुकबाट कम्तिमा पनि एक लाख मानिस आएको अनुमान गरिएको छ । तर, सरकारसँग यी व्यक्तिहरुबारे कुनै रेकर्ड छैन । 

फेरि नेदरल्यान्ड्स, इटाली र चीनमा कोरोनाको प्रकोप बढिसक्दा यी मुलुकबाट नै नेपाल आउने पर्यटकको संख्या धेरै थियो । 

‘हामीले पर्यटनलाई पनि मार्नु हुँदैन भन्ने अनुमान गरिरह्यौँ र अलिक ढिलो लकडाउन तथा अन्य प्रचारको सुरुवात गर्यौँ,’ नेपाल सरकारका एक सहसचिवले फरकधारसँग आफ्नो धारणा सुनाएका छन्, ‘यसले गर्दा हामी निकै ढिलो भएको प्रतीत हुन्छ । तर, अब कामहरु सुरु भएका छन्, सरकारले निकै एग्रेसिभ भएर काम गर्न थालेको छ । यसले गर्दा ठूलो विपत्तिको सामना गर्नु नपर्ला भन्ने अनुमान गर्न सकिन्छ ।’

बिर्सनु हुँदैन, कोरोना भाइरसका कारण इटालीमा ठिक तीन महिनाअघि अहिले नेपालको जस्तो अवस्था थियो, त्यस्तै थियो । त्यहाँ जम्मा ३ जना संक्रमित हुँदा सरकारले खासै वास्ता गरेको थिएन । तर, १५ दिनको अवधिमा नै इटालीमा कोरोना भाइरसको संक्रमण यति फैलियो कि त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई दर्जनभन्दा बढी भयो । 

पछिल्लो समय अमेरिकाको उदाहरण पनि हामी लिन सक्छौँ । अमेरिकामा बिहिबार मात्र १० हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भए । त्यहाँ मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दो छ । अब कोरोना संक्रमितको संख्याको आधारमा अमेरिका इटाली र चीनभन्दा पनि अगाडि पुगेको छ । त्यहाँ विश्लेषकहरुले कोरोना संक्रमणको संख्या निकै धेरै बढ्ने अनुमान गरिसकेका छन् । 



फर्किऔँ नेपालको सन्दर्भमा । 

सरकारले चार दिनअघि नेपाललाई लकडाउनको घोषणा गरेको छ । तर, यहीबीच पनि भारतबाट नेपालमा हजारौँको संख्यामा नेपाली भित्रिएका छन् । हो, नेपालीहरु नेपाल नआएर अन्यत्र जाने ठाउँ हुँदैन । तर, उनीहरुलाई सरकारले कम्तिमा पनि १४ दिनका लागि क्वारेन्टाइनमा राख्नु पर्ने थियो । केहीलाई क्वारेन्टाइनमा राख्न पनि खोजिएको थियो । तर, उनीहरुले सामूहिक क्वारेन्टाइनमा बस्न अस्वीकार मात्र गरेनन्, त्यहाँबाट भागेर गाउँगाउँमा पुगेका छन् । 



यो त भारतीय सीमाबाट नेपाल भित्रिएकाको हकमा भयो । 

विमानस्थलबाट नेपाल भित्रिएकाहरुको पनि राम्रोसँग नेपाल सरकारले ट्र्याक गर्न सकेको छैन । नेपालमा भेटिएका चारै संक्रमित विमानस्थलबाट नै नेपाल भित्रिएको पुष्टि भएको छ । तर, यी चार जना आएका विमानमा पक्कै पनि अरु पनि थिए । तीबारे नेपाली अधिकारीहरु बेखबर छन् । 

अनि यसले कोरोना भाइरस संक्रमण नेपालमा अन्य देशमा भन्दा निकै द्रुत गतिमा हुने सम्भावना बढाएको छ । 

पहिले नेपालमा किन संक्रमण छिटो हुन्छ भन्नेमा चर्चा गरौँ । 

वैदेशिक रोजगारीका लागि अथवा अध्ययनका लागि वा घुमघामकै लागि किन नहोस्, नेपालीहरु फर्किएपछि समाजमा एउटा छुट्टै काममा विशेष व्यस्त हुन्छन् जुन अमेरिकी वा पश्चिमा समाजमा देखिँदैन । त्यो हो– उनीहरु गाउँघरमा सबैको घरमा पुगेका हुन्छन्, साथीभाइलाई बोलाएर पार्टी दिन्छन्, आफन्त सबैलाई कोसेली स्वरुप केही न केही लिएर आएका हुन्छन्, ससुराली जान्छन्, मावली जान्छन् ।

अर्थात्, विदेशबाट फर्किएको एक नेपालीले एक सातामा नै कम्तिमा पनि सय जनासँग क्लोज कन्ट्याक्ट गरेको हुन्छ । 

यो अर्थमा भन्ने हो भने मार्च महिना यता मात्र नेपालमा भित्रिएका सयौँ नेपालीले हजारौँलाई भेटिसकेका छन् । यो जरुरी छैन कि नेपालमा आउने सबैमा कोरोना भाइरस संक्रमण भएको होस् । तर, एक जनामा मात्र पनि कोरोना संक्रमण रहेको रहेछ भने ती व्यक्तिले दर्जनौँ अरुलाई कोरोना संक्रमित बनाउने निश्चितप्रायः छ । 

तर, यसबारे अहिलेसम्म सरकारले ध्यान दिएको पाइँदैन । 

यो एउटा पाटो भयो । अब अर्को पाटोमा ध्यान दिऔँ । त्यो हो– स्वास्थ्यकर्मीलाई नै पिपिई अभाव । अर्थात् पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको अभाव । आफूहरु ठूलो जोखिम मोलेर काम गरिरहनु परेको केही स्वास्थ्यकर्मीहरुले अब सन्चारमाध्यमलाई बताउन थालेका छन् । यो चिकित्सक तथा नर्सहरुका लागि जोखिम त हो नै, सँगसँगै पूरै समाजका लागि पनि जोखिम हो । 

मानौँ, एक कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकलाई कोरोना संक्रमण भयो भने उनलाई मात्र होइन, त्यसले अरुलाई पनि कोरोना संक्रमण बढाउने सम्भावना झन् बढी हुन्छ । किनकि तिनै चिकित्सकले कोरोना संक्रमण नभएका चिकित्सकलाई पनि जाँच गरिरहेका हुन्छन् । तर, अहिलेसम्म सरकारले यस विषयमा कुनै ध्यान दिएको छैन । निजी कम्पनीसँग सहकार्यमा केही पिपिई ल्याउने त बताइएको छ तर यसका लागि जति हतारोका साथ काम गर्नु पर्ने हो, सरकारमा त्यो देखिँदैन ।

देशको राजधानी काठमाडौंमा त स्वास्थ्य सामाग्रीहरुको यो अभाव छ भने गाउँगाउँ कोरोना संक्रमण पुग्न थाल्ने हो भने स्थिति भयावह हुनसक्छ । त्यसैले सरकारले अहिले जे तयारी गरिरहेको छ, त्यसलाई पनि समर्थन गर्दै अझ बढी तयारीमा जुट्न दबाब दिनु पर्ने समय आएको छ ।

  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार २२:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया