logo-img

#farakक्षमता: जो आफू हिँड्न सक्दैनन्, तर अरुलाई पुर्‍याइरहेछन् गन्तव्यमा

ललितपुरस्थित जावलाखेल चोक । 

हातमा कालो ग्लब्स, टाउकोमा हेल्मेट र रातो ज्याकेट लगाएर ‘राइड’ गर्न तम्तयार अवस्थामा छन्,  उनी । उनी अर्थात् ५२ वर्षीय पुनम मिश्र। उनी अर्थात् 'राइडर' ।

उनीजस्तै कुद्न तत्पर छ, उनको रातो रंगको चारपांग्रे स्कुटर पनि । अब प्रतीक्षा छ त केवल ग्राहकको फोन कलको ।

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा उनको एउटा फोटो भाइरल छ । पछाडिबाट खिचिएको उक्त फोटोमा उनले रातो रंगको ज्याकेट लगाएका छन् । जसमा लेखिएको छ– पठाओ ।

अहिले सामाजिक सञ्जालमा उनको कामलाई लिएर सयौँले उनीप्रति सद्भाव तथा सम्मान दर्शाइरहेका छन् । उनको फोटोलाई लाइक र सेयर गरिरहेका छन् । हामी उनै पुनम नजिक गयौँ र आफ्नो परिचय दिएर कुराकानी गर्न थाल्यौँ । हामीले दिउँसै उनीसँग कुराकानीका लागि समय मागिसकेका थियौँ ।



मोबाइलको घडीले दिउँसोको ४ बजेको संकेत गरेको छ । (मोबाइलको प्रयोगसँगै नाडीमा घडी लगाउन बानी छुटेकाले) आज उनले दुई ट्रिप मात्र गर्न भ्याएका छन् ।

दुई मात्र ?    



‘पहिलो कुरा त आज शनिबार । शनिबार म सधैँ ढिला आउँछु,’ दुई ट्रिपमात्र गर्नुको कारण बताउँदै उनले भने, ‘अन्य दिनमा पनि म धेरै ट्रिप गर्न सक्दिनँ । दशदेखि पाँच बजेसम्म । कहिलेकाहीँ त आउनै भ्याउँदिनँ ।’

अलि चिसो लाग्यो कि बिरामी भइहाल्छन्, उनी । त्यसैले, उनी दश बजेदेखि पाँचसम्म मात्र राइड गर्छन् । उनी पछिल्लो साढे दुई वर्षदेखि यो काम गरिरहेका छन् । उनलाई यो काम गर्न उनका साथीहरुले सुझाएका हुन् । उनलाई स्कुटर किन्न पनि साथीहरुले नै सघाएका हुन् ।

‘यो म कामबाट सन्तुष्ट छु । यसले परिवार चलाउन धेरै सहयोग गरिरहेको छ,’ उनले भने, ‘तर, फुलटाइम गर्न सक्दिनँ । पाँच–छ सय कमाएपछि घरतिर लागिहाल्छु ।’

घर होइन डेरा, जहाँ उनका १२ वर्षीय छोरा छन् । उनका छोराको एकसाताअघि मात्र साढे तीन वर्षपछि पहिलो पटक ‘ब्लड रिपोर्ट नेगेटिभ’ आएको छ । यसले उनलाई धेरै खुसी दिएको छ । उनका छोराको साढे तीन वर्षदेखि ‘ब्लड क्यान्सर’ को उपचार भइरहेको थियो ।

तर, उनी अझै पनि छोरा पूर्ण रुपमा निको भइसक्यो भनेर ढुक्क हुन सक्ने अवस्थामा छैनन् । किनकि ब्लड क्यान्सर फेरि देखिन सक्छ । पूर्ण रुपमा निको हुन अबका दुई वर्ष हरेक पल्ट जाँच गर्दा रगत रिपोर्ट नेगेटिभ आउनुपर्छ । यसलाई लिएर निकै चिन्तित छन् । त्यसमाथि उनका छोरा पनि अपाङ्गता भएका व्यक्ति । उनी सुस्त मनस्थितिका छन् ।

जीविकोपार्जनका लागि उनले चियापसल खोलेका छन्, नख्खु चोकमा । पसल उनकी श्रीमतीले हेर्छिन् । उनकी श्रीमती पहिलेपहिले छोरालाई पनि आफूसँगै पसल लिएर जान्थिन् । बिरामी भएपछि भने छोरालाई घरैमा छाडेर जान्छिन् ।

घरमा छोराको स्याहारसुसार गर्ने कोही नभएकाले फुलटाइम काम गर्न सक्दैनन्, पुनम ।

छोराको चिन्ताले उनका पछिल्ला साढे तीन वर्ष निकै सकस र बेचैनीमा बिते । लोग्ने–स्वास्नी दुवैको आम्दानीले घरपरिवार चलाउनसमेत गाह्रो भइरहेकै बेला छोरालाई यस्तो घातक रोग देखियो ।

अब उनलाई उपचारका लागि पैसा जुटाउनु पर्‍यो । त्यसमाथि क्यान्सरको उपचार एकदमै खर्चिलो हुन्छ । उनले साथीभाइ तथा चिनेजानेकाबाट सरसापटी मागे । साथीभाइले पनि आफूले सकेको गरे । तर, पैसा अझै अपुग नै भयो ।

उनलाई पैसा कसरी जम्मा गर्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

केही समयपछि साथीभाइमार्फत् छोराको उपचारमा सहयोग गर्न सघाउने एउटा ट्रस्टबारे थाहा पाए, ललित गुप्ता ट्रस्ट । खर्चको जोहो भएपछि छोरालाई नेपाल क्यान्सर अस्पतालमा भर्ना गरियो ।

यी साढे तीन वर्षमा क्यान्सरले ग्रस्त छोराको बाबुआमामा के बित्यो होला ? उनीहरुलाई पीडाको आगोले कति पोल्यो होला ? यो कुरा कल्पनामात्र गर्न पनि गाह्रो छ । 

तर, उनीहरुले कहिल्यै हिम्मत हारेनन् ।

‘समस्याहरु सबका जीवनमा आउँछन्’ उनले बुझेका छन्, ‘जीवन त सुख–दुःखको सँगालो नै हो । यो त के यस्ता हजारौँ दुःख अझ झेल्नुपर्ने हुनसक्छ ।’

उनले अगाडि भने, ‘फेरि हामी त हामीलाई भगवानले दिएको रोलमात्र निर्वाह गरिरहेका छौँ ।’

साँच्चै, उनको जीवनले धेरै ठूल्ठूला दुःख खपेको छ । शृंखलाबद्ध रुपमा उभिइरहेका हरेक दुःखका पहाडसँग कहिल्यै डराएनन्, उनी ।

०००

पुनम अनाथालयमा हुर्किएका हुन् । उनलाई आफ्ना बाबुआमा नाम, घरको ठेगाना, आदि–इत्यादि केही थाहा छैन । उनको बायाँ खुट्टोमा पोलियो भएको थाहा पाएपछि उनका बाबुले उनलाई अस्पतालमा छाड्ने निधो गरेछन् । बाबुले यो जिम्मा उनका काकालाई दिएछन् । अस्पतालमा छाड्न जाँदा उनका काकाले आफ्नो नाम र ठेगाना गलत टिपाएका रहेछन् । र, उनलाई अस्पतालमै छाडेर आफू भारत भागेछन् । 

बस्, उनलाई आफ्नाबारे यत्तिमात्र थाहा छ । यत्ति कुरा पनि उनले नागरिकता बनाउने बेला अस्पतालको रेकर्डबाट थाहा पाएका हुन् । अस्पतालले उनलाई ललितपुरस्थित नख्खुको एउटा अनाथालयको जिम्मा लगायो ।

अनाथालयले उनलाई स्कुल भर्ना गरिदियो, अरनिको बोर्डिङ स्कुल । उनी ८ वर्षको हुँदादेखि उनको स्कुले जीवन सुरु भयो । तर, उनले धेरै पढ्न पाएनन् । उनलाई सहयोग गर्ने संस्थाले ७ सम्ममात्र पढाउँथ्यो । 

सात कक्षामा पुग्दा उनी १८ वर्षका भइसकेका थिए । यो उमेरका प्रायः बच्चाहरु वैचारिक रुपमा परिपक्क हुँदैनन्, तर उनी भने वैचारिक रुपमा निकै खारिइसकेका थिए । 

उनले बुझिसकेको थिए– शिक्षा जीवनको ज्योति हो । 

‘मैले मेरो संस्थालाई कम्तीमा एसएलसीसम्म त पढाइदिनुस् भनेर धेरै बिन्ती गरेँ,’ पुनमले सम्झिए, ‘तर, संस्थाले योभन्दा धेरै पढाउन नसकिने भन्यो ।’

पढाइको मात्र होइन, संस्थाले उनका गासबासको जिम्मेवारी पनि लिन नसक्ने भनेको थियो । उनले १८ वर्षको उमेरमा अनाथालय छाड्नुपर्यो र आफ्नै खुट्टामा उभिएर जीवनको गाडी हाक्नुपर्ने भयो ।

उनी यसका लागि तयार भइसकेका थिएनन् । तयार नभएर के गर्नु उनीसँग विकल्प पनि त थिएन । उनी काम खोज्न थाले । शारीरिक अवस्थालाई हेरेर उनलाई कसैले काम दिँदैनथे । काम मिल्यो भने पनि उनलाई बाबुआमाको नाम र स्थायी घरको ठेगाना सोधिन्थ्यो । उनी नाजवाफ हुन्थे ।

दिनहरू जति बित्दै थिए, उनलाई जागिरको आवश्यकता त्यति नै बढ्दै थियो । जागिरका लागि नागरिकता पनि सर्त बन्नथालेपछि उनी नागरिकता बनाउन लागे ।

‘जसरी भए पनि नागरिकता त बनाउनै पर्छ सोचेर नागरिकता बनाउन संघर्ष सुरु गरेँ ।’ उनले आफ्ना दुःखका दिनहरू सम्झिए ।

एकातिर उनलाई जागिरको तनाव थियो भने अर्कोतिर नागरिकका लागि चाहिने आवश्यक कागजातको । उनलाई अनाथालयले बिदाइ गर्दा दिएको केही रकम लगभग सकिइसकेको थियो । ४ वर्षको अथक प्रयासपछि नागरिकता बन्यो । तर, नागरिकता बनेपछि पनि उनले जागिर भने पाएनन् ।

उनलाई भित्रैदेखि अनुभुति भयो, नागरिकताले त नागरिक हुनुको प्रमाण मात्र दिँदो रहेछ, जागिर होइन । 

त्यसपछिका उनका दिनहरु यति सकसपूर्ण र दुःखपूर्ण भए, जसलाई व्यक्त गर्नै नसक्ने उनी बताउँछन् । न त उनलाई ती दिनहरू फेरि सम्झिएर भावुक हुन मन छ ।

त्यसपछिका दिनहरूमा उनी कहिले कसैको घरमा धर्मपुत्र बनेर बसे, कहिले कसैको होटेल र पसलमा मजदुर बनेर बसे, कहिले चर्चमा भोलेन्टियर भएर बसे, कहिले सडकमा भोकभोकै बसे । त्यसो त कहिलेकाहीँ उनी आफ्नै कोठा र व्यापार गरेर पनि बसे । 

जे गरे, जहाँ बसे उनलाई दुईटा कुराले कहिल्यै साथ छाडेनन् । पहिलो, दुःख । दुःख उनको स्थायी साथी बनेर सधैँ उनीसँगै रहिरह्यो । दोस्रो, आत्मविश्वास । आत्मविश्वासले पनि कहिल्यै छाडेन । आत्मविश्वासले जस्तोसुकै दुःखका दिनमा पनि उनलाई हार मान्न दिएन ।

उनलाई कहिल्यै साथ नछोडेको एउटा अर्को कुरा पनि थियो, स्वाभिमान । आफूसँग पैसा नहुँदा उनी बरु सडकमा भोकभोकै सुते, एकखुट्टाले साइकल हाँक्दै काम गरे, तर कहिल्यै मागेर खाएनन् । 

‘कसैका अगाडि हात फैलाएर मागेर खानु भनेको मैले जीवनसँग हार मानिसकेँ, मैले समर्पण गरिसकेँ भन्नु हो’, उनले विश्वास छ, ‘हरके मान्छे केही न केहीका लागि काबिल हुन्छ । आफूलाई चिन्नु पर्छ, बुझ्नु पर्छ ।’

उनलाई आजसम्म उनको यही विश्वासले बँचाइराखेको छ । उनलाई लाग्छ, वास्तवमा मान्छेलाई बाँच्ने उसको विचार र दर्शनले हो । सासले त शरीरलाई कुहिनबाट जोगाउनेमात्र हो ।

पुनमले अहिले सामाजिक सञ्जालमा धेरै मान्छेहरूबाट आफ्नो काम र आँटलाई लिएर प्रशंसा पाइरहेका छन् । तर, वास्तविक दुनियाँको वास्तविकता भर्चुअलको भन्दा एकदमै फरक छ ।

ग्राहकको फोन कल पछ्याउँदै उनी लोकेसनमा पुग्छन् । लोकेसनमा पुग्दा उनलाई कोही देखे पनि नदेखेजस्तो गर्छन्, कोही म जान्न माइन्ड नगर्नुस् है भन्छन्, त कोही नाई भन्न नसकेर मात्रै चढ्छन् । कल गर्ने ५० प्रतिशत जति मात्र उनीसँग राइड गर्न तयार हुन्छन् । तर, यी पचास प्रतिशत यस्ता हुन्छन्, जो उनीसँग राइड गर्न तयारमात्र हुँदैनन्, उनलाई यो काम गरिरहन प्रेरणा र ऊर्जा पनि दिन्छन् । यी ५० प्रतिशतले उनलाई काम गर्न शतप्रतिशत ऊर्जा दिन्छन् । 

त्यसो त उनलाई आफूसँग राइड नगर्नेहरुसँग कुनै गुनासो छैन । 

‘कोही सरी, माइन्ड नगर्नुस् है भन्नुहुन्छ । म साँच्चै माइन्ड गर्दिनँ पनि । जाने नजाने उहाँहरुको स्वतन्त्रता र अधिकारको कुरा हो’, उनी भन्छन्, ‘फेरि के पनि सत्य हो भने, अन्य स्कुटरको तुलनामा चारपाङ्ग्रो स्कुटरमा बस्न अलि गाह्रो नै हुन्छ ।’

अहिले पठाओमा धेरै अपाङ्गता भएका व्यक्तिहरु कार्यरत छन् । यसले उनीहरुको जीवनलाई सहज बनाउन धेरै सहयोग गरिरहेको छ । त्यसका लागि पठाओलाई धेरै धन्यवाद दिन्छन्, पुनम ।

उनी भन्छन्, ‘पठाओलाई जति नै धन्यवाद दिए पनि त्यो कम हुन्छ ।’

पठाओले एउटा अर्को पनि सहयोग गरिदिए आफूहरुको जीवन अझ सहज हुने उनको विश्वास छ । 

‘​पठाओले सबबाट २० प्रतिशत कमिसन लिन्छ । यो कमिसन हामीलाई छुट गरिदिए हामी पठाओप्रति अझ कृतज्ञ हुने थियौँ ’, पठाओसँग पुनमको अनुरोध छ ।

कमिसन छुटका लागि पठाओलाई अनुरोध पत्र बुझाउने योजनामा छन्, उनीहरु । यसका लागि उनीहरुबीच छलफल पनि भइसकेको छ ।

कुराकानीकै बीचमा उनको फोन बज्यो । उनले फोन उठाए । ग्राहकको रहेछ । कुराकानी सुरु गर्नु अगाडि नै हामीबीच एउटा सहमति भएको थियो– ग्राहकको फोन आएपछि कुराकानी बन्द गर्ने ।

उनी आफूलाई अप्ठ्यारो नहुने भनिरहेका थिए । तर, उनको व्यस्ततालाई बुझेर हामीले नै बिदा माग्यौँ । 

पुनमले जीवनमा बाँच्नकै लागि धेरै संघर्ष गरेका छन् । उनको पूरै जीवन संघर्षै संघर्षमा बित्यो । जीवनका बाँकी दिनहरू पनि संघर्ष गर्न तयार छन्, उनी । किनकि उनले बुझेका छन्– जीवन भनेकै संघर्ष हो ।

 

उनी अहिले छोरोको रोग र भोकसँग मात्र संघर्ष गरिरहेका छैनन्, आफू र आफूहरु जस्ताको हक र अधिकारका लागि समाज र राज्यसँग पनि संघर्ष गरिरहेका छन् । 

त्यसो त उनलाई समाज र राज्यसँग पनि त्यति ठूलो गुनासो छैन । उनी राज्यसँग आफूहरु एउटा मात्र कुरा गरिरहेको बताउँछन् । र, त्यो हो– काम गरेर खान सक्ने वातावरणको निर्माण । 

‘सरकारले फ्रिमै सब कुरा देओस् भन्ने हाम्रो माग होइन । हामी काम गर्न तयार छौँ । बस्, सरकारले हामीलाई काम गरेर खान सक्ने वातावरणमात्र निर्माण गरिदेओस्’, सरकारसँग पुनमहरुको माग छ ।

जसरी उनको सरकारसँग एउटामात्र कुराको अनुरोध छ, त्यसरी नै अपाङ्गता भएका व्यक्तिसँग पनि उनको एउटा मात्र अनुरोध छ । 

र त्यो अनुरोध हो– तपाईंहरु अवस्था जतिसुकै नाजुक किन नहोस्, हिम्मत गर्नुस् र चार दिवारबाट बाहिर निस्कनुस् । बाहिर निस्किएपछि जीवनले आफैँ देखाउनेछ । 

पुनमको जीवनमा दुःख र संघर्षले कहिल्यै साथ छाडेन । तर, उनको जीवनले अब ती दुःख र संघर्षलाई साझेदार गर्ने व्यक्ति भने पाएको छ । र, ती हुन्, उनकी श्रीमती। उनलाई उनका साथीभाइहरुले एउटी कन्या खोजिदिए । ४० वर्षको उमेरमा उनको ती कन्यासँग बिहे भयो । उनकी श्रीमती सबलाङ्ग हुन् ।

‘उनको साथ र सहयोग नहुँदो हो त मेरो जीवनले यो लय पक्रँदैनथ्यो होला,’ श्रीमतीलाई सम्झिँदा भावुक देखिए उनी, ‘उनले मेरो शरीरलाई त स्वीकारिन् स्वीकारिन्, मेरा भोक र शोकलाई पनि स्वीकारिन् । उनलाई धन्यवाद दिन मसँग शब्द नै छैन ।’

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया