logo-img

अक्सिजन खोजेर आफ्नो क्षेत्रमा पठाउँदै सांसद
स्वास्थ्य प्रवक्ता भन्छन्-‘अब उपचार पनि हामी गर्छौँँ भन्न बेर छैन’

दाङकी सांसद गंगा चौधरीको घरमा केही थान अक्सिजन सिलिन्डर भेटिए । ज्ञानेन्द्र शाही लगायतका अभियन्ता उनको घरमै गएर ती सिलिन्डर जफत गर्न खोजे । तर सांसद चौधरीले स्वास्थ्य सेवा विभागबाट नियमानुसार लिएर दाङ लैजानका लागि राखेको बताएपछि उनीहरू रित्तो हात फर्किए ।

दाङबाट प्रतिनिधित्व गर्ने ३ जना सांसदले स्वास्थ्यमन्त्रीलाई नै भेटेर अक्सिजन सहित स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सोही आधारमा चीन सरकारबाट अनुदानमा आएको सिलिन्डर चौधरीले पनि लिइन् ।

पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिममा ७९ वटा अक्सिजन सिलिन्डर लिएर गए । विभिन्न क्षेत्रसँगको समन्वयमा संकलन गरेर ती सिलिन्डर आफ्नो निर्वाचन क्षेत्र पुर्‍याएका थिए । 

त्यस्तै वनमन्त्री प्रेम आलेले पनि आफ्नो निर्वाचन क्षेत्र डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाए । एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले पनि अक्सिजन, पिपिइ, अक्सिजन कन्सन्ट्रेटर, मास्क लगायतका स्वास्थ्य सामग्री बोकेर दाङतिर गइन् । 

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतोले २०० थान अक्सिजन सिलिन्डर जनकपुर पठाइन् । उनले स्वास्थ्य मन्त्रालयबाट मागेर ती सिलिन्डर जनकपुर पठाएकी थिइन् ।
 
पूर्व उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ५० थान सिलिन्डर रोल्पामा विभिन्न स्थानीय तहमा पठाए । उनले २०० थान एन्टिजेन टेस्ट किट पनि जिल्ला अस्पताल रोल्पाको लागि पठाएका थिए ।   

कास्की-१ बाट निर्वाचित सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर लिएर गए । यसै गरी ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले पनि आफ्नो क्षेत्रमा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री पठाए । 



यति बेला सांसद तथा मन्त्रीहरू अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री संकलन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा लैजान थालेका छन् । कोरोना महामारीको समयमा आफ्ना निर्वाचन क्षेत्रका जनता अक्सिजन समेत नपाएर मर्न लागेको भन्दै जोरजाम गरेर व्यवस्थापन गर्न लागिएको सांसद गंगा चौधरीको भनाइ छ । 

आफ्नो निर्वाचन क्षेत्रमा राज्यको तर्फबाट अक्सिजनको व्यवस्थापन हुन नसकेपछि आफूले सकेसम्मको व्यवस्थापन गर्न खोजेको उनी जनाउँछिन् । 



अधिकांश सांसद तथा नेताहरूले अक्सिजनसहित स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरेर आफ्नो क्षेत्रमा पठाउन थालेका छन् । 

स्वास्थ्य मन्त्रालयको आपत्ति

नेता तथा सांसदहरूले आफू खुशी अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री लिने गरेको देखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ । 

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले मन्त्रालयले माग, आवश्यकता र उपलब्धताका आधारमा वितरण गर्दै आएको बताए । 

नेता, सांसद्, मन्त्रीहरूले आफू खुशी खोसाखोस गर्न थालेपछि मन्त्रालयले कसरी काम गर्ने भन्दै प्रश्न गरे । ‘जसको जे काम हो, त्यही गर्नुपर्छ । स्रोत साधनको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको हो । उहाँहरूको नीति नियम बनाउने काम हो । यसरी अक्सिजन खोज्दै हिँड्न थालेपछि उहाँहरूको काम कसले गर्ने ?’ उनले भने। 

यसरी क्षणिक स्वार्थका लागि काम गर्न खोज्दा समस्या भइरहेको उनको भनाइ छ । पहुँच र पावरको भरमा स्वास्थ्य सामग्री लिन खोज्दा काम गर्न समस्या भइरहेको बताउँछन् । ‘हामीले गर्नु पर्ने काम गर्न नदिएर सांसद् नै अक्सिजन सिलिन्डर खोज्दै आउँछन् । अब कुन दिनदेखि हामी नै उपचार गर्छौँ भनेर आउन बेर छैन्,’ प्रवक्ता गौतमले भने, ‘यो काम हाम्रो हो । जसको जे जिम्मेवारी हो, त्यही गर्दा राम्रो हुन्छ । हामीले फेरि कसैको घरमा अक्सिजन दिने होइन, अस्पताललाई दिने हो ।’ 

प्रवक्ता गौतमका अनुसार सांसदले अक्सिजन खोज्दा सरकारले राम्रोसँग काम गर्न सक्दैन । अहिले अक्सिजनको अभाव एक ठाउँमा मात्र नभई देशैभरि रहेको छ ।

  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया