logo-img

एयरलाइन्समा नेपालकै दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अर्यालको निर्देशन

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिजलगायत दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 
 
संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दहीलगायत दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिइन् । 

मन्त्री अर्यालले भनिन्, ‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दहीलगायत सामग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो । यी कुरालाई रोकेले स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्नेछ । यसले हाम्रो उत्पादन प्रयोग गर्ने दिशामा अगाडि बढेको छ। यसको प्रगति १ हप्तामा तयारी गर्न निर्देशित गर्दछु ।’

उनले एअरलाइन्सलाई बिक्री–वितरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिइन् । खासगरी घिउ, नौनी, चिजलगायत उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै उनले निर्यात प्रवर्धन गर्ने खालका सैद्धान्तिक, नीतिगत व्यवस्था गर्नुपर्ने भएमा व्यावहारिक पाटो सल्ट्याउन आग्रह गरिन् । 
 
उत्पादन बढाउन मन्त्रालयले मिसनसहितका कार्यक्रम सञ्चालन गरेको दाबी गर्दै मन्त्री अर्यालले मिठार्इलगायत नयाँ उत्पादनको सुरुवात गरी प्रतिस्पर्धी बजारमा निर्यात गर्ने बताइन् । 
 
अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको भन्दै उनले दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामग्री सरकारले खरिद गर्ने विषय उठेकोले त्यसको आवश्यक सहजीकरणका विषयमा छलफल गरिने बताइन् । 

तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निष्कर्ष निकाल्न समेत उनले संस्थानलाई निर्देशन दिइन् । उनले अनलाइन बजार सिस्टममा जानका निम्ति समेत २–३ दिनमा छलफल गरी निष्कर्ष निकाल्न निर्देशन दिइन् । 
 
संस्थानमा गत वर्षको स्टक काम नलाग्ने अवस्थामा पुगेको, हालको स्टक अनि बजारीकरणलाई नेपाली सेना, प्रहरी, सिँहदरबारमा अनिवार्य, प्याब्सन, एनप्याब्सनलगायतमा खपत गरी स्टक क्लियरेन्स हुने र थप बजारीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । 

त्यस अवसरमा मन्त्रालयका सचिवद्वय योगेन्द्रकुमार कार्की, डा. विमलकुमार निर्मल, संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले संस्थानलाई समयअनुसार अगाडि बढाउन आग्रह गरे ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया