भूकम्पको कहालीलाग्दो त्यो दिन, जसले मोडिदियो रमेशको सपना
फरकधार / १७ चैत, २०७७

२३ वर्षीय रमेश खत्रीले गत माघमा भएको ‘दोस्रो साहसिक ह्विलचेयर दौड’ को उपाधी जिते। गोकर्णेश्वर नगरपालिकास्थित सहिद राष्ट्रिय पार्कमा भएको एक किलोमिटर ह्विलचेयर दौड उनले ५ मिनेट ११ सेकेन्डमा पूरा गरे।  उपाधिसहित उनले १५ हजार हात पारे। 



दौड जितेपछि उनले भने, ‘ह्विलचेयर युजरहरुले पनि साहसिक खेल खेल्न सक्छन् र खेलमार्फत आफू र देशलाई विश्वमाझ चिनाउँन सक्छन्।’ रमेशले भनेजस्तै अपांगता भएका कैँयन व्यक्ति ह्विलचेयरमै बसेर विभिन्न खेल खेलिरहेका छन्, खेलमार्फत आफू र नेपाललाई विश्वमाझ चिनाइरहेका छन्।

रमेश स्पाइनल कर्ड इन्जुरीतर्फ पौडी र क्रिकेटका राष्ट्रिय खेलाडी हुन्। उनी दौड, स्कि र बास्केटबलमा पनि भाग लिन्छन्।

उनले क्रिकेट र पौडीका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। ३ वर्षअघि इन्डोनेसियामा भएको ‘पारा एसियन गेम्स’ मा पौडीतर्फ १४औँ भएका  थिए। 



उनी कोरिया, जापान र इन्डोनेसिया पुगेर पौडीको तालिम लिएका छन्। सन् २०१९ मा नेपालमा भएको ‘एसियन ह्विलचेयर क्रिकेट कप’ मा पनि उनी सहभागी थिए। 

खेल्नु रमेशको रहर मात्र होइन, जीवनको उद्देश्य नै हो। उनले खेल्ने खेलमध्ये पौडी उनलाई सबैभन्दा मनपर्छ। 

उनी पौडिन पानीमा डुबुल्की मार्दा पानीभित्र आफूलाई भेट्याउँछन्। पानीभित्रै आफ्नो संसार महसुस गर्छन्। ‘जसरी हुन्छ पौडीमै राम्रो गर्ने। मैले आफ्नो जीवनमा पौडिनुको विकल्प सोचेको छैन’ रमेश भन्छन्। 

केही दिनअघि जोरपाटिस्थित खगेन्द्र नवजीवनमा रमेशसँग हाम्रो भेट भएको थियो। करिब डेढ घण्टा लामो भेटमा उनले हामीलाई आफ्नो जन्मस्थान दैलेखदेखि काठमाडौं र ‘त्यो भयानक घटना’ देखि पौडीतर्फको यात्राबारे सुनाए। 

रमेशको मुहारबाट मुस्कान कहिल्यै टुट्दैन। उनको मुहारमा सदाबहार मुस्कान देख्दा लाग्छ, ‘मुस्कान उनको जीवनसाथी नै हो। 

२०७२ साल वैशाख १२ गतेको त्यो कहालीलाग्दो घटना सुनाइरहँदा पनि उनको मुहारबाट मुस्कान गयल भएन। जीवनलाई अर्को मोडमा धकेल्ने त्यो घटना उक्काउँदा कत्तिपनि पीडाबोध उनमा देखिएन। 
किनकी अब उनले बुझिसकेका छन्– जीवन हो घाम–छाया, सुखदुःख दुवै हुन्छ !
हो उनले बुझिसकेका छन्– फूलैफूल मात्र पनि होइन रहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ जीवन !

त्यसैले, उनी जीवनमा फूलको मात्र अपेक्षा गर्दैनन्। सुख र आनन्दको मात्रै खोजी गर्दैनन्। 
फूल–काँडा र घाम–छायाबीचको आफ्नो जीवनलाई पहिल्याइरहेछन्। र, यसैमा रमाइरहेछन्। र, यसैमा सन्तुष्ट पनि छन्। 


२०७२ साल वैशाख १२। त्यो दिन उनी नयाँ बसपार्कस्थित आफ्नो काम गर्ने होटल भुमेश्वरीमै थिए, दोस्रो तल्लामा। 

रमेश काठमाडौं आएको एक महिना भएको थियो। त्यो समय गृहजिल्ला दैलेख जाँने तयारीमा थिए, बाबुआमा र भाइबहिनीलाई भेट्न। 

उनी र उनका साथी बस टिकट र कपडा किनेर भर्खरै होटलमा फर्किएर खाना खाँदै थिए। उनीहरुले मुखमा भातको तेस्रो गाँस मात्र के हालेका थिए, धर्ती हल्लिन थाल्यो। 

भुँइचालो आएको सबैले चाल पाए। होटलका गेस्ट, स्टफ सबै जना अन्धाधुन्ध भाग्न थाले। भुँइचालो गएको एक मिनेटभित्रै होटल गल्र्याम्गुर्लुम् ढल्यो। कोही भाग्न भए सफल भए र कोही भएनन्। भाग्न नसक्नेमा उनी पनि परे। उनको कम्मरभन्दा मुनिको भाग बिमले च्यापियो। अर्धचेत अवस्थामा उद्धारको याचना गरेको उनलाई अहिले पनि याद छ।  धेरै घण्टासम्म उद्धार नभएपछि भने उनी पूर्णरुपमा बेहोस भए। 

त्यसपछि उनको होस् आउँदा आफूलाई त्रिवि शिक्षण अस्पतालमा पाए। उनले आफ्नो कम्मरभन्दा मुनिको भाग च्यापिएको र आफूसँगै काम गर्ने एक साथीको मृत्यु भएको थाहा पाए। 

उनलाई यति पीडा भइरहेको थियो कि, त्यो खप्न नसकेर फेरि बेहोस् भए। दोस्रोपल्ट उनी तीन दिनका लागि बेहोस् भए। यो बेहोसीमा उनले धेरै कुरा गुमाए। यो बेहोसीकै अवस्थामा उनको जीवनको बाटो अकैतर्फ मोडियो। 

बेहोसपछि होसमा आउँदा उनले देखे, आफ्नो कम्मर मुनिको शरीर नै छैन। आफ्नो आधा शरीर नै नहुँदा उनलाई कस्तो भयो होला, उनको मन कति बेचैन भयो होला ? हामी कल्पना मात्र गर्न सक्छौँ। ‘आफ्नो अवस्था देख्दा पानी बिनाको माछाजस्तै छटपटी भयो’ उनले त्यो कहालीलाग्दो क्षण सम्झिए। 

उनीसँग नियतीलाई स्वीकार्नुको विकल्प थिएन। उद्धारमा खटिएका स्वास्थ्यकर्मी तथा स्यंमसेवकले प्रेरणा दिनथाले। 
गाउँमा रहेका उनका बुबाआमालाई खबर गरियो। बुबाआमा काठमाडौं आए अनि छोरालाई हौसला दिन थाले। 

उनी तीन माहिनापछि अस्पतालबाट डिस्चार्ज भए। ‘योबीचमा मैले धेरै कुरा बुझिसकेको थिएँ। धेरैले ज्यान गुमाएका रहेछन्। धेरै जना मभन्दा पनि अङ्गभङ्ग भएछन्’ उनले सुनाए, ‘अरुको अवस्था हेरिकन आफूलाई धेरै भाग्यमानी पाएँ।’

अस्पतालबाट डिस्चार्ज भएपछि मानसिक र शारीरिक उपचारका लागि उनलाई धेरै संघसस्था र व्यत्तिहरुले सहयोग गरे। उनलाई सुरुमा ललितपुर सुनाकोटीस्थित बाल पोषण संस्थामा लगियो। त्यहाँ उनी तीन महिना बसे। त्यसपछि बालुवाटारस्थित ‘नेपाल हेल्थ केयर फाउन्डेशनमा लगियो। दुवै संस्थाले उनलाई शारीरिक र मानिसक उपचारमा धेरै सहयोग गरे। 

बिस्तारै शारीरिक र मानसिक दुवै तबरमा तङ्ग्रिँदै जानथाले उनी। नेपाल हेल्थ केयर संस्थामा बस्दा रमेहले विभिन्न खेल खेल्न मात्र पाएनन्, उनको खेल जीवन नै सुरु भयो। त्यही वर्ष सम्पन्न भएको ‘कान्तिपुर ह्विलचेयर म्याराथुन’ मा उनले भाग लिएर छैटौँ भए। यसले उनको आत्मविश्वास ह्वात्तै बढाइदियो। 

‘अस्पतालमा हुँदा अब जीवन समाप्त भइसक्यो भन्ने लाग्थ्यो,’ उनी मुस्कुराए भन्छन् ‘नेपाल हेल्थ केयरमा विभिन्न खेल्दै र ट्रेनिङ लिँदै गएपछि भने जीवनमा गर्न सकिने धेरै कुरा बाँकी नै रहेछन् भन्ने लाग्यो।’

उनलाई महसुस भयो– जीवन त खर्भर सुरुभयो। 

२०७२ सालको अन्त्यतिर उनी जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आइपुगे। यहाँ आइसकेपछि करिब पूर्णविराम नै लागि सकेको उनको पढाइले निरन्तरता पायो।  

रमेशका बुबा जीविकोपार्जनका लागि भारत मजुरी गर्न जान्थे, अहिले पनि जाँदै छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले ८ कक्षापछि पैसा कमाउन बुबासँगै भारत पसेका थिए। 

केही वर्ष भारत बसेपछि नेपाल फर्किएका उनी भविष्य खोज्दै काठमाडौं आइपुगेका थिए। पढाइ रोकिएको थियो। 

 खगेन्द्र नवजीवनमा आएपछि उनी कक्षा आठमै भर्ना भए। 

एसईई सकेर अहिले गठ्ठाघरको विद्या विकास कलेजमा व्यवस्थापन संकायमा कक्षा १२ मा पढिरहेका छन्। खगेन्द्र नवजीवनमा चार वर्ष बिताएर गत एक वर्षदेखि उनी माकलबारीमा आफ्नै डेरा लिएर बसिरहेका छन्। 

यी चार वर्षमा उनले धेरै कुरा बुझ्ने, सिक्ने मौका पाए। अहिले पढाइसँगै आफ्नो सपना अर्थात् पौडीलाई पनि अगाडि बढाइरहेका छन् उनी।

यी चार वर्षमा उनले धेरै संघसंस्था र व्यक्तिबाट आर्थिक सहयोग पाएका छन्। ‘मैले जापुरा, ह्युमन सिटी इन्क्लुजन, अजिज फाउउन्डेशन लगायतका संस्थाहरुबाट निरन्तर सहयोग पाइरहेको छु,’ उनले सहयोगीहरुलाई सम्झिाए, ‘मलाई नेदरल्याण्डका रोनाल्ड स्टकाटले पनि सहयोग गरेका छन्। स्टकलाई म फादर भन्छु। मलाई सहयोग गर्ने यी संघसंस्था हुँदैन्थे भने मेरो जीवन यहाँसम्म पुग्न सक्दैन्थ्यो।’


रमेशको कोठा खगेन्द्र नवजीवन केन्द्र नजिकै छ। रमेश कलेज सकेर कोठामा जान्छन्, खाना खान्छन्। त्यसपछि केन्द्र  आएर दिनभर साथीहरुसँग गफगाफ र खेल अभ्यास गरेर समय बिताउँछन्। 

उनी नवजीवन केन्द्रमा सबै खेल खेल्न र अभ्यास गर्न सक्छन्, पौडीबाहेक। स्विमिङ पुल नभएकाले उनी अभ्यासका लागि निजी स्विमिङ पुलमा जान्छन् तर त्यो एकदमै खर्चिलो र कठिन ५ उनका लागि।

नेपालमा जाडो महिनामा पनि खुल्ने स्विमिङ पुल छैनन्। उनी गर्मी याममा मात्र अभ्यास गर्न पाउँछन्। यो अभ्यास उनका लागि पर्याप्त हुन्न। 

उनी याम अनुसार खेल खेल्छन्। अहिले बास्केटबल, स्कि र क्रिकेटको अभ्यास गरिरहेका छन्। 

‘सरकारले सवालाङ्गका लागि त याम अनुकुल पुलको व्यवस्था गर्न सकेको छैन,’ सरकारसँग उनको गुनासो छ, ‘हामी जस्ता अपाङ्गता भएका व्यक्तिका लागि झन् के गर्थ्यो ?’

समस्या अभ्यास गर्ने ठाउँको मात्र नभएर स्विमिङ खेलाडीलाई चाहिने पोशाक, डाइट र लगानीको पनि रहेको रमेश सुनाउँछन्। 

‘मैले धेरै सिनियर र साथीहरुबाट सुनेको खेलकुद क्षेत्रमा आएको बजेटमा ठूलो भ्रष्टाचार हुन्छ रे’ उनले भने, ‘यही भएकाले नै हामीले सेवा सुविधा र अभ्यास गर्ने उचित ठाउँ नपाएको रे।’

खेलाडीलाई आएको बजेटमा भ्रष्टाचार नगर्न र भ्रष्टाचार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न उनको माग छ। 

पछिल्ला केही वर्षयता अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने र गर्ने व्यवहारमा परिवर्तन आएको मान्छन् उनी। यस खालका परिवर्तन देखेर निकै खुसी छन्। राज्यले आफूहरुलाई गर्ने व्यवहार भने नफेरिएको उनको ठहर छ। 

अझै पनि अधिकांश सरकारी भवन र बाटा अपांगमैत्री छैनन्। अधिकांश कलेजहरु पनि अपांगमैत्री छैनन्। कलजेहरु अपांगमैत्री नभएकै कारण उनका धेरै साथीहरुले पढ्न मन हुँदाहुँदै पनि पढ्न पाएका छैनन्। 

खेलकुद मन्त्रालयले अपांगता भएका खेलाडीलाई थोरै पनि सहयोग गर्दैन। कतिसम्म भने देशबाहिर हुने खेलको टिकेटको व्यवस्था पनि गरिदिँदैन मन्त्रालय।
‘हामीहरु चिनेजानेका व्यक्ति र संघसस्थाबाट सहयोग माग्छौँ। तर, सधैँ मागेरै पनि चल्दैन,’ उनको गुनासो छ, ‘टिकट किन्न पैसा नभएकै कारण थुप्रैपल्ट खेल नै गुमाउनु परेको छ।’

नेपालको यही अवस्था देखेर उनका बाबुआमा बेलाबेला चिन्ता गर्छन् र उनलाई घर फर्किन अनुरोध गर्छन्। उनकी आमा हरेक दिन फोन गरेर भन्छिन्– बाबु सधैँ यसरी चल्दैन, घर आइजा !

उनलाई घरबाट विवाहका लागि पनि दवाव आँउछ। कहिलेकाहीँ त उनलाई पनि लाग्छ, सधैँ यसरी चल्दैन। तर, एकैछिनमा उनी फेरि सोच्न थाल्छन्– यसरी नचले कसरी चल्छ त ?

सोच्दासोच्दा उनको मगज रन्थिनिन्छ, तर उनको प्रश्नले उत्तर पाउँदैन। ‘मैले जीवनमा केही जानेको छु भने त्यो खेल्न नै हो, त्यो पौडिन नै हो,’ उनी अलि चिन्ति देखिए, ‘फेरि म यसमा खुसी पनि छु। अब म आफूले जानेको र आफूले खुसी हुने कुरा छाडेर के गरुँ ?’

खेलकुद उनलाई खुसी दिने स्रोतमात्र होइन, उनलाई बँचाउने सास नै हो। उनी आफूलाई अहिलेसम्म खेलकुदले नै बँचाइरहेको मान्छन्। 

भन्छन्, ‘आफ्नो सासलाई छाडेर पनि कोही बाँच्न सकेको छ र ? मेरो आफ्नो भन्नु नै यही खेल हो ! जसरी हुन्छ यसैमा राम्रो गर्नुछ।’


रमेशलाई कहिलेकाहीँ गर्न सक्दिनँ कि भन्ने सोचले सताउँदा विभिन्न प्रतियोगितामा आफूले पाएका मेडल र प्रमाणपत्र हेर्छन्। प्रमाणपत्र र मेडल हेरेर उर्जा भरिन्छ उनको मनमा।

‘मेडल र प्रमाणपत्रले कोठाका भित्ता भरिइसके। अब त भित्तामा टाँस्ने ठाउँ पनि छैन।’ उनी हाँस्छन्। 

हरेक मान्छेसँग केही न केही खुबी हुने भएकाले त्यसलाई पहिचान गरेर अगाडि अपांगता भएका व्यक्तिहरुलाई रमेश सुझाव–सल्लाह दिन्छन्।

‘आफू सक्दिनँ, आफूलाई देखेर मान्छेहरु हाँस्छन् होला भन्ने कहिल्यै सोच्नुहुन्न’ रमेश सुझाउछन्। आफू गर्न सक्छु भन्ने दृढ इच्छाशक्ति लिएर म अगाडि बढ्नुपर्छ भन्ने उनको धारणा छ। 

उनी भन्छन्, ‘जीवन सुन्दर छ, हामीले जीवनलाई हेर्ने दृष्टि फेर्न सक्यौँ भने।’
 

  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १०:२८:४२,   अन्तिम अपडेट : चैत १७, २०७७ मंगलबार १०:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया